संसद् बैठक बोलाउने गृहकार्यमा सभामुख

काठमाडौं । जेनजी आन्दोलनपछि देश अन्योलग्रस्त अवस्थामा पुगेपछि सभामुख देवराज घिमिरे प्रतिनिधिसभा बैठक बोलाउने गृहकार्यमा जुटेका छन् ।

जेनजी आन्दोलनका क्रममा कम्तीमा ३४ जना युवा विद्यार्थीले ज्यान गुमाएको र राज्यका तीनवटै अंगका भौतिक संरचना जलेर नष्ट भएको अवस्थामा अन्तरिम सरकार निर्माणको चौतर्फी दबाब छ ।

संसद् भवन जलाइएपछि कृषि समितिको हलमा बैठक राख्ने तयारी

नेपाली सेनाले जेनजीका प्रतिनिधिसँग अन्तरिम सरकारको नेतृत्वका विषयमा वार्ता र छलफल गरिररहेका बेला सार्वभौम संसद्का प्रमुख भने प्रतिनिधिसभा बैठक डाक्ने गृहकार्यमा जुटेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेको अवस्थामा देश प्रशासनिक नेतृत्वविहीन छ । यो अवस्था धेरै दिन नराख्न र संसद्, व्यवस्था र संविधान जोगाउन भन्दै सभामुखले बैठक राख्ने तयारी गरेका हुन् ।

संसद् सचिवालयले जेनजी आन्दोलन सुरु भएपछि २४ भदौमा प्रतिनिधिसभा बैठक अनिश्चितकालसम्मका लागि स्थगनको सूचना जारी गरिसकेको छ ।

राष्ट्रपति र सभामुखको खोजी भइरहेका बेला राष्ट्रपति रामचन्द्र पौडेलले समस्या समाधानको पहल गरिरहेको भन्दै विज्ञप्तिमार्फत सन्देश दिइसकेका छन् भने सभामुख बैठकको गृहकार्यमा छन् ।

संसद् सचिवालयका अनुसार सभामुख तीन– चार दिनभित्रैमा बैठक राख्ने अडानमा छन् तर संसद्का महासचिव भने उनको प्रस्तावमा अहिलेसम्म तयार नभएका कारण लजिस्टिक तयारी तीव्र बन्न सकिरहेको छैन । राष्ट्रपतिले केही दिन पर्खनुस् भन्ने सन्देश पठाएको भन्दै संसद्का महासचिव पदमप्रसाद पाण्डेय भने ‘अवस्था केही दिन हेरौं’ भनिरहेका छन् ।

उनले यसो भनेपछि संसद् सचिवालयले सिंहदरबारस्थित संसद् सचिवालयको २ नम्बर भवनमा रहेको कृषि समितिको बैठक कक्षमा प्रतिनिधिसभाको बैठक राख्ने तयारी गरिरहेको छ ।

यस हलमा २ सय ५० जनासम्म अटाउनसक्ने स्थान छ । यसलाई अलि व्यवस्थापन गरे २ सय ७५ जनाका लागि सिट व्यवस्थापन गर्न सकिने संसद् सचिवालयको दाबी छ ।

आन्दोलनका क्रममा सिंहदरबारभित्रका धेरै संरचनामा क्षति भए पनि यस भवनमा भने कुनै क्षति भएको छैन । सभामुखको सचिवालयका अनुसार सिंहदरबारभित्रको संसद् सचिवालयका धेरैजसो संरचनामा क्षति भएको छैन । भौतिक पूर्वाधार मन्त्रालयको पार्किङमा रहेका करिब २४ वटा गाडी जले पनि संसद् सचिवालयको पार्किङ र आसपासमा पार्किङ गरिएका ३४ वटा हाराहारीका सवारीसाधन पनि सकुशल छन् ।

हलको अवस्थासमेत राम्रो भएका कारण यहीँ बैठक राख्ने तयारी सभामुखको छ ।

सेनाले जेनजीसँग गरिररहेको संवादको अवस्थालाई मध्यनजर गर्दै एक–दुई दिनभित्रै बैठक बोलाउने तयारी सभामुखको छ । बैठक स्थगन मात्रै भएका कारण सभामुख एक्लैको पहलकदमीमा बैठक राख्न सकिने अवस्था छ । सभामुखको सचिवालयका अनुसार हाल सेनाले अन्तरिम सरकारको नेतृत्वको विषयमा छलफल गरिरहेकाले त्यसलाई अस्वाभाविक नमानी सचिवालय पर्खेर बसेको छ । ‘सेनाको अन्डरमा छलफल भइरहेको छ, यो तत्कालका लागि अस्वाभाविक मानिएको छैन, तर राष्ट्रपतिसँग छलफल भएपछि संसद् मुभ हुन्छ,’ सभामुखको सचिवालयका एक कर्मचारीले भने ।

तपाइको प्रतिक्रिया
(Visited 1,147 times, 1 visits today)

epaper

ताजा समाचार

३० वर्षपछि चलचित्र घरमा आउँदै रंगिला