काठमाडौँ । देशभर नेपाली सेना र अन्य सुरक्षा निकाय परिचालनसँगै मङ्गलवार बिहानदेखि दिउँसोसम्म विभिन्न स्थानमा ठूलो मात्रामा कारबाही गरिएको छ। महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केटमा लुटपाटमा संलग्न ४ जनालाई मङ्गलवार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्।
डिल्लीबजार–नारायणथान क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरू भागेपछि त्यहाँबाट नेपाली रुपैयाँ २ लाख ३२ हजार ५ सय र अमेरिकी डलर २५०० बरामद गरिएको नेपाली सेनाले जनाएको छ। लुटिएका हतियारमध्ये हालसम्म जम्मा ३२ नाल हतियार फिर्ता गरिएका छन्। त्यस्तै, डडेलधुरास्थित जिल्ला कारागारबाट भागेका २६ कैदीलाई सुरक्षाकर्मीले पुनः नियन्त्रणमा लिएको छ।
यसैबीच काठमाडौँको डिल्लीबजारस्थित सदर कारागारबाट भाग्ने प्रयास गरेका कैदीहरूलाई समेत समयमै रोकिएको सेनाले स्पष्ट पारेको छ। जेन जेड समूहको दुई दिने आन्दोलनले उपत्यकासहित देशभर शान्ति–सुरक्षामा ठूलो चुनौती खडा गरेको सुरक्षातर्फबाट मूल्याङ्कन गरिएको छ।
सम्बन्धित समाचार







