काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कमिटी विघटन भएको छ । बैठकले पार्टीको विशेष महाधिवेशन मंसिरमा गर्ने प्रस्तावसमेत पारित गरेको छ । पार्टी अध्यक्ष रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयोजक बनाउँदै बैठकले आयोजक कमिटी गठन गरेको हो । संयोजक प्रचण्डकै नेतृत्वमा केन्द्रीय सचिवालय गठन भएको छ । सचिवालयमा हालका पदाधिकारीलाई सदस्य राखिएको छ ।
संयोजकमा प्रचण्डकै निरन्तरता
काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा माओवादी केन्द्रको ९ र १० असोजमा बसेको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटी विघटनसहित विशेष महाधिवेशनमा जाने प्रस्ताव पारित गरेको हो । विघठित केन्द्रीय कमिटीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा प्रचण्डले गरेको प्रस्तावअनुसार केन्द्रीय कमिटी विघटन गर्दै मंसिरमा विशेष महाधिवेशनमा जाने निर्णय भएको जनाएका छन् ।
यसबीचमा समाजवादी मोर्चाभित्र रहेका चार दलका बीचमा समेत पार्टी एकताको गृहकार्य जारी छ । विशेष महाधिवेशन गर्नुभन्दा अघि नै समाजवादी मोर्चामा रहेका दलहरूका बीचमा पार्टी एकीकरण भए एकताको अधिवेशन गरिने नभए विशेष महाधिवेशन हुनेछ ।
बैठकले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचन सफतापूर्वक सम्पन्न गराउनका लागि सरकारलाई सहयोग गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठक सम्पन्न भएपश्चात प्रचण्डले केन्द्रीय कमिटी बैठक सफलतापूर्वक सम्पन्न भएको र आफू अब अध्यक्ष नरहेर संयोजकको भूमिकामा रहेको पनि बताए । ‘केन्द्रीय कमिटी बैठक सफलतापूर्वक सम्पन्न भयो । म अब अध्यक्ष रहिन्, महाधिवेशन आयोजक कमिटीको संयोजक भएँ,’ प्रचण्डले भने ।
यस्तै, प्रचण्डले पार्टीका सबै नेताहरूको सम्पत्ति छानबिन हुने घोषणा पनि गरेका छन् । यसका लागि सम्पत्ति छानविन आयोग नै गठन गर्ने उनले बताए । पार्टी केन्द्रीय कमिटीको दोस्रो दिनको बैठकलाई सम्बोधन गर्दै उनले अब पुरानै ढंगले पार्टी नचल्ने, नयाँ कार्यविधि र ढंगबाट अगाडि बढ्नुपर्ने बताए । संगठनात्मक कार्यशैली मात्र नभएर व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरण आवश्यक प्रचण्डले बताएका छन् ।
प्रचण्डले नेताको खानपान, लवाइखुवाइदेखि जनतासँगको सम्बन्धसम्म सरल र जनमुखी बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । यस’boutका के–के गर्ने भनेर लिखित सुझाव पठाउनसमेत उनले आग्रह गरेका छन् । पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्ने उनले बताए ।
श्रेष्ठ र शर्माको प्रस्ताव अस्वीकृत
बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले राखेको प्रस्ताव अस्वीकृत भएको छ । श्रेष्ठले पार्टीको महाधिवेशन प्रतिनिधिसभाको निर्वाचनपछि गरिनुपर्ने प्रस्ताव गरेका थिए । उनले पार्टीको कार्यवाहक अध्यक्ष आफूलाई दिन भनेका थिए ।
उपमहासचिव शर्माले अघि सारेको प्रस्ताव पदाधिकारी सबैले राजीनामा दिने कुरा पनि अस्वीकृत भएको छ । शर्माले अहिलेका पदाधिकारीबाट नभई स्थायी कमिटीबाट युवालाई पार्टीको नेतृत्व दिनुपर्ने प्रस्ताव गरेका थिए । तर, बैठकमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले शर्मा र श्रेष्ठका फरक मतलाई विशेष महाधिवेशनसम्म लगेर छलफल गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रचण्डले आफूले नेतृत्व हस्तान्तरणको तयारी थालिसकेकाले अब पनि अध्यक्षमा बस्न लाग्यो भनेर आशंका नगर्न भनेका छन् । पार्टी रूपान्तरणका लागि अहिलेको बहस तल्लो तहसम्म पु¥याउन पनि नेताहरूलाई उनले निर्देशन दिए ।
माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले अध्यक्ष प्रचण्डले अघि सारेको प्रस्ताव सही भएको टिप्पणी गरे । पुनले अहिले नेतृत्व परिवर्तनको बहस उठे पनि आन्दोलन बाटोमा नै छोडेर जान नसकिने भन्दै नेतृत्व परिवर्तनको विधिको विषयमा बहस हुनुपर्नेमा बताए ।
अध्यक्ष प्रचण्डले कार्यकारी भूमिका छोड्छु भन्नु समाजवादी आन्दोलनको अगुवाइ गर्न छोड्छु भनेर नभनेको भन्दै पुनले प्रचण्डको बचाउ गरे । उनले छलफल र बहसमार्फत विधि बनाएर मात्र क्रमभंग गर्न सकिने धारणा जनाएका छन् । उनले दलाल पुँजीवादलाई कसरी समाप्त गर्ने र राष्ट्रिय आन्दोलनलाई कसरी अघि बढाउने भन्ने विषयमा जवाफ खोज्नुपर्ने बताए ।
प्रचण्डले आफ्नो नेतृत्वमाथि उठेको प्रश्नको जवाफ अब जवाफ दिएर वा स्पष्टीकरण दिए मात्रै नहुने भन्दै एक्सनबाट नै दिने भन्नु सकारात्मक रहेको पुनको भनाइ छ । उनले नेतृत्वको परीक्षा संकटको घडीमा हुने भन्दै अहिले आन्दोलन छोडेर भाग्ने कुरा गर्न नहुने भन्दै एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखे । उनले विचार मिल्ने दलहरूसँग छिट्टै एकता बताए ।
माओवादी केन्द्रका अर्का नेता हरिबोल गजुरेलले प्रचण्ड नेतृत्वको विकल्प नभएको टिप्पणी गरे । उनले माओवादी केन्द्र आफैंमा आन्दोलनकारी शक्ति भएकाले अरूभन्दा फरक रहेको बताए । सडकबाट आवाज उठाउँदैमा पार्टीको नेतृत्व परिवर्तन नहुने भन्दै उनले प्रचण्ड नेतृत्वको बचाउ गरे ।
‘सडकबाट उठेको आवाजले सरकार त परिवर्तन हुन्छ, तर पार्टीभित्रको नेतृत्व परिवर्तन हुँदैन, त्यो पार्टीभित्रको प्रश्न हो, छलफल र महाधिवेशनबाट मात्र नेतृत्वको कुरा टुंगिन्छ,’ नेतृत्वमा प्रचण्डको विकल्प नभएको बताउँदै गजुरेलले भने । उनले नेतृत्व उमेरका आधारमा नभई विचार र क्रान्तिकारी कार्ययोजनाका आधारमा हुने बताए ।
माओवादी केन्द्रका अर्का नेता राम कार्कीले पार्टी विघटनको आवश्यकता औंल्याएका छन् । कार्कीले माओवादी केन्द्र अब जलेको घरजस्तै मर्मत नहुने अवस्थामा पुगिसकेको टिप्पणी गर्दै पार्टीलाई विघटन गरी पुनर्निर्माण गर्नुपर्ने बताए ।
कार्कीले अब पुराना पार्टीहरूले थेग्न नसक्ने र अगाडि बढ्न पनि नसक्ने बताउँदै प्रदेश अध्यक्षहरूको संयोजन समिति बनाएर माओवादीलाई विघटन गरी नयाँ शिराबाट नयाँ पार्टी निर्माण गरिनुपर्ने बताए ।
अहिलेको सिस्टमभित्र समाजवाद पनि नआउने र वेलफेयर स्टेट पनि नबन्ने उनले बताए । नेतृत्वले नयाँ बाटो लिन नसकेको र पुरानै ढर्रामा रमाएको उनको दाबी छ । उनले विगत २० वर्षको अनुभवको समीक्षा गरेर नयाँ बाटो अख्तियार गर्नुपर्ने आवश्यकता औंल्याए ।
एकताका लागि समाजवादीले बनायो समिति
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टी एकताका लागि वार्ता समिति गठन गरेको छ । एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष डा. बेदुराम भुषालको संयोजकत्वमा वार्ता समिति गठन गरिएको हो ।
समाजवादी मोर्चामा रहेका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा र महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)बीचमा पार्टी एकताको गृहकार्य भइरहेकै बेला समाजवादीले वार्ता समिति गठन गरेको हो ।
‘वामपन्थी, कम्युनिस्ट तथा समाजवादी पार्टी र समूहहरूसँग एकता वार्ता गर्नका लागि वरिष्ठ नेता डा. बेदुराम भुसालको संयोजकत्वमा वरिष्ठ नेता कमरेड प्रमेश हमाल र उपाध्यक्ष कमरेड प्रकाश ज्वाला सदस्य रहनु भएको वार्ता टोली गठन गरिएको छ, वार्ता टालीले निम्न सैद्धान्तिक आधारमा वार्ता गर्नेछ,’ पार्टी अध्यक्ष माधवकुमार नेपालद्वारा जारी अपानिमा उल्लेख गरिएको छ ।
अपानिमा पार्टी एकताका सैद्धान्तिक आधार पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी हुने, नेपाली क्रान्ति जनवादी चरण पूरा गरेर समाजवादी चरणमा प्रवेश गरेको मान्ने, आमनेपाली जनता र दलाल नोकरशाही पुँजीपति वर्गबीचको अन्तर्विरोधलाई वर्तमान नेपाली समाजको प्रधान अन्तर्विरोध मान्ने उल्लेख छ ।
माओवादी केन्द्रको शुक्रबार नै सम्पन्न केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चाबीच पार्टी एकीकरण र ध्रवीकरणको प्रयास भइरहेको जानकारी गराएका थिए ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाहेकका कम्युनिस्ट पार्टीहरूका बीचमा पार्टी एकताको गृहकार्य भइरहेको छ । पार्टी एकीकरणका लागि शीर्ष नेताहरूले आन्तरिक छलफलमा जुटेका छन् ।
सम्बन्धित समाचार





