काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रको रक्षाका लागि आगामी फागुनमा तोकिएको निर्वाचन समयमै सम्पन्न गर्नुपर्ने बताएका छन् ।
काठमाडौँको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले उक्त निर्वाचनलाई सफल बनाउन पार्टीले विशेष सक्रियता देखाउने बताएका हुन् । उनले भने, “लोकतन्त्रको रक्षाका लागि २१ फागुनको निर्वाचन सम्पन्न गराउन माओवादीले विशेष जोड दिनेछ ।”
गत २३ र २४ भदौमा भएको जेनजेडको प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । त्यसपछि प्रतिनिधिसभाबाट अर्को सरकार बन्ने सम्भावना नदेखिएको भन्दै पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको हो ।
अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी आगामी २१ फागुनमा निर्वाचन हुने मिति तोकेका छन् । सो चुनाव सफलतापूर्वक सम्पन्न गराउन माओवादीले निर्णायक भूमिका खेल्ने प्रचण्डले स्पष्ट पारेका छन् ।