काठमाडौं । जेनजी आन्दोलनले सरकारबाट बाहिरिएको नेकपा एमालेमा वैकल्पिक नेतृत्वको बहस चर्किएको छ । जेनजी आन्दोलनको प्रभावस्वरूप अन्य दलहरूमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरण हुनुपर्ने विषय चर्किएसँगै एमालेलाई पनि नेतृत्व हस्तान्तरणको बाध्यता आइपरेको छ ।
महिला संयोजकसहित ऐतिहासिक रुपान्तरण
अध्यक्ष केपी शर्मा ओलीलाई कुनै पनि हालतमा नेतृत्व हस्तान्तरण नगर्न एउटा समूहले दिइरहेको दबाब बाबजुद तिहारसम्ममा महिला संयोजक पाउने सम्भावना बढेको छ । दसैंलगत्तै पार्टीको केन्द्रीय समिति बैठकबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई संयोजक बनाएर महाधिवेशनमा जानसक्ने सम्भावना बढेको छ ।
जेनजी आन्दोलनको दबाबस्वरूप नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)बाट बाबुराम भट्टराईले राजीनामा दिइसकेका छन् भने नेकपा माओवादी केन्द्रले पनि केन्द्रीय कमिटी भंग गरी महाधिवेशन आयोजक कमिटी बनाइसकेको छ । नेतृत्व हस्तान्तरणको दबाब बढ्दैगर्दा एमालेमा पनि हस्तान्तरणको गृहकार्य गर्नुपर्ने ठाउँमा पुग्दै गरेको एक जना पदाधिकारीले राजधानीसँग बताएका छन् ।
जेनजी आन्दोलनको दोस्रो दिन प्रधानमन्त्रीबाट राजीनामा दिएका अध्यक्ष केपी शर्मा ओली २ असोजमा नेपाली सेनाको सुरक्षाबाट फिर्ता भए पनि सार्वजनिक रूपमा नेतृत्व हस्तान्तरणको विषयमा बोलेका छैनन् । ओलीले पार्टीका सबै तहका नेतासँग अलगअलग भेटघाट र छलफल गरिरहेका छन् ।
जेनजी आन्दोलनका विषयमा विभिन्न खालका टिप्पणी भइरहेकै बेलामा अध्यक्ष ओलीले आन्दोलनमा घुसपैठ भएको भन्दै एमालेविरोधी षड्यन्त्रको आशंका गरेका छन् । औपचारिक रूपमै नेतृत्व हस्तान्तरणको विषयमा एजेन्डा राखेर बैठक बस्ने अवस्था नभएपछि दसैंलगत्तै बैठक बस्नसक्ने एमालेवृत्तका वरिष्ठ नेताहरूबीच चर्चा छ ।
दसैंको अवसरमा फूलपातीदेखि अलि गम्भीर रूपमा परामर्श गरेर अध्यक्ष ओलीले दसैंलगत्तै नेतृत्व हस्तान्तरणको वातावरण बनाउने तयारी गरिरहेका छन् । पार्टीभित्र विधान महाधिवेशन अगाडिदेखि नै ओलीविरोधी माहोल बनाइरहेको एउटा समूहले अध्यक्ष रक्षात्मक भएका बेला दाउ हेरेर अघि बढ्न खोजेको विश्लेषण गर्दै पक्कै ओलीले वैकल्पिक नेतृत्व अगाडि सार्छन् भन्ने निष्कर्षको नजिक राजनीतिक विश्लेषकहरू पनि पुगेका छन् ।

महाधिवेशनसम्म सर्वस्वीकार्य उपाध्यक्ष शाक्य संयोजक
नेकपा एमालेले जेनजी आन्दोलनको दवावस्वरूप नेतृत्व हस्तान्तरण गर्नुपर्ने आवश्यकता महसुस गर्दै आएका नेताहरूले सर्वस्वीकार्य उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई संयोजक बनाउन प्रस्ताव गर्ने गृहकार्य गरिरहेका छन् ।
दोस्रो, तेस्रो तहका नेताहरूले कम्तीमा ओलीले नेतृत्व छोडेर मास अट्याकबाट एमालेलाई जोगाउनुपर्ने आवश्यकता महसुस गरेका छन् । पुस्तान्तरण महाधिवेशनबाट हुनेगरी नेतृत्व हस्तान्तरणको वातावरण बनाउन साझा र स्वीकार्य नेताका रूपमा शाक्यलाई प्रस्ताव गरिएको हो । एमालेले आगामी वर्ष नेतृत्व चयनको महाधिवेशन गर्ने पूर्वघोषणा नै गरेको छ ।
त्यसलाई केही समयअघि सारेर महाधिवेशन गर्ने म्यान्डेटसहित उपाध्यक्षमध्येबाट एक जनालाई संयोजक बनाएर महाधिवेशनसम्म जाने तयारी गर्नुपर्ने विषयमा ओलीले पनि सोचिरहेका हुनसक्ने एक पदाधिकारीले बताए ।
एमालेको वर्तमान विधानअनुसारका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई संयोजक बनाउने सम्भावना उनका गतिविधिहरूले रोकेको एमाले वृत्तमा चर्चा छ । एक जना पदाधिकारीले भने, ‘ईश्वर कमरेड एग्रेसेभ्ली लाग्नुहुन्छ, आफू कन्भिन्स हुनुभएन भने हप्कीदप्की नै गर्न थाल्नुहुन्छ, यस्तो बेलामा सन्तुलित नेता चाहिन्छ, अष्टलक्ष्मी शाक्यजस्तो नेतालाई संयोजक बनाउँदा हुन्छ भनेर धेरैले सुझाव दिनुभएको छ, सायद उहाँको नेतृत्वमा महाधिवेशनमा जाने वातावरण बन्नसक्छ ।’

एमाले राजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको चासो
पूर्वराष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले जेनजी आन्दोलनपछि आफ्नो राजनीतिक सक्रियता थप बढाएकी छन् । जेनजी आन्दोलनका घाइतेहरूलाई सिभिल अस्पतालमा भेट गर्ने देखि ध्वंस भएका सार्वजनिक सम्पत्तिको अवलोकन गर्दै प्रतिक्रियासमेत दिइरहेकी छन् ।
भण्डारीले शुक्रबार हिरण्यलाल श्रेष्ठ, सूर्यनाथ उपाध्याय, देवप्रकाश त्रिपाठी, सुशील प्याकुरेललगायत नागरिक समाजका अगुवा तथा सम्पादकसँग समसामयिक विषयमा परामर्श गरेकी छन् । नागरिक समाजका अगुवा तथा सम्पादकहरूसँग छलफल गर्दै लोकतन्त्र संकटमा पर्न लागेकामा चिन्ता व्यक्त गरेकी छन् ।
सांकेतिक रूपमा यी गतिविधिमार्फत भण्डारी एमालेको नेतृत्वमा फर्कन लागेको संकेत गरेकी हुन् । एमालेको विधान महाधिवेशनअघि नै नेतृत्वमा जान चाहेकी भण्डारीले यस्ता विभिन्न गतिविधिमार्फत आफू पार्टी र लोकतन्त्र संकटमा परेका बेला नेतृत्व लिन तयार भएको संकेत गरेकी छन् ।