काठमाडौं । सरकारले विदेशी पर्यटकको निगरानी गर्ने अनलाइन प्लेटफर्म तयार पारेको छ । अब पर्यटन भिसामा नेपाल प्रवेश गर्ने पर्यटक अध्यागमन प्रवेश गरेलगत्तैबाट सार्वजनिक निगरानीमा पर्ने भएका छन् ।
अध्यागमन विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्धनमा सहयोग गर्ने उद्देश्यले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली तयार गरेको छ ।
अनलाइन सूचना प्रणाली तयार भएसँगै विमान कम्पनी, ट्राभल्स एन्ड टुर्स कम्पनी, होटल रिसोर्ट तथा गेस्ट हाउस र मनी चेन्जरहरूसमेत अनलाइन सूचना प्रणालीमा आबद्ध हुनुपर्ने बाध्यात्मक व्यवस्था तय भएको अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए ।
विमानस्थलदेखि मनी चेन्जरसम्म निगरानीमा
सरकारले अंग्रेजी नयाँ वर्ष अर्थात् १ जनवरीदेखि सूचना प्रणाली अनिवार्य गर्ने भएको हो । १७ पुस २०८२ देखि कार्यान्वयन गर्नेगरी सूचना प्रणाली सार्वजनिक गरिएको प्रवक्ता ढकालले जानकारी दिए । अनलाइन सूचना प्रणालीलाई पहिलो चरणमा १७ पुसदेखि काठमाडौं उपत्यकाभित्रका तारे होटलमा अनिवार्य रूपमा लागू गरिने र दोस्रो चरणमा आगामी १७ फागुन अर्थात् १ मार्च २०२६ देखि देशभित्रका सबै तारे होटल, विमान कम्पनी, टुर्स एन्ड ट्राभल्स कम्पनी, मनी एक्सचेन्जरहरूमा लागू हुने प्रवक्ता ढकालले बताए ।
विभागले सम्भव भएसम्म छिट्टै देशैभरका पर्यटन गतिविधि हुने सबै निकायमा प्रणाली जडान हुने प्रवक्ता ढकालले बताए । सूचना प्रणालीको कार्यान्वयनको प्रभावकारिताका लागि विदेशी नागरिकलाई सेवा प्रदान गर्ने सबै निकाय प्रणालीमा दर्ता हुनुपर्नेगरी सूचना जारी गरेको छ । हालसम्म प्रणालीमा आबद्ध भएका निकायको संख्या न्यून रहेको देखिएकाले यथाशीघ्र आबद्धताका लागि अनुरोध गरिएको ढकालले जानकारी दिए ।
पर्यटकका गतिविधि शंकास्पद
नेपाल प्रवेश गरेका विदेशी पर्यटकका गतिविधि शंकास्पद भएपछि सरकारले निगरानी बढाउने भएको हो । पर्यटन भिसामा आएका विदेशीहरू ओभरस्टेदेखि स्वीकृति लिइएको उद्देश्यबाहेकका गतिविधिमा संलग्न हुने गरेको पाइएपछि पर्यटकका हरेक गतिविधि निगरानी गर्नुपरेको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए ।
‘पर्यटकले प्रतिबन्धित गतिविधिमा संलग्नता बढाएको र त्यसका कारण गैरकानुनी क्रियाकलापका कारण देशको पर्यटन उद्योग तथा प्रतिष्ठामा आँच आउने अवस्था भएकाले निगरानी आवश्यक भएपछि विदेशी पर्यटन सूचना प्रणाली तयार गरिएको हो,’ अध्यागमन विभागका महानिर्देशक तिवारीले राजधानीसँग भने, ‘यसको कार्यान्वयन प्रभावकारी बनाएर निगरानी फलदायी बनाउन आवश्यक छ ।’
पछिल्ला समय पर्यटन भिसामा नेपाल छिरेका विदेशीहरू लागूऔषध प्रयोग गर्नेदेखि कारोबार गर्ने, नेपालीहरूलाई विवाहका आश्वासन दिएर वेश्यावृत्तिमा संलग्न गराउनेदेखि हुन्डीको कारोबारलगायतका अवैध क्रियाकलापमा संलग्न भएको अध्यागमनको अनुगमनले देखाएको छ ।
विभागका अनुसार पर्यटन भिसामा आएका विदेशीहरूले धर्म परिवर्तनलगायतका क्रियाकलापमा समेत नेपाललाई आफ्नो मिसनका रूपमा लिएको पाएपछि विदेशी पर्यटकलाई सरकारले निगरानी गरेको हो ।
सीमा गतिविधिमा नजर
नेपाल प्रवेश गरेका तेस्रो मुलुकका पर्यटक भारत र चीनको सिमानामा पुगेर प्रतिबन्धित क्षेत्रका भ्रमण गर्नेदेखि फोटो भिडियो खिच्ने गरेको गुनासो आएपछि अध्यागमन विभागले विदेशी पर्यटकसम्बन्धी सूचना संकलन तथा सघन अनुगमन गर्नेगरी ७७ वटै जिल्लामा पत्राचारसमेत गरेको विभागले जनाएको छ ।
विदेशी पर्यटकका गतिविधि शंकास्पद लागेको खण्डमा जिल्ला प्रशासन कार्यालयमा रहेको अनुगमन समितिलाई जानकारी दिन आग्रह गरेको विभागका प्रवक्ता ढकालले बताए । हिमाली क्षेत्र तथा सीमा क्षेत्र र कतिपय पुरातात्विक क्षेत्रमा समेत पर्यटकका रूपमा विदेशीका गतिविधि निगरानी गर्नुपर्ने खालका सुझाव र सूचनाहरू आएको विभागले जनाएको छ । ‘फोटो खिच्न नपाइने भनिएका मठ मन्दिर तथा धार्मिक पुरातात्विक क्षेत्रमा फोटो खिच्ने गुप्त क्यामेरा प्रयोग गर्ने गरेको सूचनाहरूसमेत आएको हुँदा त्यस्ता क्षेत्रमा सुरक्षा जाँचसमेत प्रभावकारी गराउन सुरक्षा संयन्त्रसँग समेत समन्वय गरिने विभागले जनाएको छ,’ ढकालले भने ।
सम्बन्धित समाचार
कतारबाट हात्ती लिन भैरहवा आएको कतार एयरवेजको विमान कलकत्ता डाइभर्ट
खिलराज रिझाएर सहकारी, सुशीला रिझाएर समाज कल्याण
विद्यालयमा खाना उत्सव : विद्यार्थीलाई ९० हजार रुपैयाँ आम्दानी
घरजग्गा ऋण अब धितोको ५० प्रतिशत मात्र
एमालेले देशलाई गलत दिशामा जान दिँदैनः ओली
कानुनका व्याख्याताबाटै वकिललाई ‘झगडिया अड्डा’को जिम्मा
एमालेमा १७ नेता निर्विरोध निर्वाचित (सूचिसहित)
स्पा र होटलहरूबाट ८ बालिकाको उद्धार, ५ जना पक्राउ






