किसानको राम्रो आम्दानीको स्रोत बन्दै ‘चिराइतो’

भोजपुर । भोजपुर षडानन्द नगरपालिका–१० तीनतलेका किसान बहुउपयोगी जडीबुटी चिराइतोको व्यावसायिक खेतीमा जुटेका छन् । चिराइतोबाट मकै, आलुलगायतको बालीको तुलनामा राम्रो आम्दानी हुने भएपछि किसानहरू चिराइतो खेतीमा जुटेका हुन् ।

षडानन्द नगरपालिका–१० साङपाङका वडाध्यक्ष पेमदोर्ची शेर्पाका अनुसार तीनतले क्षेत्रका १ सय २० बढी किसानले चिराइतो, लोठसल्ला, सतुवालगायतको व्यावसायिक खेती गरिरहेका छन् । यहाँका माथिल्लो भेगका किसानको मुख्य आम्दानीको स्रोत चिराइतो रहेको वडाध्यक्ष शेर्पाले बताए । षडानन्द नगरपालिकाको माथिल्लो भेगलाई जडीबुटीको पकेट क्षेत्र घोषणा गरिएको उनको भनाइ छ ।

‘चिराइतो तीनतले क्षेत्रका अधिकांश किसानको मुख्य आम्दानीको स्रोत रूपमा रहेको छ,’ वडाध्यक्ष शेर्पाले भने, ‘अन्य बालीको तुलनामा जडीबुटी चिराइतो खेतीबाट राम्रो आम्दानी हुने भएपछि किसान व्यावसायिक खेतीमा लागेको देखिन्छ, अहिले हामीले यस क्षेत्रलाई चिराइतो पकेट क्षेत्र घोषणा गरेर जडीबुटी खेतीको लागि प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेका छौं ।’

तीनतले क्षेत्रका किसानले चिराइतो बिक्रीबाट एकपटकमा न्यूनतम १ लाख ५० हजारदेखि १२ लाख रुपैयाँसम्म आम्दानी लिने गरेको स्थानीय कृषक फुर्लाक्पा शेर्पाले बताए । आफूले अहिले २५ रोपनी क्षेत्रमा चिराइतोको व्यावसायिक खेती गरिरहेको जानकारी दिए । चिराइतोको बिक्रीबाट औसतमा वार्षिक ४ देखि ७ लाख रुपैयाँसम्म आम्दानी लिने गरेको उनको भनाइ छ । गत वर्ष चिराइतो बिक्रीबाट ७ लाख रुपैयाँ आम्दानी गरेको उनले बताए ।

उत्पादन भएको चिराइतो घरबाटै ठेकेदारहरूले लैजाने गरेको स्थानीय कृषक निमा शेर्पाले बताए । गत वर्ष एक मन (४० केजी) चिराइतो घरबाट नै ४० हजारदेखि ४५ हजार रुपैयाँसम्ममा बिक्री भएको उनले जानकारी दिए । राम्रो आम्दानी हुने भएपछि १० वर्षअघिबाट व्यावसायिक रूपमा चिराइतो खेतीमा जुटेको उनको भनाइ छ ।

१ हजार ५ सय मिटरदेखि २ हजार ५ सय मिटरसम्मको उचाइको हावापानीमा चिराइतो राम्रोसँग फस्टाउने भएकाले यहाँका माथिल्लो भेगका अधिकांश मानिसले यसको खेती गरिरहेका छन् । लेकाली भेग तथा चिस्यान क्षेत्र भएकाले यहाँ चिराइतोको राम्रो उत्पादन हुँदै आएको छ ।

चिराइतो षडानन्द नगरपालिकाको वडा नं १०, ११ र १३ को माथिल्लो भेग, टेम्केमैयुङ गाउँपालिका–५ मझौले, तिम्मा, दोभाने, हेलौंछा, खार्तम्छा, आमचोक गाउँपालिकाको युँ, वासिङथर्पु र पौवादुङमा गाउँपालिकाको श्यामशिलालगायतका स्थानमा व्यावसायिक खेती हुने गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 112 times, 1 visits today)

epaper

ताजा समाचार

दोलखाको लामाबगर खराने खोला नजिक भीषण पहिरो