काठमाडौँ । देशभर असामान्य परिस्थितिबीच नेपाली सेनासहितका सुरक्षा निकाय परिचालन भएपछि लुटपाट, आगजनी र अराजक गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरिएको छ।
भदौ २४ गते राति १० बजेबाट परिचालन भएको अभियानअन्तर्गत २५ गते बिहान १० बजेसम्म काठमाडौँलगायत विभिन्न स्थानमा सुरक्षा निकायले विध्वंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।
सुरक्षा निकायले ३ वटा बारुण यन्त्र प्रयोग गरी आगजनी नियन्त्रण गरेको छ। यस क्रममा काठमाडौँको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरूबाट रु.३३ लाख ७० हजार बरामद गरिएको छ।
यस्तै, काठमाडौँका विभिन्न स्थान र पोखराबाट ३१ थान नालसहित विभिन्न प्रकारका हतियार, म्यागजिन र गोलीगठ्ठा बरामद गरिएको छ।
सुरक्षा निकायको अभियानका क्रममा २३ जना नेपाल प्रहरी र ३ जना सर्वसाधारण घाइते भएका छन्। उनीहरूको सैनिक अस्पतालहरूमा उपचार भइरहेको छ।
भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द विरुद्ध उर्लिएको जेन जेड आन्दोलनकै पृष्ठभूमिमा यसरी लुटपाट, आगजनी र अराजक गतिविधि बढेपछि सेनाको नेतृत्वमा अन्य सुरक्षा निकायलाई परिचालन गरेको हो। आन्दोलन शान्तिपूर्ण मागबाट हिंसात्मक रूपतर्फ मोडिएको भन्दै सेनाले नियन्त्रण कार्यलाई तीव्र बनाएको छ।
सम्बन्धित समाचार






