काठमाडौं । काँठे भाकाकी अग्रज लोक गायिका ‘इन्दिरा गुरुङ गोले’को स्तन क्यान्सरबाट बुधवार बिहानीपख निधन भएको छ । ५९ वर्षको उमेरमा बुधवार बिहान २ बजे ललितपुरको हात्तिबन स्थित अपार्टमेन्टमा रहेको छोरीको घरमा उनको निधन भएको हो । उनी विगत दुई वर्ष यताबाट स्तन क्यान्सरबाट पीडित थिइन् । उनको ललितपुरकै हरिसिद्धी स्थित क्यान्सर अस्पतालमा उपचार हुँदै आएको थियो ।
बिहीबार मध्यान्न काठमाडौँको नक्साल स्थित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्रांगनमा उनको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । सो श्रद्धाञ्जली समारोहमा गायिका इन्दिरालाई उनकै गीत ‘धागो त बेर्ने चर्खामा…’ गाएर यी गायिका प्रति श्रद्धा सुमन अर्पण गरिएको थियो ।
संगीतकार संघ नेपालको संयोजनमा भएको सो बिदाइ कार्यक्रममा संघका अध्यक्ष अष्ट लामा सहित संघका पदाधिकारीहरू राजेन्द्र बजगाई, नरहरि प्रेमी, शंकर थापा ‘स्माईल’सँगै लोक दोहोरी क्षेत्र अग्रज गायक चन्द्र शर्मा, नवराज घोराईसीने, राधिका हमाल, राजु परिवार, शंकर बिसी, पूर्णकला बिसी, मनमाया वाइबा, आशा लामा, आसुसेन लामालगायतले सो गीत गाएर गायिका इन्दिरालाई अन्तिम बिदाइ गरे । त्यहाँ आयोजना गरिएको श्रद्धाञ्जली सभापछि बुधवार बेलुका स्वयम्भूमा गायिका इन्दिरा गुरुङको अन्तिम संस्कार गरियो ।
२०२३ साल कात्तिक ३ गते ललितपुरको लेलेमा जन्मेकी इन्दिरा गुरुङ लोक गायनमा स्थापित थिइन् । पूर्वेली, पश्चिमेली, सुदूर पश्चिमेली जस्ता सबै प्रकारका गीत गायकी उनी काँठे गीतमा भने अग्रणी गायिकामा पर्थिन । काँठे गीतमा धेरैका लागि उनी पहिलो रोजाइकी गायिका थिईन् ।
गाउँमा मेलापात गर्ने क्रममा असारे गीत गाउँदै गायन यात्रा अघि बढाएकी उनलाई २०४५ सालमा पशुपति क्षेत्रमा सतविउ छर्न परिवारका साथ पुगेकी थिइन् । सो क्रममा उनले असारे गीत गाउँदै जुहारी खेल्दा रेडियो नेपालका एक जना कलाकारले उनको भाका सुनेका थिए । त्यसपछि उनलाई आफन्तमार्फत रेडियो नेपालबाट गीत गाउन निमन्त्रणा आएको थियो । २०४५ साल मंसिर अन्तिम तिर रेडियो नेपाल पुगेकी उनले सुरुमा गाउने वित्तकै स्वर पास भएको भनियो । उनलाई त्यति बेलासम्म स्वर पास र फेल पनि थाहा थिएन । त्यसपछि एकै दिन उनको स्वरमा दुई वटा गीत त्यहाँ रेकर्ड भएको थियो । रेडियोमा उनले गाएको पहिलो गीत यस्तो थियो ः
‘हातमा हँसिया कम्मरमा खुर्पेटो
घाँसै काटौ न
तर्की तर्की नहिँड निरमाया
सँगै बसौँ न…’
यो सहित दुई वटा गीत गाएबापत उनले त्यति बेला दुई सय रुपैयाँ पारिश्रमिक पनि पाएकी थिइन् । उनको पहिलो गीत नै त्यति बेला निकै रुचाइयो । त्यसपछि इन्दिराले काठमाडौँमा बसेर गीत गाउने लक्ष्य लिईन् ।

गीत गाउँदा गाउँदै १६ वर्षको उमेरमा परिवारले उनको विवाह गरिदिए । विवाहपछि उनलाई काठमाडौँमा जीवन धान्न निकै गाह्रो भएको थियो । त्यसपछि गलैँचा कारखानामा उनले लामो समय काम गर्नु परेको थियो । सोही क्रममा छोरीकी आमा समेत भएकी उनको दाम्पत्य जीवन टुट्यो । गीत गायनमा लागेको कारण देखाउँदै श्रीमानले उनलाई छाडे ।
त्यसपछि आठ वर्षसम्म एक्लै बसेर उनले गीत गाउँदै छोरी हुर्काएकी थिइन् । छोरीलाई साथमा लिएर रेडियो नेपाल देखि विभिन्न रेकर्डिङ स्टुडियोमा गीत गाउँदै जाँदा उनका गीतहरू चल्दै गए । बिस्तारै उनले गायनबाट जीविकोपार्जन गर्न थलिन ।
त्यसपछि एकजना संगीत संयोजकसँग उनले दोस्रो विवाह गरिन् । यो विवाह गरेपछि भने उनको जीवन केही सहज भएको थियो । सोही क्रममा तीन वर्षसम्म संगीत अध्ययन गरेर गायिकासँगै संगीतकारको रूपमा गायन पेसामा लागेकी थिइन् ।
‘चोखो माया पिरती गाँसेर
दन्ते लहर खोलिदेऊ हाँसेर
जाई फूलको वासना
नवोलेनी हाँसी राखन…’
यो उनको सर्वाधिक सफल गीत हो । यो गीत भन्दा अघि उनको स्वरमा चाँगु नारन थान…जस्तो हित गीत आइसकेको थियो । चाँगु नारन थानको सफलतापछि भने उनी स्टेज कार्यक्रममा पनि त्यत्तिकै व्यस्त भएकी थिइन् । यसपछि बजारमा आएको उनको अर्को सर्वाधिक सफल गीत यस्तो थियो :
‘घर त पूर्व हो
शुभ नाम के प-यो ? मै पनि तिम्रै हो
अल्लारे सानदाजु उमेर कति भो…’
यसरी एकपछि अर्को हिट गीत आफ्नो स्वरमा बजारमा ल्याउने क्रममा उनले हुक्का चिलिमले…, डमडम डम्फु बज्यो…, ए है ज्यानै खायो उसको मायाले…, आउँ छ की नम्बर…, खेलौँ कि जुहारी…, सुन सुन हो…, सोलुकी मैच्याङ…, नाउँ त मेरो अक्कले…, छोलाङ गाउँ…, सफा ट्यम्बुरी…जस्ता कैयौँ सफल गीतहरू बजारमा ल्याइन् । उनले आधा दर्जन भन्दा बढी तामाङ चलचित्रका गीतमा पनि आफ्नो स्वर दिएकी थिइन् ।
गायन यात्राकै क्रममा उनको दोस्रो श्रीमानसँग पनि केही वर्ष अघि सम्बन्ध विच्छेद भएको थियो । सम्बन्ध विच्छेदसँगै दोस्रो श्रीमानको पनि मिर्गौला समस्याका कारण मृत्यु भयो । त्यति बेलाबाटै उनी आफ्नी कान्छी छोरीसँगै बस्दै आएकी थिइन् । दुई छोरीका आमा इन्दिरा गुरुङ गालेले आफ्नो स्वरमा एक हजार भन्दा बढी लोक भाकाका गीतहरू नेपाली संगीत उद्योगलाई पस्केर उनी बुधवार भौतिक दुनियाँबाट टाढा भएकी भइन् ।