कपिलवस्तु । नेपाल–भारत सीमावर्ती क्षेत्र कपिलवस्तुमा काठ तस्करीको गतिविधि दिनप्रतिदिन बढ्दै गएको छ। सुरक्षा निगरानी कडा पारिए पनि तस्करहरूको सञ्जालले प्रहरी र प्रशासनलाई निरन्तर चुनौती दिइरहेको छ। स्थानीयवासीहरूले तस्करीविरुद्ध कडाइ गर्न माग गर्दै असन्तुष्टि जनाएका छन्।
तस्करी नियन्त्रणका लागि हाल सुराकीको आधारमा संयुक्त सुरक्षा टोली परिचालित गरिएको छ। यही क्रममा बिहीबार साँझ प्रहरीले विजयनगर गाउँपालिका–७, गेडुवाजोत नजिक सीमा पिल्लर नम्बर ५७७/५ को झाडीभित्र लुकाइ राखिएको १२ थान खैरो काठ बरामद गरेको छ।
यो अपरेशनमा ठकुरापुर प्रहरी चौकी, साझेदारी वन ठकुरापुर, सशस्त्र प्रहरी बल डालपुर र इलाका प्रहरी गणेशपुरको संयुक्त टोली सहभागी थियो। बरामद काठको अनुमानित मूल्य करिब ६० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
रातको तस्करी, बिहानको डेलिभरी
प्रहरीका अनुसार तस्करहरू रातको समयमा भारतीय जङ्गलबाट खैरो, सिसौ र सहगवन जातका काठ नेपाल भित्र्याउने गर्छन्। ती काठहरू झाडी, पराल वा गोठमा लुकाइन्छन् र बिहानै काठ स–मिल तथा फर्निचर उद्योगहरूमा पठाइन्छ।
सीमावर्ती गाउँहरूबाट तस्करी सक्रिय
काठ तस्करी लालपुर, गेडुवाजोत, दत्तपुर, ठकुरापुर र परशुरामपुर घाट जस्ता सीमावर्ती स्थानहरू हुँदै बढिरहेको छ। यस्ता गतिविधिले विजयनगर–६, ७ र कृष्णनगर–१२ जस्ता भारतीय जङ्गलसँग जोडिएका क्षेत्रहरूमा तस्करीको जोखिम बढाएको छ।
प्रहरीले यसअघि पनि पटक–पटक काठ बरामद गर्दै आएको र काठ तस्करी नियन्त्रणलाई प्राथमिकतामा राखिएको जनाएको छ। यद्यपि, स्थानीयवासीहरूले स्थायी समाधानका लागि उच्चस्तरीय निगरानी, प्रविधिको प्रयोग र दण्डात्मक कारबाही आवश्यक रहेको बताएका छन्।






