काठमाडौं । भिसा पाएसँगै वेस्ट इन्डिजविरुद्ध हुने टी-२०आई शृंखला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गर्दैछ ।
नेपालको पछिल्लो राजनीतिक अवस्थाका कारण युएईले नेपालीहरुलाई पर्यटक भिसा र कामदार भिसा दुबैमा रोक लगाउँदा नेपालको युएई यात्रा रोकिएको थियो । अन्ततः आइतबार भिसा आएसँगै टोली सोमबार त्यसतर्फ प्रस्थान गर्न लागेको हो ।
नेपालले दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजविरुद्ध सेप्टेम्बर २७, २९ र ३० मा शारजाह क्रिकेट स्टेडियममा तीन खेल खेल्नेछ । नेपालले टेस्ट मान्यता राष्ट्रसँग कुनै पनि अन्तर्राष्ट्रिय शृंखला खेल्न लागेको यो नै पहिलो पटक हो ।
यो ऐतिहासिक शृंखलालाई टोलीले आइसिसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको तयारीका रुपमा लिएको छ । वेस्ट इन्डिज शृंखलापछि नेपाली टोली विश्वकप छनोटका लागि ओमान प्रस्थान गर्नेछ ।
ओमानमा नेपालले अक्टोबर ८ मा कुवेत र १० मा जापानसँग खेल्ने तालिका छ । समूहको शीर्ष दुई टोली ‘सुपर सिक्स’मा छनोट हुनेछन् । सुपर सिक्समा प्रत्येक टोलीले एकअर्कासँग खेल्नेछन् । जसबाट शीर्ष तीनमा अटाउने टोलीले अर्को वर्ष भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुने विश्वकपको १०औं संस्करणमा स्थान बनाउनेछन् ।
ओमानमा विश्वकप छनोट खेलेपछि टोली पुनः युएई फर्किनेछ । युएईमा नेपालले आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत पाँचौं त्रिकोणात्मक एकदिवसीय शृंखलामा सहभागिता जनाउनेछ ।