धनगढी । कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय ‘सिप तथा रोजगार मेला २०८२’ सञ्चालन भएको छ । धनगढी उपमहानगरपालिकाको आयोजनामा सोमबारबाट सो मेला सञ्चालन भएको हो ।
मेलामा ६ सय जनालाई तालिम दिइने
मेलाको संघीय सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले उद्घाटन गरे । मेला धनगढी उपमहानगरपालिका–१ स्थित खुलामञ्चमा सञ्चालन भएको छ ।
माघ ५ गतेबाट सुरु भएको यो मेलामा ३० दिनसम्म सिप विकाससम्बन्धी तालिम सञ्चालन गरिनेछ भने त्यसपछि थप १० दिन रोजगारीमा जान चाहने प्रशिक्षार्थीहरूका लागि रोजगार परामर्श कार्यशाला र आफ्नै व्यवसाय सुरु गर्न इच्छुकहरूका लागि उद्यमशीलता विकास तालिम प्रदान गरिनेछ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले युवायुवतीलाई सीपयुक्त बनाउँदै स्वदेशमै रोजगारी सिर्जना गर्नु सरकारको प्रमुख प्राथमिकता रहेको बताए । सीप विकास र रोजगारबीचको दूरी घटाउन यस्ता मेलाले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उनले स्थानीय तहको सक्रियताले रोजगारी प्रवद्र्धनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

मेलाको उद्देश्य सुदूरपश्चिम प्रदेशका युवायुवतीलाई सीप विकासमार्फत रोजगारी र उद्यमशीलतासँग जोड्नु रहेको छ । मेलाअन्तर्गत ७ वटा मुख्य क्षेत्रका २२ प्रकारका सिपमूलक तालिम सञ्चालन गरिनेछ । प्रत्येक तालिममा २५ जनाका दरले प्रशिक्षार्थी छनोट गरि सहभागी गराईएको छ । मेलामा यस वर्ष कुल ६ सय जनालाई तालिम प्रदान गर्ने लक्ष्य लिइएको छ ।
कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले सुदूरपश्चिमका युवायुवतीलाई सीपसहित आत्मनिर्भर बनाउने उद्देश्यले मेला आयोजना गरिएको बताए । उनका अनुसार यस वर्षको मेलाका लागि प्रदेशभरबाट ३ हजार ८ सय २ जनाले आवेदन दिएका थिए । आवेदनमध्ये सबैभन्दा धेरै एड्भान्स ब्युटिसियन तालिममा परेको नगरप्रमुख हमालले जानकारी दिए । तालिम सम्पन्न भएपछि रोजगारदाता सम्मेलन आयोजना गरी दक्ष जनशक्ति आवश्यक परेका संस्था तथा कम्पनी र प्रशिक्षार्थीहरूबीच प्रत्यक्ष समन्वय गराइने नगरप्रमुख हमालले बताए ।
त्यस्तै, कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला रानाले सबै पालिकाका युवायुवतीलाई समेटिएको बताइन् । गत वर्ष तालिम लिएका करिब ५० प्रतिशत सहभागीले रोजगारी पाएको तथ्यले यस वर्ष थप हौसला मिलेको उनको भनाइ छ । महिला आवेदकको संख्या उल्लेख्य रहेकाले कार्यक्रमले महिलाको आर्थिक सशक्तिकरणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास उनले व्यक्त गरिन् ।
उद्घाटन कार्यक्रममा सुदूरपश्चिमा विभिन्न पालिकाका जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको छ । साथै कार्यक्रममा बाजुराको भुवा नाच, अछामको रनपुतला नाच, राना थारू समुदायको होरी नाच, बैतडीको छलिया नाच, डगौरा थारूको नाच, प्रस्तुत गरिएको थियो ।








