काठमाडौं । सरकारले आगामी २१ फागुनका लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलले तयारी बढाएका छन् । जेनजी आन्दोलनपछि निर्माण भएको अन्तरिम सरकारले तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्न राजनीतिक दलहरूको सहयोग आवश्यक भएको बताइरहँदा राजनीतिक दलहरू आयोगले तोकेको निर्वाचन कार्यतालिकाअनुसार नै निर्वाचनमा सहभागी हुन उम्मेदवार छनोटको प्रक्रियामा अघि बढेका हुन् ।
प्रतिनिधिसभाका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फबाट उम्मेदवार छान्नका लागि नेपाली कांग्रेसले १५ मंसिरमै निर्देशन दिएअनुसार उम्मेदवार छानिरहेको छ । करिबकरिब सबै क्षेत्रबाट उम्मेदवार सिफारिस भइसकेको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । प्रत्यक्षतर्फ हरेक निर्वाचन क्षेत्रबाट एक महिलासहित बढीमा तीन जना र समानुपातिकतर्फ समावेशी सिद्धान्तका आधारमा दुई जनाको नाम सिफारिस गर्न मातहत कमिटीहरूलाई निर्देशन दिएअनुसार उम्मेदवार छनोट तथा सिफारिस भइरहेको कांग्रेसले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आगामी निर्वाचनका लागि हरेक निर्वाचन क्षेत्रबाट उम्मेदवार छनोट गरिरहेको पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए । २१ र २२ कात्तिकमा बसेको बैठकले पारित गरेको मापदण्डका आधारमा उम्मेदवार छनोट र सिफारिस गर्न मातहत कमिटीहरूलाई दिइएको निर्देशनअनुसार प्राप्त नामलाई पार्टीले बिहीबार सार्वजनिक गरिसकेको छ । रास्वपाले सार्वजनिक गरेको प्रारम्भिक सूचीमा पार्टीकी कोषाध्यक्ष लीमा अधिकारीदेखि हालै साझा विवेकशीलबाट एकीकरणमा आएकी समीक्षा बाँस्कोटा र रञ्जु दर्शनासहित ३ सय ५३ जना रहेका छन् ।
सार्वजनिक भएका समानुपातिक उम्मेदवारलाई तोकिएअनुसारका प्रक्रियाबाट अन्तिम रूप दिइने पनि रास्वपाले जनाएको छ । अन्तिम नामावली १४ पुससम्ममा सार्वजनिक गर्ने पूर्वघोषित कार्यक्रमअनुसार रास्वपा अघि बढेको बुर्लाकोटीले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीकै शैलीमा खुला आह्वान गरेर कुलमान घिसिङको पार्टी उज्यालो नेपाल पार्टीले पनि उम्मेदवार छनोट गरिरहेको छ । पूर्वघोषणाअनुसार आएका आवेदनलाई मूल्यांकन गरेर सम्बन्धित व्यक्तिहरूसँग छलफल तथा अन्तक्र्रिया गरी पार्टीमा आबद्धता र उम्मेदवार चयनको काम हुने घिसिङनिकट नेताहरूले बताएका छन् । विभिन्न विषयका विज्ञहरूको नाम छनोट, परामर्श तथा भेटघाटलाई घिसिङ आफैंले प्राथमिकताका साथ हेरेका छन् भने पार्टीका अध्यक्षलगायतका पदाधिकारीले औपचारिकता दिने र दस्तावेजीकरणमा सघाइरहेका छन् ।
नेकपा र एमाले आफ्नै तालमा
राष्ट्रिय राजनीतिको साविक परिस्थितिमा ठूला मानिएका दुई कम्युनिस्ट पार्टी नेकपा एमाले र नेपाली कम्युनिस्ट (नेकपा) पार्टी भने आफ्नै आन्तरिक व्यवस्थापनका कामले गर्दा आफ्नै तालमा रहेका छन् । अन्तरिम सरकारले २१ फागुनका लागि घोषणा गरेको निर्वाचनका लागि उम्मेदवार छनोटलगायतका विषयमा कम्युनिस्ट पार्टीहरूमा भने अलमल देखिएको हो । जेनजी आन्दोलन हुँदाताका सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमाले आफ्नो आन्तरिक महाधिवेशनका प्रक्रियामा रहेकाले उम्मेदवार छनोटको विषयमा प्रवेश गरेकै छैन । प्रत्यक्ष र समानुपातिक दुवैतर्फका लागि उम्मेदवार छनोटसम्बन्धी मापदण्ड, कार्यक्रम वा कार्यतालिकाका विषयमा एमालेको केन्द्रीय कमिटीमा छलफलसमेत भएको छैन ।
नेकपा एमालेको ११औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार बसे पनि प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी मापदण्ड निर्माण वा तयारीका विषयमा छलफल नभएको नेताहरूले बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारको बैठकमा सम्बोधन गर्दासमेत प्रतिनिधिसभा पुनस्र्थापनाकै सम्भावना रहेको दाबी गर्दै त्यसकै लागि पार्टी पंक्तिलाई तयार रहन संकेत गरिरहेका थिए ।
नेपाली कम्युनिस्ट पार्टीले पनि आगामी निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने विषयमा कुने कार्यक्रम बनाइनसकेको बताएको छ । नेपाली कम्युनिस्ट पार्टीका नेताहरूले जेनजी आन्दोलनपछि आफूलाई नयाँ स्वरूपमा एकता र रूपान्तरणको नयाँ शक्तिका रूपमा स्थापित भएको बताउँदै एकता अनुभूतिका सभा गरिरहेकाले त्यसपछि उम्मेदवार छनोटका प्रक्रियामा जाने बताएको छ । नेपाली कम्युनिस्ट पार्टीले आज (शनिबार) काठमाडौंमा विशाल प्रदर्शन गरेर सिंगै देशभर एकताको सन्देश दिएर निर्वाचनको तयारीमा लाग्ने निर्णय गरेको पार्टीका नेता प्रकाश ज्वालाले बताए ।
आलोचनात्मक चेत र अनुशासन बुझौं : अध्यक्ष ओली (बक्स)
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अनुशासन र आलोचनात्मक चेतका विषयमा बुझ्नुपर्ने भन्दै नेताहरूलाई अन्तरपार्टी मुद्दाहरू मिडियामा नबोल्न निर्देशन दिएका छन् । ११औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र भाँडभैलो मच्चाउन आलोचनात्मक चेतका नाममा नेताहरूलाई उक्साइएको आरोप लगाएका छन् ।
महाधिवेशनको विषयलाई लिएर पार्टीभित्र कसैलाई काखापाखा नगरिने बताउँदै अध्यक्ष ओलीले सिंगै पार्टी एउटै तालमा खटिने बताए । अध्यक्ष ओलीले भने, ‘एमालेमा ओलीको अधिनायकवाद छ भनेर कसैले उचाल्लान् अब महाधिवेशन सकियो, प्रतिनिधिको फैसलाअनुसार पार्टी एकताबद्ध भएर पार्टीविरुद्धका घेराबन्दी तोड्न र लोकतन्त्रको रक्षाका लागि उभिन आवश्यक छ ।’
नेकपा एमालेले पार्टी केन्द्रीय कमिटीको दोस्रो बैठक २६ देखि २८ पुसमा आयोजना गर्ने निर्णय गरेको छ । केन्द्रीय कमिटी सदस्य मनोनयन, पोलिटब्युरो र स्थायी कमिटी गठनलगायतका एजेन्डा दोस्रो बैठकमा राखिने निर्णय भएको एमालेले जनाएको छ ।
सम्बन्धित समाचार
निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन
मुख्यमन्त्री यादवद्वारा ३ मन्त्री नियुक्त, जनमतका महेशलाई अर्थ मन्त्रालय
मधेशमा तत्कालीन क्याबिनेटका सबै निर्णय बदर
यो चुनावी सरकार मात्र होइन, कसैको धम्कीबाट डराउँदैनौँ: प्रधानमन्त्री कार्की
मापदण्ड विपरीत उम्मेदवार सिफारिस नगर्न कांग्रेसको निर्देशन
३ बजेलाई सर्यो एमाले महाधिवेशनको बन्द सत्र
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश
मुलुकलाई संक्रमणबाट जोगाउन फागुन २१ मा निर्वाचन अनिवार्य: शेखर कोइराला






