मुम्बई । बलिउडका कलाकारहरू सानातिना विवादमा परिरहन्छन् । तर केही कलाकारहरू लामो समयदेखि विभिन्न मुद्दाका कारण अदालतको चक्कर काट्न विवश छन् । यी अभिनेता, अभिनेत्रीहरूको जीवनमा रहेका असंख्य मुद्दाहरूमध्ये सार्वजनिक स्थलमा झगडा, लागूपदार्थ सेवन, सम्पत्ति ठगी, मानहानि तथा कुटपिट मुद्दासहित विभिन्न कानुनी समस्यामा फसेका छन् । यी बाहेक अन्य विवादमा फसेर पनि उनीहरू अदालतको चक्कर काट्न बाध्य छन् । केही स्टारहरू एक वा दुई पटक मात्र हैन, धेरै पटक विवादमा फसेर अदालतदेखि जेल समेत गइसकेका छन् । प्राय उनीहरूको नाम कुनै न कुनै विवादमा आउने गरेको छ । उनीहरू बेला बेलामा अखबारका हेडलाइनमा विवादकै कारण छाउँदै आएका छन् । विभिन्न विवादहरूका कारण अदालतको चक्कर काट्न विवश केही कलाकारहरूको यहाँ चर्चा गरिएको छ ।

सैफ अलि खान
सैफ अलि खान विगत ११ वर्षदेखि सम्पत्तिको मुद्दामा अदालतको चक्कर काट्न बाध्य छन् । भोपालमा रहेको आफ्नी हजुरआमा साजिदा सुल्तानको सम्पत्तिको उत्तराधिकारीको रूपमा सैफ रहेका थिए । सोही कारण उनले त्यो सम्पत्ति एकलौटीसँग लिए । यो सम्पत्ति विगत ११ वर्षदेखि विवादमा छ । सैफकै हजुर आमाकी बहिनीका परिवारले भोपालको त्यो सम्पत्ति अंशबन्डा हुनु पर्ने र आफूहरूले त्यो सम्पत्ति पाउनु पर्ने भनेर ११ वर्ष अघि मुद्दा दायर गरेका थिए । सैफको पुस्ताको १५ हजार करोड बराबरको पटौदी परिवारको यो सम्पत्तिलाई अदालतले ‘शत्रु सम्पत्ति’ घोषित गरिएको थियो । त्यसपछि सैफले अदालत धाउन थालेको लामो समय भएको छ । जिल्ला अदालत हुँदै सैफ अलि खान ‘शत्रु सम्पत्ति’ मुद्दा मध्य प्रदेश उच्च अदालतसम्म पुग्दा पनि अझै टुंगिएको छैन । यो सम्पत्तिलाई ‘शत्रु सम्पत्ति’ घोषित आदेश विरुद्ध अभिनेता सैफ अझै मुद्दा लडिरहेका छन् । यो सम्पत्तिहरूमा फ्ल्याग स्टाफ हाउस, लक्जरी होटेलहरू नूर–उस–सबाह प्यालेस, दार–उस–सलाम, हबिको बंगला, अहमदाबाद प्यालेस र कोहेफिजा समावेश छन् ।

सलमान खान
विवादको सूचीमा बारम्बार परिरहने अर्को अभिनेता सलमान खान हुन् । सलमान आफ्नो जीवनमा धेरै कानुनी मुद्दाहरूमा फसेका छन् । उनी कार दुर्घटना (हिट एन्ड रन), कालो हरिण सिकार जस्ता मुद्दामा जेल समेत बसिसकेका छन् । अभिनेता सलमान विरुद्धको मुद्दा अझै टुंगिएको छैन । उनले पछिल्लो समय पनि बेला बेलामा यी मुद्दाहरूमा अदालतको चक्कर काट्नु पर्ने अवस्था जारी छ । अदालतको मुद्दासँगै विभिन्न कलाकारसँगको झगडाले पनि सलमान खान प्राय विवादमा पर्दै आएका छन् । विवेक ओबेरोयसँगको झगडा होस् वा ऋतिक रोशनसँगको शीतयुद्ध होस् । यस्तै शाहरुख खानसँग उनको जन्मदिनमा भएको झगडा होस् वा अभिनेत्री ऐश्वर्या रायमाथि गरेको हातपातको प्रकरण होस । सलमान यस्ता धेरै झगडा र विवादमा मुछिएका छन् । कलाकार मात्र हैन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गिरोहको नजरमा तारो बनेका कारण सलमान सधैँ कडा सुरक्षा घेरामा मात्र सार्वजनिक स्थलमा जाने गर्दछन् ।

राजपाल यादव
बलिउडका हास्य अभिनेता राजपाल यादव हास्य भूमिकामा निकै प्रभावशाली मानिन्छन् । तर उनी पनि पटक पटक विभिन्न प्रकरणका कारण अदालतको चक्कर काट्ने कलाकारको सुचीमा छन् । पारिवारिक विवादबाट प्रहरी चौकी देखि उनको विवाद सुरु भएको थियो । चलचित्र यात्राको क्रममा एकपछि अर्को गर्दै अभिनेता राजपाल यादवले सात वटा ठगी मुद्दाहरूको सामना गरिरहेका छन् । यस्ता ठगी मुद्दामा उनी विरुद्ध १.६० करोड रुपैयाँ जरिवाना समेत अदालतले तोकेको छ । यी मुद्दाहरू मध्य एक कम्पनीले दायर गरेको मुद्दामा उन विरुद्ध यति ठुलो जरिवाना तोकिएको हो । राजपालमाथि चलचित्र निर्देशन गर्दा एक व्यापारीबाट ५ करोड रुपैयाँ लिएको र सो रकम नतिरेको आरोपमा अर्को मुद्दा चलेको थियो । यद्यपि, त्यो चलचित्र बक्स अफिसमा असफल भयो । चलचित्र परिणामस्वरूप घाटामा गएको भन्दै उनले सो रकम तिरेका छैनन् । यही मुद्दामा राजपालले केही समय बन्दीको रूपमा जेलमा पनि बस्नु परेको थियो । उनी विरुद्धको चलचित्र बनाउन पैसा लिएर नतिरेको अन्य मुद्दा अझै जारी रहेकाले यी अभिनेता पनि निरन्तर अदालतको चक्कर काट्न बाध्य छन् ।

कंगना रनौत
बलिउड अभिनेत्री कंगना रनौत बलिउडमा सबैभन्दा बढी विवादित अभिनेत्रीमा पर्छिन् । पछिल्लो समय सांसद भएपछि उनको विवाद केही मत्थर भएको छ । तर पनि उनी विरुद्ध बेला बेलामा अदालतमा मुद्दा पर्न छाडेको छैन । अहिले पनि उनी विरुद्ध दुई वटा राजनीतिक मुद्दा छ । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपछि उनी निरन्तर विवादमा आएकी हुन् । सुशान्त प्रकरणमा मनपरी बयान दिँदा उनले थुप्रै मानहानिको मुद्दा खेप्नु परेको थियो । यस्तै आफ्नो कार्यालयमा छापामारेको भनेर महाराष्ट्र सरकारको आलोचना गर्दाको विवादबाट पनि उनले अदालतको चक्कर काट्नु प¥यो । विवादका कारण सरकारी मुद्दामा उनी पटक पटक तारिखमा अदालत पुगिन । त्यो भन्दा पहिला उनी अभिनेता ऋतिक रोशनसँगको सम्बन्धलाई लिएर विवादमा फसेकी थिइन् । उनले ऋतिक रोशन र उनको परिवार विरुद्ध धेरै गम्भीर आरोप लगाएकी थिइन् । सो प्रकरणमा आफू विरुद्ध उनले मानहानिको आरोप समेत खेप्नु परेको थियो । त्यसो त अभिनय करियरको सुरुवातमै अभिनेत्री कंगना बलिउड अभिनेता शेखर सुमनका छोरा अध्ययन सुमनसँगको सम्बन्धमा थिइन् । त्यति बेला शेखरले कंगना विरुद्ध विभिन्न आरोप लगाएका थिए । सो आरोप प्रत्यारोपले मानहानिको रूप लिएको थियो ।

आदित्य पंचोली
बलिउडका दिग्गज अभिनेता आदित्य पंचोलीले विभिन्न प्रकरणमा पटक पटक मुद्दा खेपिसकेका छन् । यी अभिनेता पनि प्रायः विवादमा परिरहने सुचीमा रहेका छन् । आफूले ऋण लिएको व्यक्तिले अपमान गरेको भन्दै उल्टै कुटपिट गर्दा अदालतको चक्कर काट्नु परेको आदित्यले पारिवारिक सम्पत्तिको मुद्दा पनि खेपेका छन् । यस्तै सन २०१५ मा नाइट क्लबमा बाउन्सवरलाई आक्रमण गरेपछि आदित्य विरुद्ध प्रहरीमा उजुरी परेको थियो । यो मुद्दामा पनि उनले पटक पटक अदालत धाउनु परेको थियो । यस्तै अर्को एक प्रकरण अनुसार उनले रक्सीको नशामा एक व्यक्तिमाथि कुटपिट गरेका थिए । यो मुद्दामा उनलाई अदालतले ५० हजार रुपैयाँ जरिवाना सहित जमानत दिएको थियो । तर पछि कुटपिटको प्रमाण बलियो नभएको भन्दै उनी यो मुद्दाबाट मुक्त भए । अभिनेत्री कंगना रनौतले पनि आदित्यलाई विभिन्न आरोप लगाउँदा सुरु भएको विवाद लामो समयसम्म चलेको थियो । यसरी अभिनेता आदित्यले पटक पटक विभिन्न विवादका कारण अदालतको चक्कर काट्नु परेको थियो ।