कहाँ थिइन् रिश्मा गुरुङ ?

काठमाडौं । यत्रो वर्ष कहाँ थिइन् त रिश्मा गुरुङ ? अभिनय दुनियाँबाट चटक्क हराएको आठ वर्षपछि दर्शकमाझ आउनुको कारण के थियो त ? यत्रो समय अन्तरालपछि देखापरेकी रिश्मा ‘रिमै’मा कुन भूमिकामा फर्किएकी छन् त ? प्रश्न उब्जिरहन्छन् ।

११ वर्षअघि काजी (दयाहाङ)को जोडीका रूपमा चलचित्र ‘कबड्डी’बाट नायिकाका रूपमा ‘डेब्यू’ गरेकी थिइन् रिश्माले । पछिल्लो आधा दशकदेखि संयुक्त राज्य अमेरिकामा बस्दै आएकी उनी विवाहपछि श्रीमानसँग उतै लागिन् । पछिल्लो चलचित्र ‘रिमै’को रिलिजका लागि नेपाल आएकी उनी ८ वर्षपछि मुख्य भूमिकामा फर्किएकी हुन् । पहिलो चलचित्र ‘कबड्डी’मा दयाहाङ राई (काजी)को जोडी (मैयाँ) भएर काम गर्दा उनले निकै चर्चा पाएकी थिइन् । यसपछि उनी यही शृंखलाको दोस्रो चलचित्र ‘कबड्डी कबड्डी’मा पनि मुख्य भूमिकामा प्रस्तुत भइन् ।

‘कबड्डी’ तेस्रो शृंखलामा पनि मुख्य भूमिका पाउने विश्वास थियो । तर त्यसो हुन् सकेन । उनी सो चलचित्रमा भने अत्यन्त सानो अर्थात् ‘केमियो’ भूमिकामा प्रस्तुत भइन् । त्यसअघि नै ‘झुम्की’मा उनले शीर्षभूमिकामा काम गरिसकेकी थिइन् । ‘झुम्की’मा काम गरेको केही वर्षसम्म पनि उनको हातमा चलचित्र थिएन । सोही कारण उनी दाम्पत्य सम्बन्धमा बाँधिएर अमेरिकातर्फ लागिन् ।

अमेरिका रहनेक्रममै उनलाई नेपालबाट चलचित्र ‘रिमै’का लागि मुख्य भूमिकामा निर्देशक खिलबहादुर गुरुङले प्रस्ताव गरेका थिए । ‘म अमेरिका आएर यतै केही गर्न खोजेको मान्छे भएकाले मैले त्यो भूमिकामा अरूलाई नै राख्न पनि सल्लाह दिएँ । तर निर्देशकज्यूले तपाईंबिना चलचित्र नै नबनाउने भनेपछि काम गर्न नेपाल आएको हुँ,’ उनी भन्छिन् ।

नेपाली चलचित्र उद्योग छाडेर अमेरिका पुगेको मान्छेलाई सम्झेर अभिनयका लागि बोलाउँदा उनलाई सुरुमा निकै खुसी लाग्यो । तर निर्माण पक्षले बोलाएर नेपाल आएको पाँच महिनासम्म पनि छायांकन सुरु हुन सकेन । त्यसपछि उनी निराश भएकी थिइन् । ‘पाँच महिनासम्म पनि छायांकन नभएपछि म जसरी पनि अमेरिका फर्कने दिन आइसकेको थियो र म नआउनेगरी फर्कनै लागेकी थिएँ,’ उनी भन्छिन्, ‘तर मलाई १५ दिनमै फर्कनुपर्छ भनेर उहाँहरूले भनेपछि अमेरिका पुगेर केही दिनमै फर्केर छायांकनमा जोडिन पुगेकी थिए“ ।’

‘कबड्डी’को सफलतापछि रिश्मालाई दर्शकले दयाहाङको जोडीका रूपमा धेरैपटक हेर्न चाहे । हरेक भेटमा उनलाई ‘दयाहाङको जोडी भएर अब कुन चलचित्रमा देख्न पाइन्छ ?’ भनेर प्रश्नसमेत गर्थे । त्यो प्रश्नको जवाफ उनले यतिबेला ‘रिमै’मार्फत् दिने अवसर पाएकी छन् ।

गुरुङको छोरी भएर गुरुङ संस्कृतिकै चलचित्रमा काम गर्न पाउँदा उनलाई निकै खुसी लागेको छ । यसलाई उनले चलचित्रमात्र नभएर गुरुङ संस्कृतिको दस्तावेजका रूपमा व्याख्यासमेत गरिन् । ‘रिमैमा गुरुङ समुदायको जीवनदेखि मृत्युसम्मका संस्कार समेटिएका छन्,’ उनी भन्छिन्, ‘यो चलचित्र हेर्दा दर्शकले मनोरञ्जनसँगै गुरुङ संस्कार र संस्कृति धेरथोर बुझ्ने अवसर पनि पाउनुहुनेछ ।’

रिश्माले पहिलोपटक अभिनय गरेको चलचित्र ‘कबड्डी’को पाँचौं शृंखला ‘कबड्डी ५’ चाँडै नै निर्माण हुँदै छ । जसमा दयाहाङ नै मुख्य भूमिकामा रहने छन् । पाँचौं शृंखलामा फेरि जोडिने रिश्माको चाहना छ । तर ‘कथाले आफूलाई माग्छ कि माग्दैन ?’ भन्ने उनको जिज्ञासा पनि छ । ‘मेरो यात्रा कबड्डीबाट सुरु भएकाले अभिनयमा फर्केको बेला अब बन्ने पा“चौं शृंखलामा पनि काम गर्न पाए“ हुन्थ्योजस्तो लागेको छ । तर निर्देशकले कस्तो कथा र पात्र परिकल्पना गर्नु भएको छ ? भन्ने उहाँसँग बुझेपछि मात्र थाहा हुनेछ ।’

यही शुक्रबारबाट नेपालका चलचित्र घरमा रिलिज ‘रिमै’मा उनी दयाहाङकै जोडी बनेकी छन् । नारीप्रधान चलचित्रको केन्द्रीय पात्र पनि उनी नै हुन् । गुरुङ भाषामा प्रयोग हुने शब्द ‘रिमै’को खास अर्थ ‘चेलीबेटी’ भए पनि जिस्क्याउन तरुनीका रूपमा यो शब्द प्रयोग गरिन्छ । ‘चलचित्रमा मलाई तरुनी अर्थात् रिमै भनेर जिस्क्याउने तथा प्रेमप्रस्ताव राख्ने गरिन्छ,’ रिश्मा भन्छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 152 times, 1 visits today)

epaper

ताजा समाचार

एक घण्टाभित्रै फरार भएका २४ सप्तरी कारागारको सम्पर्कमा