जुम्ला । जुम्लाको हिमा गाउँपालिकाको कोइरेली गाउँबाट घण्टौंको उकालो यात्रापछि भेटिन्छ एकान्त बस्ती ‘ओदी’ गाउँ । हिमा गाउँपालिकाका विशाल बस्ती मध्यको एक हो, यो गाउँ । यो गाउँमा रैथाने बालीको खेती र भेडाबाख्रा पालन गरिन्छ । अर्गानिक जिल्लाका रुपमा परिचित जुम्लामा रैथाने बालीको उब्जनी ओदी जस्ता गाउँले जीवित राखेका छन् । लस्करै बाडा जोडिएको ओदी गाउँ छेउमा वडा कार्यालय छ । सामान्यतया जुम्लाका वडा का भवनहरु साँघुरो जग्गामा जेनतेन निर्माण भएका छन् । कतिपय वडा कार्यलयहरु अहिले पनि भाडाका घरमा सञ्चालित छन् । तर हिमा गाउँपालिका वडा नम्वर ३ भने जिल्लाकै फरक वडा हो ।
आफ्नै प्रशासनिक भवन भएको ओदीमा वडाको नाममा केवल प्रशासकि भवन मात्रै छैन । यो वडा सँग झण्डै एक किलो मिटर क्षेत्रफलमा खेतीयोग्य जमिन पनि छ । जहाँ अहिले धमाधम फापर ढाल्ने काम भइरहेको छ । गत वर्ष मात्रै ८ लाख खर्च गरेर वडाको बाँझो जमिनलाई गह्रा बनाएर अहिले फापर र सिमि र ओखर खेती गरिएको छ । वडाका जनपतिनिधि, कर्मचारी र गाउँका स्थानीयले अहिले फापर संकलन गरिरहेका छन् ।
वडाको जग्गामा फापर र सिमि लगाउनुका साथै १ हजार २ सय विरुवा स्याउ र २ सय वटा ओखर रोपिएको हिमा गाउँपालिका वडा नम्वर २ का वडा सचिव ऋत बहादुर रावतले जानकारी दिए । उत्पादन भएको फापर र सिमिबाट हुने आम्दानीले वडाको जग्गा थप व्यवस्थित गर्न खर्च गरिने उनले बताए । आगामी वर्षहरुमा यो जमिनबाट हुने आम्दानबाट कोष स्थापना गर्ने योजना रहेको समेत उनले जानकारी दिए ।
‘सामान्यतया वडाबाट सेवाग्राहीलाई सेवा दिनु कर्तव्य हो, यो पालना अनिवार्य हुन्छ, यसका अतिरिक्त वडाको बाँझो जमिनमा कृषि खेती गरेर गाउँ घरमा जागरण ल्याउने, नयाँ सन्देश दिने र वडाको आम्दानी बढाउने उदेश्यका साथ हामीेले दुख गरिरहेका छौं, हामी चाहन्छांंैं, हाम्रो वडा साच्चिकै नमुना होस्, यो काम अनुकरणीय बनोस् ।’ सचिव रावतले भने । वडाको जग्गामा एकातिर रैथानेबाली फलिरहेको छ, अर्कोतिर गाउँलेले रोजगारी समेत पाएका छन् । सिजनमा काम गर्ने गाउँलेलाई वडाले ज्याला दिने गरेको छ ।