दोलखा । गौरीशंकर गाउँपालिका–९ स्थित गौरीशंकर तथा रोल्वालिङ हिमशृंखलाअन्तर्गत आरोहणका लागि गएका विदेशीसहित स्वदेशी पथप्रदर्शक रोल्वालिङ क्षेत्रमा रहेको यलुङरी हिमालको आधारशिविरनजिकै हिमपहिरोमा पर्दा सात जनाको मृत्यु भएको छ । हिमपहिरोमा पाँच जना घाइते भएका छन् ।
प्रतिकूल मौसमका कारण उद्धारमा कठिनाइ
मृत्यु हुनेमा दुई जना नेपाली र पाँच जना विदेशी नागरिक रहेका छन् । मृत्यु हुनेमा अमेरिकी नागरिक तीन जना, क्यानडाका एक र इटालीका एक जना गरी पाँच जना विदेशी छन् ।
आरोहणका लागि गएका विदेशीसहित स्वदेशी पथप्रदर्शकको समूह सोमबार यलुङरीनजिकै हिमपहिरोमा परेको प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोले बताए । ना गाउँबाट ६ हजार ३ सय ३४ मिटर अग्लो डोल्मा थाङ हिँडेका उनीहरू सोमबार बिहान साढे १० बजे हिमपहिरोमा परेका जनाइएको छ ।
हिमपहिरोमा परेलगत्तै घाइतेहरूले ना गाउँमा रहेका आरोहणमा सहभागी नभएका साथीहरूलाई आग्रह गरेका थिए । तर, उनीहरूको समयमै उद्धार हुन सकेन ।
आरोहणमा गएको टोली हिमपहिरोमा परेको सूचना ढिलो गरी मात्रै आएको डीएसपी महतोले बताए । ‘सूचना आएलगत्तै जिल्ला प्रशासनमार्फत गृह मन्त्रालयलाई जानकारी गराएका थियौं,’ उनले भने, ‘मौसम खराबका कारण हेलिकोप्टर उडान हुन सकेन, पैदल उद्धार सम्भव थिएन, अब मंगलबार (आज) मात्रै उद्धार कार्यको थालनी हुनेछ ।’
घटनास्थल लामाबगरबाट ८ घण्टाको पैदल दूरीमा पर्छ । हिमपहिरोमा परेकाको खोजीको प्रयास भइरहेको प्रहरीले जनाएको छ । सम्पर्कविहीनहरूको खोजी र उद्धारका लागि हेलिकोप्टर त्यसतर्फ पठाए पनि प्रतिकूल मौसमका कारण घटनास्थलमा पुग्न नसकेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले उद्धारका लागि तीनवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको बताए ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बीओपी) लामाबगर, नेपाली सेना र नेपाल प्रहरीको गरी ५० जनाको संयुक्त सुरक्षा फौज घटनास्थलतर्फ परिचालन भएको उनले जानकारी दिए ।
केही दिनदेखि रोल्वालिङ उपत्यकाको मौसममा खराबी आएसँगै हिमपात भएको थियो । ना गाउँमा हिमपात भएपछि स्थानीय बेदिङ झरेका थिए । आइतबारबाट मौसममा केही सुधार भएसँगै हिमाल आरोहण गएको टोली यलुङरी लागेको थियो । हिमाली क्षेत्रमा आइतबारदेखि घाम लाग्न थालेको थियो ।
सम्बन्धित समाचार
स्कुटर दुर्घटनामा २ जनाको मृत्यु
बालिका करणी अभियोगमा ठाकुर पक्राउ
सुरक्षा रणनीतिमै अल्झियो सरकार : फितलो देखिँदै चुनावलक्षित संवाद
कर्मचारी सरुवामै रमाउँदै चुनावी सरकार
थप उपचारका लागि देउवा आज सिंगापुर जाँदै
नेप्से परिसूचक ६२ अङ्कले बढ्यो
खगेन्द्रलाई ५० हजार धरौटीमा छाड्ने काभ्रे अदालतको आदेश
महाविधेशनको घेराबन्दीमा कांग्रेसका कार्यवाहक


								
											
											
								
								



