धनगढी । गत २४ भदौको जेन्जी आन्दोलनका क्रममा आगजनी गरिएको आन्तरिक राजस्व कार्यालय धनगढीमा करदाता सेवा सुरु भएको छ । कार्यालयले सामान्य करदाता सेवा सुरु गरेको हो ।
जेन्जी आन्दोलनमा पूर्णतया जलेको कार्यालयमा रहेको टहराबाट सेवा दिन थालिएको छ । सेवाग्राहीलाई सहज होस् भनेर जलेकै भवनमा रहेको टहराबाट सेवा सुरु गरिएको आन्तरिक राजस्व कार्यालय धनगढीका प्रमुख कर अधिकृत डिल्ली लेखकले बताए ।
आन्तरिक राजस्व कार्यालयमा २४ भदौ साँझ ४ बजेपछि आगजनी गरिएको थियो । आगलागीबाट भवनको भुइँ तला पूर्णरूपले जलेको छ भने पहिलो तलाका दुई कोठा मात्रै बचेका छन् । ‘आगलागीमा कार्यालयका सम्पूर्ण जिन्सी समान जलेर खरानी भएका थिए, तत्काल सेवाग्राहीलाई सेवा दिन सहज होस् भनेर अहिले भने भुइँ तला रङरोगन गरिएको छ, यतैबाट सेवा दिन सुरु गरेका हौँ,’ प्रमुख कर अधिकृत लेखकले भने ।
आन्तरिक राजस्व कार्यालय धनगढीको भवन ८० प्रतिशत जलेको प्रमुख कर अधिकृत लेखकले बताए । ‘कार्यालय भवन लगभग पूरै जलेको छ । माथिल्लो तलामा दुई कोठा मात्रै बचेको अवस्था हो,’ उनले भने, ‘भवन फेरि प्रयोग गर्न नसकिनेगरी जलेको छ, प्राविधिक अवस्था के छ भन्ने अध्ययनपछि मात्रै थाहा हुन्छ, अहिले बाहिरको टहराबाट सेवा सुरु भएको छ, गार्ड बस्ने घरबाट समेत सेवा दिने सोचिरहेका छौं ।’
राजस्व कार्यालयका फर्निचर र कागजपत्र मात्रै होइन बाहिर राखिएको जेनरेटर समेत जलेको छ । भवनमा तत्काल विद्युत् जडान गर्नसमेत समस्या भएको छ । जसले गर्दा करदाता सेवाका अतिरिक्त अन्य सेवा सञ्चालन गर्न कठिनाइ भएको छ ।
दसैंलगत्तै सबै सेवा सुचारु हुने
आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत लेखकले दर्ता सेवा, विवरण बुझ्ने, विवरण संशोधन गर्ने, कर चुक्ता गर्ने जस्ता सेवा टहराबाटै दिन थालेको बताएका छन् । सबै सेवा चाँडै सुरु गर्न भने दसैंसम्म पर्खनुपर्ने उनले बताए ।
‘आन्तरिक राजस्व कार्यालयले दिने सम्पूर्ण सेवा नियमित गर्न अझै केही समय लाग्ने भएको छ । विद्युत् आपूर्तिमा समस्या तथा भवनको अभावले गर्दा सम्पूर्ण सेवा सुरु गर्न कठिन भएको छ । दसैं लगत्तै सम्पूर्ण सेवा सुरु गर्ने हिसाबले काम भइरहेको बताए,’ प्रमुख कर अधिकृत लेखकले भने ।
राजस्व बुझाउन बैंक जानुपर्ने
आन्तरिक राजस्व कार्यालय धनगढीको भवनमा रहेको एभरेस्ट बैंकको काउन्टरसमेत जलेको थियो । जसका कारण कर दाखिला गर्न सेवाग्राहीले धनगढी मुख्य सडकमा रहेको एभरेस्ट बैंकमै पुग्नुपर्ने भएको छ । अनलाइन भुक्तानीमा भने कुनै समस्या नभएको प्रमुख कर अधिकृत लेखकले बताए ।
डेटा प्रणाली सुरक्षित
आन्तरिक राजस्व कार्यालयमा आन्दोलन मत्थर भएपछि आगो लगाउने काम भएको थियो ।
आगलागीबाट भौतिक सामान जलेर नष्ट भए पनि कार्यालयको डेटा प्रणालीमा भने कुनै क्षति नभएको लेखकले बताए । डेटा प्रणाली सुरक्षित रहेकाले करदातालाई कुनै समस्या नभए पनि अनुसन्धानमा रहेका फाइलसमेत जलेका कारण अनुसन्धानको दायरामा रहेका व्यवसायीलाई भने समस्या हुनसक्ने उनले बताए ।