मकवानपुर । मकवानपुरको हेटौंडा–११ थानाभ¥याङमा रहेको बालसुधार केन्द्रबाट एकैचोटि ७२ जना बालकहरु भागेका छन् । बुधबार दिउँसो ३ बजे उनीहरु भागेको शसस्त्र प्रहरीले जनाएको छ । गृहमा ९४ जना बालकहरु रहेको थिए । अपराधिक गतिविधिमा संलग्न बालकहरू सुधारको लागि राखिएका थिए ।
बालसुधार गृह मकवानपुरका कार्यालय प्रमुख प्रदीप गौतमका अनुसार बालसुधार गृहको संरचना तोडेर उनीहरू फरार भएका हुन् । घटनापछि सुरक्षा निकायहरू, प्रहरी टोली तथा सरोकारवाला निकायहरू सक्रिय भएका छन् र फरार बालकहरूको खोजी कार्य तीव्र पारिएको बताइएको छ ।
यता मकवानपुरको भिमफेदी गाउँपालिका वडा ६ मा रहेको भिमफेदी कारागारका कैदी बन्दीहरु पनि भागेका छन् ।
कारागारको ख ब्लकमा रहेको कैदी बन्दी पर्खाल फुटाई भागेका हुन् । कारागारमा रहेका कैदी बन्दीहरु मध्ये अन्दाजी ४ सय जना मुख्य गेटबाटै भाग्ने कोशिस गरेपछि कारागार सुरक्षा बेशमा खटिएको सुरक्षा निकायले ५ राउण्ड ग्यास सेल फायर गरेको थियो । मंगलबार राती २५९ जना कैदी बन्दी फरार रहेका थिए । बुधबार दिउँसो फेरी १६९ जना फरार भएको कारागार प्रशासनले जनाएको छ । अब यस कारागारमा ६२६ जना बाँकी रहेको बताइएको छ ।

रेकर्ड सबै खरानी सेना परिचालनपछि चकमन्न हेटौंडा
जेनजीको आन्दोलपछि आगजनी गरिएको हेटौंडा खण्डहर बनेको छ । बागमती प्रदेशको राजधानी हेटौडाको सबै मन्त्रालयहरु, सरकारी कार्यालयहरु, विभिन्न दलका नेतृत्वको निजी घरहरु तोडफोड र आगजनी गरिएको छ ।
हेटौँडा उपमहनगरपालिकाको विभिन्न वडा कार्यालयका समेत महत्वपूर्ण कागजातहरु जलेर खरानी भएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुर मात्र सग्लो रहेको हेटौंडामा प्रदेश सरकारका अधिकांश मन्त्रालयहरु तोडफोड तथा आगजनी गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लोकसेवा आयोगका संघीय र प्रदेश कार्यालय समेत जलेका छन् । मकवानपुर जिल्ला अदालतको भवनसहित कागजात जलेर नष्ट भएका छन् ।
यि कागजसँगै इतिहास तथ्याङ्कहरु खरानी भएका छन् । जेनजी पुस्ताको माग अनुसार भ्रष्टाचार विरुद्धको छानविनको लागि समेत नापि, मालपोत, अख्तियार कार्यालयहरुको रेकर्ड खरानी भएका छन् ।
प्रदेशसभा सचिवालयका दुईवटा भवन जलेर नष्ट भएका छन् । हेटौँडा उपमहानगरपालिका कार्यालयको आगो बुधबार दिउँसोसम्म पूर्णरुपमा निभाउन सकिएको छैन । जिल्ला ट्राफिक कार्यालय मकवानपुरको कार्यालयमा समेत आगजनी भएको छ । भाटभटेनी सुपरस्टोरदेखि निजी घरमा समेत आगजनी र तोडफोर्ड भएका छन् ।
सम्बन्धित समाचार







