काठमाडौं । विज्ञान वातावरण र प्रविधिमा केन्द्रित रहेर शुक्रवारबाट काठमाडौँमा तीन दिवसीय एक ‘ग्लोबल स्टिम फर एसडिजी समिट –२०२५’ सुरु भएको छ । समिटको पहिलो दिन शुक्रवार साँझ नेपाल र मलेसियाका कलाकार एवम् विद्यार्थीहरूले आफ्ना देशका नृत्य एवम् सांस्कृतिक झलकहरू प्रस्तुत गरेका थिए ।
ग्लोबल समिटको दोस्रो दिन शनिवार विज्ञान, प्रविधि, वातावरण एवम् व्यवस्थापन सम्बन्धी विषयमा केन्द्रित रहेर ९ वटा देशका विद्यार्थीहरूले आफ्नो सृजनालाई प्रत्यक्ष रूपमा प्रदर्शन गरे । जसमा प्रत्यक्ष रूपमा नौ वटा मुलुक र अनलाइनबाट ६ वटा मुलुक गरी कुल १५ वटा देशका विद्यार्थीले भाग लिएका थिए ।

शिक्षा र विज्ञान सम्बन्धी मलेसियाको ‘टिएमपी लिटिल साइन्टिस्ट रिसर्च एकेडेमी’ र नेपालको ‘बेन्चमार्क इन्टरनेशलन’ संस्थाले यो तीन दिवसीय समिट आयोजना गरेको हो ।
दोस्रो दिनको प्रदर्शनी समारोहमा ४० वटा स्टल राखिएको थियो । जसमा विज्ञान तथा प्रविधिका आविष्कारहरू बढी राखिएको थियो । प्रत्यक्ष भाग लिएका नौ वटा देश मध्य आयोजक नेपाल र मलेसियाको विद्यार्थीहरूको प्रदर्शनी बढी थियो । यी दुई देशसँगै भारत, पाकिस्तान, बंगलादेश, काजाकिस्तान, ओमन, स्पेन, इजिप्ट जस्ता देशका विद्यार्थीहरूले आफ्नो आविष्कारलाई प्रदर्शनीमा राखेका थिए । जसमा विज्ञान, प्रविधि, गणित, नवप्रवर्तन, हरित सहर परियोजनाहरूलाई उनीहरूले नमुना तथा प्रत्यक्ष उत्पादनको रूपमा प्रस्तुत गरेका थिए ।
शनिबार बिहान समिटको प्रदर्शनी शुभारम्भ कार्यक्रमका विशेष अतिथि एवम् नेपालका लागि मलेसियन राजदूतावासका कन्सुलर मोहम्मद फिर्दुस विन अजमानले सम्पूर्ण विद्यार्थीहरूलाई शुभकामना दिँदै यस्तो अन्तर्राष्ट्रिय प्रतियोगिताले विज्ञान तथा प्रविधिका आविष्कार आदान प्रदान गर्न विधार्थीहरुलाई ठुलो मद्दत पुग्ने बताए ।
यस्तै अर्का अतिथि धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार व्यञ्जनले प्रदर्शनीमा विद्यार्थीहरूले आफ्नो उत्कृष्ट सृजनाहरू राखेर आफूहरूलाई बाल वैज्ञानिक रूपमा उभ्याएको बताए । उनीहरूको आविष्कारलाई हौसला दिनु प्रशंसनीय कार्य भएको उनको कथन थियो ।

आयोजक संस्था ‘टिएमपी लिटिल साइन्टिस्ट रिसर्च एकेडेमी मलेसिया’की अध्यक्ष डा. जयामालिनीले दिगो विकास लक्ष्यमा आधारित रहेर आफूहरूले विभिन्न देशका विद्यार्थीहरूलाई एकै थलोमा ल्याएर प्रतिस्पर्धी रूपमा उनीहरूको आविष्कार एवम् सृजनालाई प्रदर्शनी गर्दै आएको बताईन् । आफूहरूले यो सम्मेलनमा विज्ञान, प्रविधि, वातावरण एवम् व्यवस्थापन सम्बन्धी आविष्कार एवम् सृजनालाई प्रतिस्पर्धी रूपमा प्रदर्शन गरेको पनि डा. जयामालिनीले कार्यक्रममा प्रकाश पारिन् ।
विद्यार्थीहरूले आविष्कार तथा सृजना गरेर विभिन्न प्रकारका सामग्रीहरू यो समिटमा ४० वटा स्टलमा प्रदर्शनमा राखिएको थियो । ती प्रदर्शनीमा उत्कृष्ट भएकाहरूलाई आफूहरूले पुरस्कार प्रदान गरिने ‘बेन्चमार्क इन्टरनेशनल’ नेपालका सञ्चालक अजय पुनले कार्यक्रममा बताए । पुनका अनुसार आइतबार काठमाडौँमा एक समारोहबिच यो समिटको समापन गरिने छ । समिटमा प्रदर्शन भएका मध्य प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई पुरस्कार प्रदान गर्दै यो तीन दिवसीय समिट सम्पन्न हुने उनले बताए ।