प्रदर्शनकारीको निसानामै थिएन सुर्खेतको लेखा नियन्त्रक कार्यालय

सुर्खेत । अघिल्लो दिन काठमाडौंमा जेनजी प्रदर्शनकारी विद्यार्थीमाथि प्रहरीले बर्बर दमन गरेपछि २४ भदौमा प्रदेश राजधानी सुर्खेतमा पनि परिस्थिति उग्र बन्यो । प्रदर्शन सुरु भएको केही समयमै सुरक्षाकर्मीको नियन्त्रणबाहिर गयो । जेनजी प्रदर्शनकारीको ठूलो भीडले हटियालाइनस्थित नगर विकास समितिको जग्गामा लस्करै बनाएका पार्टीका कार्यालयलाई निसानामा पारे । सबैभन्दा पहिले एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनी गरियो ।

एमाले पार्टी कार्यालयतर्फ प्रदर्शनकारीले ढुंगामुढा प्रहार गर्दैगर्दा न्यून संख्यामा रहेका प्रहरीहरू भागे । प्रहरी भागेपछि प्रदर्शनकारीको मनोबल बढ्यो । आगजनी र तोडफोड भइरहेकै बेला अचानक प्रहरीले अश्रुग्याँस प्रहार गरी भीडलाई तितरवितर पा¥यो । तर, परिस्थिति झन् उग्र बन्यो । भीड कांग्रेस पार्टी कार्यालयतर्फ सोझियो । त्यहाँ पनि तोडफोड र आगजनीपछि भीड माओवादी र जनमोर्चाको पार्टी कार्यालयतर्फ उक्लियो । प्रहरीको अश्रुग्याँसको पर्वाह नगरी भीडले पार्टीका कार्यालयहरू धित मरुञ्जेल जलाए, ढुंगामुढा गरे ।

पार्टी कार्यालयहरू आगजनीपछि भीड वीरेन्द्रनगर नगरपालिका कार्यालय जलाउन पुग्यो । त्यहाँ तोडफोडपछि इत्रामस्थित कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको निजी निवास तोडफोड र आगजनी गर्नथाले । त्यसक्रममा प्रहरीले गोली प्रहार ग¥यो । एक जना घाइते बने । गोली चलाउँदासमेत प्रहरीले खड्काको घरलाई सुरक्षा दिन सकेन । प्रदर्शनकारीले पूर्णबहादुर खड्का र उनका भाइ डा. डम्बर खड्काको घर तोडफोड र आगजनी गर्दै पूर्ण क्षति पु¥याए । मुख्यमन्त्री कार्यालय तोडफोडको प्रयास गरे पनि बाक्लो संख्यामा प्रहरी देखेपछि प्रदर्शनकारीले नापी कार्यालय र प्रदेश लेखा नियन्त्रक कार्यालयलाई निसाना बनाए ।

त्यस दिन प्रदर्शनकारी समूह–समूहमा विभाजन भएर सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति तोडफोड र आगजनी गरिरहेका थिए । जनप्रतिनिधिका घरदेखि वडा कार्यालयहरू जलाउन एउटा समूह खटिएको थियो । त्यस्तै, कर्णाली प्रदेशसभा, मुख्यमन्त्री तथा मन्त्री निवास तोडफोड गर्न अर्को समूह थियो । अर्को एउटा समूहले पार्टी कार्यालय, वीरेन्द्रनगर नगरपालिका कार्यालय हुँदै कांग्रेस नेता खड्काको घर, मुख्यमन्त्री कार्यालय, नापी र प्रदेश लेखा नियन्त्रक कार्यालय ध्वस्त बनाए ।

जेनजी आन्दोलनका क्रममा सुर्खेतका दर्जनौं सरकारी कार्यालय र नेता जनप्रतिनिधिको घरमा आगजनी र तोडफोड भयो । नेताको निवास र जनतासँग प्रत्यक्ष जोडिएका सार्वजनिक संरचनालाई निसाना बनाएका प्रदर्शनकारीले प्रदेश लेखा नियन्त्रक कार्यालयलाई किन तारो बनाए, प्रदेश राजधानीमा यो अहिले चर्चाको विषय बनेको छ । ‘प्रदर्शनकारीको आक्रोश बरु अन्य कार्यालयतर्फ देखिन्थ्यो तर अचानक लेखा नियन्त्रक कार्यालय निसाना बनाइयो । सो प्रदर्शनको फेसबुक लाइभ गरिरहेका पत्रकार सुशील खड्काले भने, ‘प्रदर्शनकारी लेखा नियन्त्रक कार्यालय र नापी कार्यालय जलाउने भनेर आएको मैले सुनिनँ, उनीहरू आफैं कन्फ्युज देखिन्थे ।’

खड्काका अनुसार प्रदर्शनकारी प्रदेश लेखा नियन्त्रक कार्यालयको साइनबोर्डमा झुक्किए । सो साइनबोर्डको सबैभन्दा सिरानमा कर्णाली प्रदेश सरकार, आर्थिक मामिला तथा योजना मन्त्रालय र त्यसपछि प्रदेश लेखा नियन्त्रक कार्यालय लेखिएको थियो । प्रदर्शनकारीले आर्थिक मामिला मन्त्रालयलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्झिए । जुन मुख्यमन्त्री यामलाल कँडेल आफैंले सम्हालेका छन् । ‘आर्थिक मामिलाको साइनबोर्ड देख्नेबित्तिकै यही हो मुख्यमन्त्रीले सम्हालेको मन्त्रालय भन्दै तोडफोड र आगजनीमा उत्रिहाले, आन्तरिक मामिला सम्झिएर प्रदेश लेखा नियन्त्रक कार्यालय जलाए,’ उनले भने । जबकि, आर्थिक मामिला मन्त्रालय भने कांग्रेसका राजीवविक्रम शाहले सम्हालेका छन् । प्रदेश लेखा नियन्त्रक कार्यालय सबैभन्दा बढी क्षति हुने कार्यालयमध्येमा पर्छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालय पूर्णरूपले जल्दा कर्णाली प्रदेश सरकारको भुक्तानी प्रणाली अनिश्चितकालका लागि ठप्प भएको छ । प्रदेश सरकार र यहाँका स्थानीय तहको सार्वजनिक वित्त व्यवस्थापनलाई एकीकृत, चुस्त र पारदर्शी राख्ने संवैधानिक दायित्व बोकेको कार्यालयमा भएको तोडफोड र आगजनीले लेखासम्बन्धी सम्पूर्ण अभिलेख, सफ्टवेयर एवं उपकरणहरूमा व्यापक क्षति पुगेको छ । कार्यालयका साथै कर्मचारीका निजी सवारीसाधन सबै जलेर खरानी हुनपुगे ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख रत्नप्रसाद सुवेदीले पुराना आय–व्यय विवरण, कर्मचारीको तलब तथा भुक्तानी आदेशसम्बन्धी सबै फाइल जलेको बताए । डिजिटल प्रणालीमा सुरक्षित गर्न प्रयोग गरिने उपकरणसँगै भौतिक अभिलेख जलेपछि हिसाब मिलान र प्रमाणीकरणमा कठिनाइ हुने बताउँदै उनले भने, ‘अहिले तत्काल आपत्कालीन अवस्था आएमा पनि निकासा दिन सकिने अवस्था छैन, सिंगै कार्यालय खरानीमा परिणत भएको छ ।’

प्रदेश लेखा नियन्त्रक कार्यालयमार्फत विभिन्न मन्त्रालय, मातहतका कार्यालय, आयोगहरूमा कार्यरत कर्मचारीलाई मासिक तलब–भत्ता तत्काल भुक्तानी गर्न सकिने अवस्था नरहेको कार्यालय प्रमुख सुवेदीको भनाइ छ । मुख्यमन्त्री कँडेलले आगजनी र तोडफोडबाट प्रदेशसभा र प्रदेश कोलेनिकामा सबैभन्दा बढी क्षति पुगेकाले प्रमुख सचिवलाई कार्यालय व्यवस्थापनको योजना पेस गर्न निर्देशन दिइएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 147 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्रीको सचिवालयमा तीन सल्लाहकार