सुर्खेत। निर्माण सुरु भएको करिब सात वर्षपछि कोहलपुर–सुर्खेत १३२ केभी प्रशारणलाइनले पूर्णता पाएको छ । टावर निर्माण, विद्युत् तार तान्ने काम पुरा भएसंगै वीरेन्द्रनगर–११ सुब्बाकुनास्थित सब–स्टेसनमा विद्युत चार्ज गर्ने तयारी थालिएको छ ।
कर्णालीमा उज्यालोको नयाँ युग
कोहलपुरदेखि सुब्बाकुनासम्मको ५२ किलोमिटर दूरीमा पोल तथा तारमा रुखका हाँगा–विंगा छोए नछोएको सुनिश्चित गर्न पेट्रोलिङ कार्यसमेत सुरु गरिएको छ । आयोजनाले अबको एक साताभित्र सुब्बाकुना सवस्टेशनमा विद्युत चार्ज गर्ने लक्ष्य लिएको छ ।
आयोजनाका प्रमुख रविकुमार चौधरीले शुक्रबारदेखि कोहलपुर ग्रिडबाट सुर्खेत सबस्टेशनमा विद्युत लाइन जोडेर परीक्षण प्रशारण सुरु गरिने बताए । उनका अनुसार विस्तारित विद्युत प्रशारण लाइन उद्घाटन गर्नुअघि लाइन छोडेर पटक÷पटक जाँच गरिनेछ । ‘ड्रोनले तार तान्ने क्रममा हर्रे क्षेत्रमा अप्ठ्यारो भूगोल र बाक्लो हुस्सुका कारण काममा केही कठिनाई भोग्नुप¥यो, उनले भने, ‘निकुञ्जको क्षेत्र भएका कारण तार तान्दा थप रुखहरु काट्नुपर्ने र काटेका रुखहरु आयोजनाले नै लिएर लिएर दिनुपर्ने निकुञ्जको नियम भएकाले ड्रोनबाट तार तान्ने निर्णय गरिएको थियो ।’
कोहलपुरदेखि वीरेन्द्रनगरसम्म कुल १६२ वटा टावर निर्माण गरिएको छ । यो प्रशारण लाइन सुर्खेत हुँदै, दैलेख, जुम्ला र कालीकोटसम्म पुग्नेछ । पछिल्लो चरणमा सुर्खेतदेखि दैलेखको चुप्रासम्मको यो प्रशारण लाइनको पनि काम भइरहेको छ । चुप्रामा सबस्टेशन निर्माण र सुर्खेतदेखि चुप्राको बीचमा टावर निर्माणको काम भइरहेको हो ।
२०४५ सालमा बाँकेको कोहलपुरदेखि सुर्खेतको वीरेन्द्रनगरसम्म पहिलोपटक ३३ केभी लाइन विस्तार गरिएको थियो । उक्त लाइन साना सिटी पोलमार्फत जंगलको बीचमा भएकाले पानी पर्दा, हावा चल्दा यो लाइन बारम्बार अवरुद्ध हुने, सुख्खा सिजनमा भोल्टेज लो हुने गरेको थियो । एंगल टावरसहितको १३२ केभी प्रसारण लाइन निर्माण भएपछि सुर्खेत र आसपास यो लाइनबाट वितरण भएको क्षेत्रका विद्युत ग्राहकले उक्त समस्याबाट केही राहत पाउने अपेक्षा गरिएको छ ।
नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा भारतीय निर्माण कम्पनी आरएस इन्फ्रा प्रोजेक्टले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणको जिम्मा पाएको थियो ।
दुई वर्षभित्र काम सक्ने गरी २०७६ असार २२ मा ६५ करोड रुपैयाँ निर्माण कम्पनीसँग सम्झौता भएको थियो । २०७८ असार २३ भित्र सकिनुपर्ने आयोजनाको काम चार बर्ष ढिला भएको हो । राष्ट्रिय निकुञ्ज भित्रका रुख कटानको प्रक्रियामा ढिलाइ, बारम्बार स्थानीयको अवरोध लगायतका कारणले आयोजना लम्बिएको थियो ।
कोहलपुर–सुर्खेत १३२ केभी प्रशारण लाइन विस्तार गर्न १३ हजार रुख काट्नुपरेको थियो । आयोजना बन्ने अधिकांश भूभाग निकुञ्जको परेकाले निकुञ्जको नियमअनुसार प्रक्रिया पूरा गरी रुखहरु काट्न मात्र तीन वर्षभन्दा बढी समय लागेको थियो । बाँकेको वैजनाथ गाउँपालिका–१ गाभर र वडा ४ को बानियाँभार, सुर्खेतको सुब्बाकुनाका स्थानीयबाट जग्गा भोगाधिकारका विषयमा पटक–पटक अवरोध सिर्जना भएको थियो । बानियाँभारका स्थानीयले अदालतमै रिट हालेका थिए । अदालतले आयोजनाको पक्षमा हुने गरि आदेश गरेपछि सबैभन्दा पछि यो क्षेत्रमा तीन वटा टावर निर्माणको काम अघि बढेको थियो ।
यो आयोजना पुरा भएपछि कर्णालीबासी हर्षित बनेका छन् । विशेषगरी उद्योगी व्यवसायी लो भोल्टेजको मारमा थिए । सुर्खेत उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लक्ष्मण कँडेल १३२ केभी प्रशारणलाइनको सफलताले गर्दा कर्णालीको उज्यालोको नयाँ युगमा प्रवेश गरेको बताउँछन् । यो आयोजनाले कर्णालीमा उद्योग व्यवसाय सञ्चालनको ढोका खुलेको व्यवसायीहरुको भनाई छ ।
सम्बन्धित समाचार
सुनचाँदीको मूल्य बढ्यो
एकल विन्दु सेवा केन्द्रको तयारी गर्दै लगानी बोर्ड
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
धनगढीमा सुरु भयो ‘सिप तथा रोजगार मेला २०८२’
एनसेल र भाटभटेनीद्वारा टी-२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर
आज तोलामा १० हजार ४ सय रुपैयाँले बढ्यो सुनको भाउ
सुन तोलाको तीन लाख रुपैयाँ नजिक
एक तोला सुनको मूल्य ३ लाख १ हजारमाथि






