काठमाडौं । एनसेलले नेपालका तीन सहरमा ‘क्रिएटर्स मेला’ आयोजना गर्न नेपालस्थित अमेरिकी दूतावाससँग सहकार्य गरेको छ । निःशुल्क रूपमा सहभागी हुन सकिने यस कार्यक्रममा नेपालमा बढ्दो क्रममा रहेका कन्टेन्ट क्रिएटरहरूलाई व्यावहारिक सिकाइ, व्यावसायिक सम्पर्क तथा सहकार्यका अवसर प्रदान गरिनेछ । यो वर्षको क्रिएटर्स मेला भोलि (माघ ३) चितवनबाट सुरु हुँदैछ । त्यसपछि माघ १० गते नेपालगन्ज र माघ १६ तथा १७ गते काठमाडौँमा कार्यक्रम आयोजना हुनेछ ।
सन् २०२३ देखि क्रिएटर्स मेलाको साझेदारका रूपमा एनसेलले सहयोग गर्दै आएको छ । कार्यक्रमले नेपाली युवाहरूलाई कन्टेन्ट क्रिएसनमार्फत सशक्त बनाउने र डिजिटल नेपालको लक्ष्यमा टेवा पुर्याउने उद्देश्य लिएको छ । ‘भिजन टु भेन्चर’ नारासहित आयोजना हुने यस वर्षको क्रिएटर्स मेला सहभागीहरूका योजनालाई कार्यान्वयनयोग्य सीप र वास्तविक अवसरमा रूपान्तरण गर्न केन्द्रित रहनेछ ।
एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विषाखा लक्ष्मी खड्काले क्रिएटर्स मेलाका लागि अमेरिकी दूतावाससँग निरन्तर सहकार्य गर्न पाउँदा खुसी लागेको बताइन् । उनले भनिन्, “क्रिएटर्स मेलाले उदीयमान तथा स्थापित क्रिएटरहरूलाई डिजिटल कन्टेन्टको युगमा प्रभावशाली सामग्री सिर्जना गर्न आवश्यक सीप तिखार्ने अवसर प्रदान गर्नेछ । यस कार्यक्रमसँगै हामीले भिडियो प्रतिस्पर्धा पनि सञ्चालन गरेका छौँ, जसमा दर्ता भएका सहभागीहरूले आफ्नो सीप प्रदर्शन गरेर पुरस्कार जित्न सक्छन् ।”
विद्यार्थी तथा अझै सिकाइको चरणमा रहेका उदीयमान क्रिएटरलाई लक्षित यस कार्यक्रमले सामग्रीलाई थप परिष्कृत, विश्वसनीय र दिगो बनाउँदै रचनात्मक व्यावसायिक भविष्य निर्माण गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
अमेरिकाको नेपालस्थित दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले क्रिएटर्स मेलाले सिर्जनात्मक क्रियाकलापमार्फत नेपालको अर्थतन्त्र सुदृढ गर्न सहयोग पुर्याउने संयुक्त राज्य अमेरिकाको प्रतिबद्धता झल्काउने बताए । उनले भने, “देशभर ज्ञान, सीप र सञ्जाल विस्तार गरेर हामी उद्यमशीलता र रोजगारी सिर्जनालाई प्रवर्धन गरिरहेका छौँ । नेपाली क्रिएटरहरूलाई उनीहरूको प्रभाव स्थानीय स्तरमै सीमित नराखी अमेरिकी व्यावसायिक साझेदार र विश्व बजारसम्म पहुँच पुर्याउने गरी तयार पार्ने लक्ष्य लिएका छौँ, जसले साझा समृद्धिलाई प्रोत्साहन गर्छ ।”
क्रिएटर्स मेलाकै अवसरमा एनसेलले भिडियो प्रतिस्पर्धा पनि आयोजना गरेको छ । मेलाका सहभागीहरूले इन्स्टाग्राम र टिकटकमा एक मिनेटको भिडियो अपलोड गर्नुपर्नेछ । भिडियो ‘एनसेल फोरजीले तपाईंको जीवन कसरी सजिलो बनाउँछ’ विषयमा आधारित हुनुपर्नेछ ।
प्रतिस्पर्धीहरूले उक्त भिडियोमा एनसेललाई ट्याग गर्दै #CreateGaraPostGara र आफू सहभागी भएको सहरको ह्यासट्याग प्रयोग गर्नुपर्नेछ । प्रत्येक सहरबाट एक–एक जना विजेता छनोट गरिनेछ, जसले नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । साथै विजयी प्रतिस्पर्धीहरूले आगामी दिनमा एनसेल फाउन्डेसनका विभिन्न गतिविधिमा सहभागी हुने अवसर पनि पाउनेछन् ।
सन् २०२३ देखि हालसम्म यस कार्यक्रममा पाँच हजारभन्दा बढी क्रिएटर सहभागी भइसकेका छन् । क्रिएटर्स मेलाले देशका विभिन्न क्षेत्रका क्रिएटरहरूलाई एउटै स्थानमा ल्याई व्यावसायिक रूपमा सक्रिय व्यक्तिहरूबाट सिक्ने, समकक्षीहरूसँग सञ्जाल विस्तार गर्ने र कन्टेन्ट क्रिएसनलाई व्यवसायिक रूपमा अघि बढाउने विषयमा विशेषज्ञहरूसँग अन्तरक्रिया गर्ने अवसर प्रदान गर्नेछ ।
मेलामा स्पटलाइट सत्र, प्यानल छलफल तथा विभिन्न विषयवस्तुमा केन्द्रित गहन विमर्शसमेत हुनेछन् ।







