काठमाडौं । बहुचर्चित भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईसहित सात जना र दुई ट्राभल एजेन्सीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
वैदेशिक रोजगारका दलालसँग सेटिङ मिलाएर भिजिट भिसामा विदेश जानेसँग अवैध रकम असुलेको अभियोगमा नेपाल सरकारका बहालवाला सहसचिव र शाखा अधिकृतसहित ६ जनाविरुद्ध आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गर्दै तत्कालीन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन प्रमुख रहेका सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्याललगायत ६ जनालाई प्रतिवादी बनाएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले बताए ।
आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा प्रमुख आरोपित सहसचिव अर्याल र भ्रष्टाचारको रकम संकलन तथा शुद्धीकरणमा संलग्न कविता पौडेल तथा खेम सुवेदीसँग ७९ लाख ८० हजारका दरले बिगो दाबी गरिएको छ ।
भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारबाहीको माग गर्दै सहसचिव भट्टराई, शाखा अधिकृत अर्यालसहित ग्रीनलाइन होलिडेज प्रालिका अध्यक्ष वालकृष्ण खड्का, फेमिली होलिडेज ट्राभल्स एन्ड टुर्स प्रालिका संस्थापक सञ्चालक दीपक भण्डारी, ग्रीनलाइनकै संस्थापक सेयर सदस्य एवं सञ्चालक राम खड्का तथा कविता पौडेल र खेम सुवेदीलाई प्रतिवादी बनाइएको छ ।
विशेष अदालतमा दायर मुद्दामा शाखा अधिकृत अर्यालसँग ८ लाख, व्यवसायी बालकृष्ण खड्का र राम खड्कासँग ३० लाख २० हजार, अर्का व्यवसायी भण्डारीसँग १० लाख ६० हजार बिगो मागदाबी गरिएको छ ।
भट्टराईसहित तीन जनालाई करोडबढी बिगो, शुद्धीकरणको अर्को मुद्दा
आयोगले मुख्य आरोपित सहसचिव भट्टराईको बिगो ७९ लाख रुपैयाँबढी निर्धारण गरेको छ भने १ करोडभन्दा बढी रकम शुद्धीकरण गरेको आरोप लगाएको छ । भट्टराईले भ्रष्टाचारबापत आर्जन गरेको १ करोड ३ लाख ७९ हजार ६ सय रुपैयाँ शुद्धीकरण गरेको आरोप लगाएको छ । भट्टराईसहित शुद्धीकरण मतियार पौडेल र सुवेदीलाई पनि सम्पत्ति शुद्धीकरणतर्फ पनि थप मुद्दा दर्ता गरिएको छ ।
भिजिट भिसा प्रकरणमा आरोपित शाखा अधिकृत अर्यालविरुद्ध भने ५ लाख रुपैयाँ बिगो माग दाबी गरिएको सहायक प्रवक्ता अधिकारीले बताए । आयोगले आरोपित कविता पौडेल र खेमप्रसाद सुवेदीसँग पनि भट्टराईसरह नै रकम शुद्धीकरण गरेको आरोपमा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार मुद्दा दर्ता गरिएको सहायक प्रवक्ता अधिकारीले बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सूक्ष्म अनुसन्धान गर्ने क्रममा सहसचिव भट्टराईको नेतृत्वमा मातहत कर्मचारी तथा व्यवसायी र दलालको मिलेमतोमा भिजिट भिसामा विदेश पठाउने गरेको पाइएपछि ७ जेठ २०८२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो । उनी त्यतिबेला विमानस्थल अध्यागमन कार्यालयको नेतृत्व गरिरहेका थिए ।






