खोकनावासीको दसैं फूलपातीअघि नै

ललितपुर । खोकनावासीले घटस्थापनाबाट सुरु दसैं षष्ठीको दिन अर्थात् शनिबार (हिजो) नै मनाएका छन् । खोकनाका नेवाः समुदायले रुद्रायणी माइ अर्थात् सिद्धिकाली भगवतीको पूजा गरी सिकाली जात्रा मनाएर दसैं समापन गरेका हुन् ।

आमनेपालीले सामान्यतया घटस्थापनादेखि पूर्णिमासम्म दसैं मान्ने भए पनि खोकनावासी भने घटस्थापनादेखि सप्तमीसम्म सिद्धिकाली भगवतीको पूजा गरी सिकाली जात्रा मनाएर दसैं समापन गर्छन् । १२ वर्षमा एकपटक उपत्यकाका विभिन्न स्थानमा मनाइने सिद्धिकाली जात्रा नेपाल संवत् ३३६ देखि प्रचलनमा भएको मानिन्छ ।

सिकाली जात्रालाई नै दसैंका रूपमा मान्दै आएका खोकनावासी नेवाः समुदाय रुद्रायणी देवी (सिकाली)सहित अष्टमातृकागण तथा देवीदेवता पूजाआजा गरी यो जात्रा मनाउने गर्छन् । अन्यत्र टिका र जमरालाई दसैंको प्रमुख पहिचान मानिने भए पनि खोकनावासीले भने सप्तमीमै दसैं समापन गरिसकेका हुँदा धेरैलाई खोकनावासीले दसैं नमनाउनेजस्तो भ्रम पर्ने गरेको स्थानीय बताउँछन् ।

‘हाम्रो दसैं मनाउने शैली अरुभन्दा भिन्नै हो, खासमा शक्तिकी देवी भवानीको सिद्धिकाली स्वरुपको आराधना पूजाअर्जना र विभिन्न किसिमका जात्रा गरेर हामी दसैं मनाउँछौं,’ स्थानीय अगुवा भन्छन् । जात्राका अवसरमा स्थानीय युवाले देवनृत्य गर्ने गर्दछन् । यो देवीनृत्य हो । देवीनृत्य विषयमा स्वस्थानी व्रतकथामा व्याख्या गरिएको पाइन्छ । दक्ष प्रजापतिले आह्वान गरेको यज्ञका लागि आकाशबाट उड्दै जम्मा भएको ३३ कोटी देवताको प्रतीकका रूपमा विभिन्न नृत्य गरिन्छ ।

खोकनामा आयोजना हुने देवी नृत्यमा मूलरूपमा अष्टमातृकागणकी देवी रुद्रायणी (सिकाली–सिद्धिकाली)को पूजा गरिन्छ । सिद्धिकालीका साथ भैरव र बालकुमारीको पनि पूजा गरिन्छ । देवी नृत्यमा मातृका नाच अर्थात् विभिन्न देवीनृत्यका रूपमा ब्रम्हायणी ब्रम्हचारिणी अर्थात् ब्राम्ही, वैष्णवी, माहेश्वरी, इन्द्रायणी, बाराही, महालक्ष्मी, चामुण्डा, सिंहिनी र ब्याघिनीको पूजा गरिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 53 times, 1 visits today)

epaper

ताजा समाचार

दोलखाको लामाबगर खराने खोला नजिक भीषण पहिरो