धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले आचार्य कृष्ण दमाईलाई समावेशी शिक्षा सहजकर्तामा नियुक्त गरेको छ । कृष्ण संस्कृतमा आचार्य उत्तीर्ण गरेर बेरोजगार रहेका थिए ।
बैतडीको शिवनाथ गाउँपालिका –५, बकुन्नामा जन्मेका कृष्ण दमाईले संस्कृत विषयमा आचार्य (स्नातकोत्तर तह) उत्तीर्ण गरेका छन् । आचार्य कृष्णलाई धनगढी उपमहानगरपालिकाले समावेशी शिक्षा सहजकर्तामा नियुक्त गरेपछि दलित समुदाय खुसी भएका छन् ।
उनलाई यसअघि काठमाडौंमा पशुपति कोटीहोममा सम्मानसहित व्यासमा बसालेर प्रवचन दिने मौकासमेत दिइएको थियो । सोही बेला धनगढी उपमहानगरपालिकाले उनको नागरिक अभिनन्दन गरेको थियो ।
आचार्य कृष्ण दमाईको घरको आर्थिक अवस्था कमजोर भएकाले नोकरी दिने नगरप्रमुख गोपी हमालले घोषणा गरेका थिए । दलितले वेदपुराण पढ्नु हुँदैन भन्ने मान्यता बोकेको समाजमा हुर्कनु भएका दमाईले नेपाल संस्कृत विश्व विद्यालय विद्यापीठ लालझुण्डी, दाङबाट २०७८ सालमा संस्कृत साहित्यमा आचार्य उत्तीर्ण गरेका हुन् ।
उनले, संस्कृत विषय पढ्दा आफूले थुप्रै संघर्ष गर्नुपरेको बताए । केही समयदेखि विभिन्न धार्मीक अनुष्ठानमा सहभागी हुँदै आएका आचार्य कृष्ण परिवारको छाक टार्न कञ्चनपुरस्थित एक निजी विद्यालयमा पढाउने काम गर्दै आएका थिए । यहीबिचमा धनगढी उपमहानगरपालिकाले आफूलाई टिकाराम पार्की छात्रवृत्ति र जुठे दमाई छात्रवृत्ति कार्यक्रम सञ्चालनका लागि सहजकर्तामा नियुक्ती दिएपछि जीविका चलाउन सहज हुने उनले बताए ।
नगरपालिकाले तोकेको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्ने उनले प्रतिबद्धता जनाए । उनलाई नगररपलिकाले शिक्षा, युवा तथा खेलकुद महाशाखा अन्तर्गत काम गर्नेगरी छैटौं तहमा नियुक्ति दिएको छ ।