वीरगन्जमा फैलिएको हैजा नियन्त्रण उन्मुख

वीरगन्ज । वीरगन्जमा फैलिएको हैजा नियन्त्रण उन्मुख भएको चिकित्सकहरुले जनाएका छन् । गएको भदौ ६ गते शुक्रबार झाडा पखाला लागेर वीरगन्जको तराई हस्पिटलमा भर्ना भएका बिरामीमा पहिलो पटक हैजाको जिवाणु (कोलेरा) पुष्टि भएको थियो । भदौ १८ गते बुधबारसम्म हैजा संक्रमित हुनेको संख्या १ सय ९४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले पुष्टि गरेको हो ।

कोलेरा जिवाणु पुष्टि भएका १ सय ९४ जना मध्ये १ सय ८२ जना निको भई घर फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताए । संक्रमण पुष्टि भएका मध्ये अब १२ जना बिरामी मात्र यहाँका बिभिन्न अस्पतालहरुमा उपचार गराइरहेको पनि उनको भनाइ छ ।

संक्रमितहरु मध्ये २ जना बिरामी वीरगन्जको नारायणी अस्पतालमा, ३ जना भवानी हस्पिटलमा, २ जना नेशनल मेडिकल कलेज शिक्षण हस्पिटलमा, २ जना एड्भान्स हस्पिटलमा र ३ जना प्रभु हस्पिटलमा उपचारार्थ रहेको तथ्याँक विपत् स्वास्थ्य व्यवस्थापन समितिले उपलब्ध गराएको तथ्याँकमा उल्लेख गरिएको छ ।

भर्ना भएका मध्ये दुई जनाको अवस्था भने अलि गम्भिर रहेको बाँकी अन्यको सामान्य नै रहेको पनि स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत ठाकुरले बताए । आफूलाई पनि त्यही रिर्पाेटिङ्ग भएको विपत् व्यवस्थापन समिति पर्साका अध्यक्ष तथा पर्साका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले पनि राजधानी दैनिकसँग बताए ।

वीरगन्ज महानगरपालिकाको स्थास्थ्य महाशाखाले उपलब्ध गराएको तथ्याँकमा पनि हैजाको संक्रमण पुष्टि भएका बिरामी मध्ये अब १२ जना बिरामी मात्रै यहाँका विभिन्न अस्पतालमा उपचारार्थ रहेको जनाइएको छ ।

वीरगन्ज १२ का बिरामीमा पहिलो संक्रमण
सुरुमा वीरगन्ज महानगरपालिका वडा नं.–१२ का बिरामीमा फेला परेको हैजाको जीवाणु तीन दिनपछि थप चारवटा वडाका फैलिएको अस्पताल पुगेको उस्तै प्रकृतिका लक्षण भएका बिरामीको परिक्षण गर्दा खुलेको थियो । तथापि हैजा कै कारण पर्सामा अहिलेसम्म कसैको पनि ज्यान नगएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

अस्पताल भर्ना भएका बिरामीको संख्या ९ सय ६५
हैजाको जस्तै लक्षण भई बिरामी हुने बिरामी वीरगन्जको नारायणी अस्पताल, तराई हस्पिटलसहित यहाँका कुल २० वटा अस्पताल र स्वास्थ्य संस्थामा भदौ ६ गते यता १३ दिनमा कुल ९ सय ६५ भर्ना भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साको तथ्याँकमा उल्लेख गरिएको छ ।

बिहान र बेलुका दुई समयमा अपडेट संकलन गर्दै आएको स्वास्थ्य कार्यालय पर्साको बुधबार बिहान १० बजेको तथ्याँक अनुसार भर्ना भएका उक्त बिरामी मध्ये ८ सय ६५ जना डिष्चार्ज भई घर फर्किएको पनि पाइएको छ । झाडा पखालाकै कारण अस्पतालमा भर्ना भएका मध्ये जनरल वार्डमा ८४ जना, आइसियुमा १४ जना र एचसीयुमा २ जना गरी सय जना मात्र अब अस्पतालहरुमा रहेको पनि सो तथ्याँकमा उल्लेख गरिएको छ ।

जनस्वास्थ्य कार्यालय पर्साले पनि हैजाका १२ जना र उस्तै लक्षण भई अस्पताल पुग्ने बिरामीको कुल संख्या अब जम्मा सय जना मात्र अस्पतालमा रहेको जनाएको छ । यो तथ्याँकले अस्पतालबाट ९० प्रतिशतभन्दा बढि बिरामी ठिक भएर घर फर्किएको पाइएको पर्साका प्रमुख जिल्ला अधिकारी सुवेदीले पनि तर्क गरे ।

अझै खुलेन कारण
हैजाबाट संक्रमण हुनेको संख्या एकिन भइरहे पनि, हैजाको जिवाणु मानिसको शरिरसम्म कसरी पुग्यो भन्ने कारण चाही अझै पत्ता लागि नसकेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । तथापि पछिल्ला तिन–चार दिनयता संक्रमण हुने बिरामीको संख्यामा भने कमी आइरहेकोले कोलेरा नियन्त्रण उन्मुख रहेको जनस्वास्थ्य अधिकृत ठाकुरको दावी छ । वीरगन्जको नारायणी अस्पतालका सूचना अधिकारी तथा चिकित्सक डा.उदयनारायण सिंहले पनि हैजा नियन्त्रण उन्मुख रहेको तर्क गरे । ‘पहिलेभन्दा झाडा पखालाका बिरामी अस्पताल आउने क्रम घट्दै गएको छ’ । यो नियन्त्रण उन्मुखकै संकेत हो, उनले भने ।

मन्त्रीका टोली फिर्ता
पर्सामा प्रदेश सरकारको स्वास्थ्य विज्ञ टोली र संघ सरकारबाट पनि स्वास्थ्यमन्त्री प्रदिप पौडेल र गृहमन्त्री रमेश लेखकको पनि दलबल सहितको टोली वीरगन्ज आइपुगका थिए । ती टोलीमा आएका स्वास्थ्य विज्ञहरुले पनि हैजाको जिवाणु के को माध्यमबाट मानिसको शरीरसम्म पुग्यो ? भन्ने चाही पुष्टि गर्न सकेका छैनन् । मन्त्रीहरु भने औपचारिकता पूरा गरी फर्किसकेका छन् । पानीबाट संक्रमण फैलियो भनिए पनि खानेपानी मन्त्री प्रदिप यादवको गृह नगरमा फैलिएको हैजाको कारण अझै पत्ता लाग्न नसकेको हो ।

विभिन्न विज्ञहरुले अनुसन्धान भने निरन्तर जारी रहेको दावी गरिएको छ । तथापि यसै कारण भने पत्ता लागि नसकेको जिल्ला विपत् व्यवस्थापन समिति पर्साका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले पनि बताए । वीरगन्ज महानगरपालिका स्वास्थ्य महाशाखाका स्वास्थ्य अधिकृत सुमन चन्द्र ठाकुरले पनि हैजा नियन्त्रण उन्मुख भएको बताए ।

विद्यालय संचालन
महानगरले त हैजा नियन्त्रण उन्मुख हुन थालेपछि गएको ८ दिनबाट बन्द रहेका महानगर भित्रका विद्यालयहरु बुधबारदेखि ८ कक्षा माथि १२ कक्षासम्मका कक्षा संचालन भएको भेटिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी सुवेदीले भने यो हप्ता विद्यालयहरु संचालन नगर्न महानगरलाई सुझाव दिएको र समन्वय पनि गरिरहेको बताएका छन् ।

महानगरका शिक्षा महाशाखा प्रमुख आनन्द लामिछानेले भने महानगरको स्वास्थ्य महाशाखाको नियमित निगरानी र स्वास्थ्य कार्यालयको तथ्याँक दुवैलाई हेर्दा पछिल्लो अवस्था सकारात्मक रहेकोले अब शैक्षिक संस्था संचालन गर्ने निस्कर्षमा पुगिएको बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)

epaper

ताजा समाचार

सिन्धुलीमा अनिश्चितकालीन कफ्यु आदेश