काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शासकीय स्वरूप परिवर्तनलगायतका संविधान संशोधनका मुद्दा आगामी २१ फागुनमा हुने निर्वाचनबाट निर्वाचित संसद्बाट हुने बताएकी छन् ।
प्रधानमन्त्रीको सम्बोधन
जेनजी युवाहरूले आह्वान गरेको राजनीतिक परिवर्तनबाट आफू प्रधानमन्त्री नियुक्त भए पनि निर्वाचन गराउने म्यान्डेट भएका कारण अन्य विषयमा सरकारको कार्यक्षेत्र नभएको बताइन् ।
प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले भनिन्, ‘नेपालको संविधान र शासकीय प्रणालीको संशोधनलगायत जेनजी पुस्ताले आन्दोलनका क्रममा उठाएका विषय वर्तमान अन्तरिम सरकारको कार्यक्षेत्रभन्दा बाहिरको विषय भएकाले युवा पुस्तालगायत परिवर्तन पक्षधर आमनेपाली जनतालाई आगामी निर्वाचनमा सहभागी भई संवैधानिक प्रक्रियाबाटै संविधान संशोधन गर्नका लागि आग्रह गर्न चाहन्छु ।’
प्रधानमन्त्री कार्कीले निर्धारित मितिमा भयरहित, निष्पक्ष निर्वाचन सम्पन्न गराउन सम्पूर्ण पक्षको सहयोग आवश्यक भएको बताइन् ।
प्रधानमन्त्री कार्कीले देशबाहिर रहेका युवाहरूलाई मतदानको अधिकार दिन सरकारले निर्वाचन आयोगसँग परामर्श तथा सम्भावना अध्ययन गरिरहेको पनि बताइन् । सम्बोधनमा कार्कीले भनिन्, ‘रोजगारीको सिलसिलामा देशबाहिर रहनुभएका नेपाली नागरिकलाई विदेशबाट समेत मतदान गर्नसक्ने सम्भावनाका ’boutमा नेपाल सरकारले निर्वाचन आयोगसँग छलफल गरिरहेको छ ।’
वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको मर्यादित रोजगारी तथा तिनका हकहितको संरक्षण एवं गैरआवासीय नेपाली नागरिकले उठाएका संविधानसम्मत मागप्रति वर्तमान सरकार सकारात्मक रहेको उनले सम्बोधनका क्रममा बताएकी छन् ।
भ्रष्टाचारीलाई कारबाही, सम्पत्ति शुद्धीकरणमा छानबिन
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जेनजी युवाहरूको माग र राष्ट्रको आवश्यकताअनुसार भ्रष्टाचारीलाई कारबाही गरिने दृढता दोहा¥याएकी छन् । सम्बोधनका क्रममा कार्कीले भनिन्, ‘वर्तमान सरकारले विगतमा भएका भ्रष्टाचारका सन्दर्भमा यो छोटो समयमा प्रस्ट जानकारी पाइसकेको छ, यसको छानबिन गरी दोषीलाई कारबाही गरिनेछ, शंकास्पद र आन्दोलनका क्रममा आरोपितहरूको सम्पत्ति छानबिन हुनेछ ।’
कार्कीले सम्बोधनमार्फत जेनजी प्रदर्शनका क्रममा नेताका घरमा भेटिएका पैसा र अकूत सम्पत्तिका आधारमा सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु भएको संकेत गरेकी छन् ।
कार्कीले सम्बोधनकै क्रममा भनेकी छन्, ‘प्रदर्शनका क्रममा व्यक्तिका निजी घर तोडफोड र आगजनी हुँदा अस्वाभाविक रूपमा देखिएका नगद रकमका सन्दर्भमा सरकारका सम्बद्ध निकायले छानबिनको कारबाही सुरु गरिसकेको छ ।’
जेनजी आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री, मन्त्री तथा नेताहरूका घरमा जलेका नोटहरू भेटिएका दृश्य सामाजिक सञ्जालमा देखिएका थिए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ती नोट संकलन गरी अनुसन्धान सुरु गरिसकेको छ । अनुसन्धान अघि बढेको कुरा कार्कीले सम्बोधनमार्फत पुष्टि गरिन् ।
प्रधानमन्त्रीको सम्बोधनमा नेपालको नक्सा गायब
प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्न तयार गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको हलमा पृष्ठभूमिमा नेपालको नक्सा नराखिएको विषयलाई लिएर सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ ।
जेनजी आन्दोलनले सिंहदरबारभित्रका धेरै भवन तथा कार्यकक्ष, सभाहल जलेर नष्ट भए पनि पुनर्निर्माण हुने क्रममा झन्डा तथा राष्ट्रपतिका तस्बिरहरू राखिए पनि नक्सा नराखिएको विषय निरन्तर चर्चा भइरहेको छ ।
प्रधानमन्त्रीसँग भेटघाट भएका तस्बिरहरू बाहिरिँदा, मन्त्रिपरिषद् बैठक गरिँदा तथा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दा दायाँ भागमा राष्ट्रिय झन्डा तथा पृष्ठभूमिमा राष्ट्रप्रमुखको तस्बिर र नक्सा राख्ने प्रचलन रहेको पाइन्छ ।
अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीको सम्बोधनमा पृष्ठभूमिमा नक्सा नभएकामा चासो र गुनासोहरू बढेका छन् ।
उच्चारणमै परेनन् दल
जेनजी आन्दोलनको भावनाअनुरूप गठन भएको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान संविधानको भावनाअनुसार नै निर्वाचन हुने र निर्वाचित संसद्बाट आफ्नो अनुकूल शासकीय स्वरूप परिवर्तन तथा संविधान संशोधनसमेत गर्न सक्नेगरी निर्वाचनमा सहभागी हुन युवाहरूलाई आग्रह गरिन् ।
उनले आगामी २१ फागुनमा निर्धारित मितिमा निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता दोहो¥याइन् र निर्वाचनलाई सहयोगको आग्रह पनि गरिन् । तर, राजनीतिक दलहरूलाई निर्वाचनमा भाग लिन र भयरहित तथा निष्पक्ष निर्वाचनमा योगदान गर्ने सन्दर्भमा कुनै आग्रह गरिनन् ।
विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरू सम्मिलित सरकारले गराउन लागेको यस निर्वाचनमा राजनीतिक दलले सहभागिता जनाउने र तयारीसमेत गरिरहेका सन्दर्भमा राजनीतिक दलहरूले यसलाई दलप्रतिको उपेक्षाका रूपमा बुझेको बताएका छन् ।