राजविराज । मानवअधिकारवादी अगुवा कृष्ण पहाडीले वर्तमान सरकार विशेष परिस्थितिको उपज रहेको भन्दै यसलाई धेरैदिन लम्बयाएर राख्नु उपयुक्त नहुने कुरा बताएका छन् ।
मानवअधिकार तथा शान्ति समाज केन्द्रिय कार्यालय काडमाडौंले शनिबार मधेशी नागरिक समाज सप्तरीको समन्वयमा राजविराजमा आयोजना गरेको “शत्रुताविहिन आचरण, मित्रवत् प्रतिस्पर्धा र निर्वाचनको अपरिहार्यता” बिषयक अन्तरक्रियात्मक गोष्ठिलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । “विशेष परिस्थितिको उपज स्वरुप गठन भएको यो सरकार जनता प्रति उत्तरदायित्व नभएको तथा कतिपय विषयमा असफल भईसकेको छ, उनले भने–जेनजी आन्दोलनको म्यान्डेडलाई पुरा गर्न नसक्नु वर्तमान सरकारको पहिलो असफलता हो ।”
भदौ २३ गते भएको जेनजी आन्दोलनको मर्म अनुसार काम नगरी दोषी राजनीतिक नेतृत्व सित समझौता गरेको पहाडीले सरकार माथि आरोप लगाए । भदौ २४ गतेको ध्वन्सात्मक गतिवविध तथा आन्दोलनकारीको ज्यान लिनेहरु माथि कारवाही नहुनु तथा जेजनी आन्दोलनले भ्रष्ट नेताहरु माथि कारबाही म्यान्डेड दिएपनि सरकारले कार्यान्वय गर्न नसकेको उनको भनाई छ ।
फागुन २१ गतेको निर्वाचनलाई कुनैपनि बहानामा टार्न नमिल्ने भन्दै उनले प्रतिगमनकारी तत्वले मात्रै निर्वाचन नचाहेको उल्लेख गरे ।
मानवअधिकार तथा शान्ति समाजकी अध्यक्ष रेणुका पौडेलले मुलुकमा भएको परिवर्तनले विभिन्नखाले उपलब्धि प्राप्त भएपनि पुराना राजनीतिकदलहरुले त्यसलाई प्रभावकारी कार्यान्वयन र व्यवहारमा ल्याउन नसक्दा मुलुकमा चरम असंतुष्टि र भ्रष्टाचार बढेको बताईन् ।
जनचाहनाको कदर हुन नसक्दा र भ्रष्टाचार मौलाउँदै जाँदा उत्पन्न आक्रोसको उपजनै जेनजी आन्दोलन भएको उनको कथन छ ।
पुर्व निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा लोककवी अर्जुन पराजुलीले कविताको माध्यमले पुराना राजनीतिकदलहरु माथि चोटिलो प्रहार गरेका गरेका थिए ।
रामरिझन यादवद्वारा सञ्चालित कार्यक्रममा संस्थाका महासचिव प्रकाश शाही, मधेशी आयोगका सदस्य आभासेतु सिंह, प्रेस काउन्सिलका पुर्व सदस्य मुरली प्रसाद यादव, महिला नेतृ रमिला साह लगायतले पनि बोल्दै लोकतन्त्रलाई लयमा फर्काउन घोषित मितिमै प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए ।






