पोखरा । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र आफ्नोबाटै सम्पत्ति छानबिनको सुरुआत हुने बताएका छन् । शुक्रबार पोखरामा आयोजित काँग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
भावी प्रधानमन्त्रीका रुपमा पार्टीले अघि सारिएका २१ फागुनका चुनावका उम्मेदवार थापाले भने, ‘काँग्रेसको सरकारले एउटा शक्तिशाली आयोग गठन गर्छ । त्यो शक्तिशाली आयोगले छयालिस सालपछि प्रधानमन्त्री हुनुभएको शेरबहादुर देउवाको सम्पत्ति, मन्त्री भएको गगन थापाको सम्पत्ति, सबैभन्दा पहिला त्यहाँबाट छानबिन गर्छ ।’
‘आफ्नो बा भए पनि छोड्दैन । एउटा–एउटा कुराको छानबिन गर्छ । एउटा–एउटा काण्डको छानबिन गर्छ । र, भविष्यमा त्यस्तो काण्ड हुन दिन्न । त्यसका लागि संस्था बनाउँछ, कानुन बनाउँछ । शिक्षा, स्वास्थ्य, रोजगारी, कानुन, उद्योगमा प्रत्येक क्षेत्रमा ५ वर्षभित्र क्रान्तिकारी रुपान्तरण ल्याउँछ,’ उनले भने, ‘कसैलाई झुण्ड्याएर होइन, कसैलाई ठोकेर होइन । नियम कानुनभित्र रहेर सकिन्छ । एउटा–एउटा कुराको अध्ययन गरेका छौं ।’
सभापति थापाले देशलाई मुक्ति दिलाउने संकल्प लिएर काँग्रेस आएको दाबी पनि गरे । ‘बदलिएर आएको काँग्रेस हो, नया काँग्रेस हो यो,’ उनले भने, ‘भ्रष्टाचारबाट मुक्ति दिलाउने काँग्रेसले संकल्प गरेर आएको छ ।’
उनले आगामी चुनावले दुई अतिवादलाई प्रशय दिनसक्ने आशंका पनि व्यक्त गरे । यो देशका लागि खतरनाक हुने उनको दाबी छ । गत भदौ २३ अघि सबै ठीकठाक थियो भन्ने र भदौ २४ गते देश जलाउने र जेलबाट भाग्ने दुबै अतिवाद भएको उनको भनाइ थियो ।
उनले गण्डकी प्रदेश मानव विकास सूचकांकमा अघि रहेको उल्लेख गर्दै आज गण्डकीमा पर्यटन क्षेत्रको यति ठूलो आधार बनेर पनि किन गुणात्मक रोजगारी सिर्जना गर्न सकेको छैन भनी प्रश्न गर्ने बेला भएको बताए ।
उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय हवाई उडान हुन नसकेको विषयमा काँग्रेसको सरकारले समस्याको समाधान खोज्ने आश्वासन दिए ।
उनले भने, ‘विश्वास राख्नोस् परिणाम दिन्छौं । प्रत्येक महिना देश र जनतालाई हिसाबकिताब बुझाउँछौं । देश दुर्घटनामा पर्न नदिइकिन यहीभित्र अवसरको सिर्जना गर्छौ ।’
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिनाअनुभव र जानकारी देश दौडाउने कुरा गरिरहेको भनी आरोप पनि लगाए ।
यसैगरी, काँग्रेस उपसभापति विश्वप्रकाश शर्माले नेपाली काँग्रेस यो देशको आसन, शासन र भाषण पनि बदल्न चाहने बताए । उनले जेनजी आन्दोलनपछि परिवर्तनको पक्षमा उभिएको दल काँग्रेस भएको उल्लेख गर्दै विशेष महाधिवेशनबाट युवा नेतृत्व चयन भएको स्मरण गराए । उनले भ्रष्टाचारको विरुद्धमा काँग्रेस कडारुपमा प्रस्तुत हुने कुरा दोहो¥याइए । उनले त्यसका लागि थप कानुन निर्माण गर्ने संकल्प गरे ।
शर्माले सानातिना कुरा बिर्सेर आफ्नो वडामा ‘हामी नै उम्मेदवार हौं’ भनी लाग्न कार्यकर्तालाई आग्रह गरे । भविष्यमा आफ्ना पार्टीका कोही व्यक्ति भ्रष्टाचारमा मुछिएको थाहा पाए साधारण सदस्यबाट निलम्बन गरेर कारबाही गरिने चेतावनी दिए ।
उनले आगामी निर्वाचनपछि मुलुकमा ५ वर्षसम्म स्थिर सरकार कसरी बनाउने भन्ने’bout अन्य राजनीतिक दलका सबैलाई सार्वजनिक बहसमा आउन आग्रह पनि गरे । पार्टी उपसभापति शर्माले भने, ‘नेपाली काँग्रेस निमन्त्रण गर्न चाहन्छ । प्रधानमन्त्रीका सबै उम्मेदवारलाई सँगसँगै खुला बहस गर्न तयार छ ।’

गगनसमक्ष सहकारीपीडितको पत्र
शुक्रबार चितवनको चुनावी सभामा रास्वपा सभापति रवि लामिछानेले काँग्रेस सभापति थापालक्षित गरी ‘प्रमाण छ भनेको आज ६५८ पूरा भएको’ भनी व्यङ्ग्य गर्दा पोखरामा सहकारीपीडितले सभापति थापासमक्ष मागपत्र बुझाएका छन् ।
पोखराको सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका तर्फबाट संयोजक किरण श्रेष्ठले काँग्रेस सभापति थापासमक्ष चारबुँदे मागपत्र बुझाएका हुन् ।
श्रेष्ठले अहिले सरकारमा कोही नभएको महसुस भएको र आफूहरुको बचत रकम फिर्ता नभएको गुनासो गर्दै भावी प्रधानमन्त्रीको रुपमा अघि सारिएका थापालाई यसको निकासका लागि माग गर्दै मागपत्र बुझाइएको बताए । उनले भने, ‘हामी पीडितको माग भनेको कुनै सरकारले दिलाएन भन्ने पीर भन्दा पनि जसले खायो उसैले फिर्ता गर्नुपर्छ भन्ने हो ।’
‘हामीहरुको बचत रकम जीवी राई, छविलाल जोशी, रवि लामिछाने, कुमार रम्तेलसमेतका प्रतिवादीले तिरिदिए त हामीलाई सरकारै चाहिन्न नि,’ उनले अगाडि भने, ‘भोलिका दिनमा सरकारमा जुनसुकै भूमिकामा रहे पनि हामीहरुको बचत रकम फिर्ता गर्ने’bout पहल गरिदिनुहोला भनी अनुरोध गरेका हौं ।’
रास्वपा सभापति लामिछानेविरुद्ध पोखराको सूर्य दर्शन सहकारी ठगी समेतको मुद्दामा कास्की जिल्ला अदालतले गत वर्ष ६५ लाख धरौटीमा रिहाको आदेश दिएको थियो ।






