सर्लाहीका अति विपन्न ३ सय १० परिवारलाई न्यानो सामाग्री

सर्लाही । सर्लाहीको दक्षिणी क्षेत्रमा शीतलहरको जोखिमलाई न्युनिकरण गर्न ३ सय १० परिवारलाई न्यानो सामग्री वितरण गरिएको छ । बिगत केही सातादेखि शुरु भएको शीतलहरबाट पर्न सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै वल्र्ड भिजन इन्टरनेसनल नेपालको सहयोग तथा बागमती सेवा समाज नेपाल र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रको संयुक्त साझेदारीमा दक्षिणी तराईमा शीतलहरको सम्भावनाका लागि पूर्वकार्य तथा प्रतिकार्य परियोजना अन्तर्गत न्यानो कपडा तथा आवश्यक सामग्री वितरण गरिएको छ ।

कार्यक्रम अन्तर्गत हरिपुर्वा नगरपालिकाका २सय १० घरधुरी र पर्सा गाउँपालिकाका १ सय घरधुरी अति विपन्न तथा सिमान्तकृत घरपरिवारहरूलाई न्यानो सामग्री वितरण गरिएको हो । शीतलहरको समयमा उच्च जोखिममा रहेका परिवारलाई लक्षित गर्दै सहयोग सामग्री वितरण गरिएको आयोजक संस्था बागमती सेवा समाज नेपालका कार्यक्रम बिभाग प्रमुख भरतकुमार कार्कीले बताए । वितरित सामग्रीमा प्रति परिवार पिलव कम्बल २ थान, वयस्कका लागि ऊनी टोपी २ थान, बालबालिकाका लागि ऊनी टोपी ३ थान, वयस्कका लागि ज्याकेट २ थान, बालबालिकाका लागि ज्याकेट ३ थान, महिलाका लागि ऊनी पछ्यौरा १ थान, महिलाका लागि ऊनी मोजा २ जोडा तथा पि–फम चटाई १ थान (५.८ मिटर) समावेश गरिएको छ ।

सामाग्री वितरण कार्यक्रममा राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रका कार्यक्रम प्रबन्धक रामकुमार यादवले प्रति परिवार ७ हजार ८ सय पच्चिस रुपैयाँ बराबरको सहयोग सामग्री वितरण गरिएको जानकारी दिँदै शीतलहरबाट हुन सक्ने मानवीय जोखिम न्यूनीकरण गर्नु परियोजनाको मुख्य उद्देश्य रहेको बताए ।

यसैगरी बागमती सेवा समाज नेपालका कार्यक्रम संयोजक कुमार भण्डारीले शीतलहरबाट जोगिन तथा जोखिम न्यूनीकरण गर्न गरिएको यस पहलले समुदायलाई आमागी दिनमा पूर्वतयारीमा समेत ध्यान दिन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । हरिपूर्वा नगरपालिका, पर्सा गाउँपालिका र जिल्ला विपद् ब्यवस्थापन समिति सर्लाहीको समेत समन्वयमा संचालन गरिएको उक्त राहत सामाग्री वितरण कार्यक्रमका लागि युके एड र स्टार्ट फण्ड नेपालले आर्थिक सहयोग गरेको थियो ।

कार्यक्रममा वल्र्ड भिजन इन्टरनेसनल नेपालका जिल्ला संयोजक सीता चौधरी, हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्षहरू, समाजसेवीहरू तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)

epaper

ताजा समाचार

स्वतन्त्रसहित उदयपुरमा ३१ जनाको उम्मेदवारी दर्ता