काठमाडौं । जेनजी आन्दोलनका क्रममा २४ भदौमा सुन्धारा कारागारबाट फरार रहेका नक्कली भुटानी शरणार्थी प्रकरणका सानु भण्डारी र केशव दुलाललाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार उनीहरूलाई ललितपुर महानगरपालिका–२३ धापाखेलबाट पक्राउ गर्न सफल भएको हो । उनीहरू नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका थिए ।
सोही प्रकरणमा जोडिएका र जेनजी आन्दोलनका क्रममा फरार रहेका एमाले पूर्वसचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझी पनि कारागार फर्किएका छन् । तर, सोही प्रकरणमा जोडिएका तत्कालीन गृहसचिव टेकनारायण पाण्डे भने अझै फरार रहेका छन् ।
महाराजगन्ज वृत्तका प्रहरी हत्यामा संलग्न दुई जना पक्राउ
जेनजी आन्दोलनका क्रममा महाराजगन्जमा प्रहरी हत्यामा संलग्न मुख्य आरोपितसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ओम पौडेल र काभ्रेका युवराज क्यापफाकी रहेका छन् । प्रहरीले सामाजिक सञ्जालमा आएको भिडियो, सीसीटिभी फुटेजमा देखिएको अनुहारका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीद्वारा पक्राउमा परेका मुख्य आरोपित पौडेल धुम्बाराहीमा किराना पसल सञ्चालन गर्दै आइरहेका छन् ।
गत २४ भदौमा जेनजी आन्दोलन उग्र बन्दा एक समूहले आक्रमण गर्दा प्रहरी वृत्त महाराजगन्जमा प्रहरी सहायक निरीक्षक (असई) मिलन राय र जवान उत्तम थापाको ज्यान गएको थियो । असई रायको हत्यामा पौडेलको मुख्य संलग्नता देखिएको छ ।
उनले आन्दोलनकारीको आक्रमणमा परी गम्भीर घाइते अवस्थामा सडकमा छटपटाइरहेका रायमाथि काठको मुंग्रो प्रहार गरेका थिए । उनले असई रायमाथि निकैपटक मुख, टाउको र शरीरका अन्य भागमा समेत प्रहार गरेको भिडियोमा देखिन्छ ।
पौडेलकै उक्साहटमा अन्यले समेत असई रायमाथि निर्मम प्रहार गरेको भिडियोमा स्पष्ट देखिन्छ । २४ भदौको जेनजी आन्दोलन उग्र बन्दा तीन जना प्रहरीको ज्यान गएको थियो ।
जेनजी आन्दोलनका क्रममा जलेकी महिलाको निधन
जेनजी आन्दोलनका क्रममा वीरगन्जस्थित अनिल रुंगटाको घरमा भएको आगलागीमा परेकी ५० वर्षीया सुशीलादेवी हजाराको निधन भएको छ ।
आन्दोलनका क्रममा निधन हुने उनी वीरगन्जको पहिलो व्यक्ति हुन् । आगजनीमा सख्त घाइते भएकी हजाराको कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइरहेको थियो । उनको उपचारकै क्रममा सोमबार निधन भएको हो ।
मृतक महिला संविधानसभा सदस्य रुंगटाको घरमा काम गर्ने श्रमिक भएको रुंगटाका निजी सुरक्षाकर्मी अशेश्वर पटेलले बताए ।
आफ्नो घरमा काम गर्ने पर्साको साखुवाप्रसौनी गाउँपालिका जमुनीय टोलकी महिलाको निधन भएको रुंगटाले बताए ।
वीरगन्जको पावरहाउस चोकनजिकै रहेका रंगटाका तीनवटा घरमा गत २४ भदौ साँझ जेनजी आन्दोलनकारीका नाममा तोडफोड र आगजनी भएको थियो । सो क्रममा घरबाट बाहिर निस्कन खोज्दा मृतक हजारासहित रुंगटाकी आमासमेत घाइते भएका थिए ।