धार्मिक सद्भाव बिग्रन थालेपछि वीरगन्जमा कर्फ्यु

वीरगन्ज । धार्मिक सद्भाव खल्बलिनेगरी वीरगन्ज क्षेत्रमा शक्ति प्रदर्शन र विरोधका कार्यक्रम हुन थालेपछि पर्सा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ । हिन्दु र मुस्लिम समुदायका केही समर्थकले वीरगन्जका छुट्टाछुट्टै ठाउँमा प्रदर्शन गर्न थालेपछि धार्मिक सद्भाव खल्बलिन नदिन स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गरेको हो ।

मधेश प्रदेशको धनुषास्थित धनुकमला नगरपालिका–६, सखुवामरानको मुस्लिम टोलमा रहेको मस्जिदमा शनिबार अज्ञात समूहले तोडफोड र मुस्लिम धर्मावलम्बीको ग्रन्थ ‘कुरान जलाएको’ भन्दै विरोधमा वीरगन्जमा पनि मुस्लिम समुदायका समर्थकले आइतबार बिहानैबाट प्रदर्शन थालेका छन् । सोमबारबाट प्रदर्शन उत्तेजक बन्न थालेपछि हिन्दु समुदायका पनि प्रदर्शनमा उत्रिए ।

दुबै समुदाय सडकमा उत्रिएपछि सामाजिक सद्भाव अक्षुण्ण राख्न स्थानीय प्रशासनले सोमबार दिउँसो १ बजेदेखि अर्को सूचना नआउञ्जेलसम्मका लागि विरोध प्रदर्शनमा रोक लगाएका थियो । सोमबार साँझ ६ बजेबाट भने स्थानीय प्रशासनले मंगलबार बिहान ८ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको हो ।

सामाजिक सञ्जालको ‘डढेलो’
धनुषामा भएको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि त्यसैलाई आधार बनाएर पर्सालगायत मधेशका अरु जिल्लामा पनि मुस्लिम समुदायका समर्थकले विरोध र प्रदर्शन थालेका छन् ।

हिन्दु धर्म, देवी–देवता, पर्व तथा मन्दिरप्रति अभद्र र आपत्तिजनक ढंगले प्रदर्शनकारीले टिप्पणी गर्न थालेपछि हिन्दु समुदायका समर्थक पनि प्रदर्शनमा उत्रिएका छन् । दुवै पक्षका समर्थक प्रदर्शनमा उत्रिन थालेपछि आपसी सद्भाव जोगाउन स्थानीय प्रशासनले कफ्र्यू जारी गरेको हो ।

दुवैतर्फको प्रदर्शनक्रममा केही सुरक्षाकर्मी र प्रदर्शनकारी पनि घाइते भएका छन् । प्रदर्शनक्रममा वीरगन्जको अलखिया चोकमा दुई सुरक्षाकर्मी पनि घाइते भएका छन् । मुस्लिम धर्मावलम्बीको पवित्रस्थल मस्जिदमा पसेर तोडफोड गर्ने र धार्मिक ग्रन्थ कुरान जलाउनेलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने मुस्लिम प्रदर्शनकारीको माग छ ।

सरोकारवालासँग छलफल आज
स्थिति सामान्य बनाउन स्थानीय प्रशासनले मंगलबार (आज) सरोकारवाला पक्षसँग छलफल तयारी थालेको छ । प्रशासनले सर्वसाधारणलाई शान्ति, संयम र सतर्कता अपनाउन आग्रह गर्दै अफवाहमा नलाग्न र सुरक्षाकर्मीलाई सहयोग गर्न अर्को सूचनामार्फत् आह्वान पनि गरेको छ ।

सद्भावका लागि गम्भीर छलफलमा सरकार
मधेशका विभिन्न जिल्लामा साम्प्रदायिक हिंसा भड्कनेखाले गतिविधि हुन थालेपछि सरकारले सोमबार नै मधेश प्रदेशसहितका २१ जिल्लाका सुरक्षा समिति पदाधिकारी र सात प्रदेशका प्रदेश प्रहरी प्रमुखसँग छलफल गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार ‘जुम बैठक’ डाकेर मधेश प्रदेशका जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रदेश प्रहरी प्रमुखसँग शान्ति सुरक्षा अवस्था’bout ‘ब्रिफिङ’ लिएका छन् ।

गृहमन्त्री अर्यालले मधेश प्रदेश तथा अन्य केही प्रदेशमा देखिन खोजेका साम्प्रदायिकता संयमता, सजगता र सहअस्तित्वका आधारमा स्थिति सामान्यीकरण गर्न पनि अनुरोध गरेका छन् । गृह मन्त्रालयमा विभिन्न संवैधानिक आयोगका कार्यवाहक अध्यक्ष, सचिव, तथा पदाधिकारीहरूसँग गरिएको सामूहिक छलफलमा गृहमन्त्री अर्यालले धनुषा र पर्सामा भएका केही धार्मिक सद्भाव र सहिष्णुतामाथि खलल पु र्याउने घटना निस्तेज पार्न भूमिका खेल्न आग्रह गरे ।

तपाइको प्रतिक्रिया
(Visited 137 times, 1 visits today)

epaper

ताजा समाचार

२०औँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो