धनगढी । कैलालीको धनगढीमा ३२ विघा जग्गामा अत्याधुनिक प्रविधिसहितको एकीकृत फोहोर व्यवस्थापन केन्द्र निर्माण गरिएको छ । करिब १ अर्ब ८ करोड २७ लाख रुपैयाँ लागतमा निर्माण गरिएको उक्त केन्द्र धनगढी उपमहानगरपालिका वडा नम्बर ७ स्थित पटेला जंगलमा रहेको छ ।
एसियाली विकास बैंक (एडीबी) को ऋण अनुदान सहयोगमा सञ्चालित क्षेत्रीय सहरी विकास कार्यक्रमअन्तर्गत संघीय सहरी विकास तथा भवन कार्यालय, कैलालीले केन्द्र निर्माण गरेको हो ।
संघीय सहरी विकास तथा भवन कार्यालय कार्यालय कैलालीका इञ्जिनियर शौरभ कलौनीका अनुसार केन्द्रमा जोड्ने सडकमा रंग लगाउने लगायतका केही फिनिसिङ काम मात्र बाँकी रहेको छ । फोहोर संकलनका लागि प्रयोग हुने गाडी परिवर्तन गर्न धनगढी उपमहानगरपालिकाले अनुरोध गरिसकेको र सो प्रक्रिया समेत अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । सबै काम सम्पन्न भएपछि केन्द्र एक महिनाभित्र सञ्चालनमा आउने तयारी छ ।
२०७९ पुस १४ गते नै निर्माणका लागि चिनियाँ प्रोभेन्स जियोलोजिकल इन्जिनियरिङ कम्प्लेक्स कम्पनी लिमिटेडसंग सम्झौता भएको थियो । तर निर्माणस्थल निर्धारण र रुख कटान आदेश लिन समय लागेको हुँदा दुई वर्ष ढिला निर्माण सुरु भएको थियो । जसले गर्दा ११ करोड ४४ लाख ८५ हजार ६४० रुपैयाँ लागत बढेको छ । निर्माण सुरु हुन ढिलाई र जमिन फिलिङ लगायतका काम बढेको हुँदा लागत भेरियसन भएको इञ्जिनियर कलौनीले बताए ।
निर्माण कम्पनीसँग भएको सम्झौताअनुसार पहिलो तीन वर्षसम्म कम्पनीले नै केन्द्र सञ्चालन गर्नेछ भने त्यसपछि व्यवस्थापन जिम्मा धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गरिनेछ । निर्माण कम्पनीका इन्जिनियर गोविन्दकुमार मण्डलले निर्माण सम्पन्न भएपछि जति सक्दो छिटो सञ्चालन गरिने बताए । उनले केन्द्र सञ्चालनसंगै हलियाली प्रवद्र्धनको काम समेत गरिने बताए ।
३२ विघा क्षेत्रफलमा फैलिएको यस केन्द्रले दैनिक करिब ६० टन फोहोर व्यवस्थापन गर्न सक्ने क्षमता राख्दछ, जसले आगामी ३० वर्षसम्मको फोहोर व्यवस्थापनमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ । केन्द्रमा फोहोरको वर्गीकरण गरी कुहिने फोहोरबाट जैविक मल उत्पादन, प्लास्टिकजन्य फोहोरको पुनः प्रयोग तथा पुनः प्रयोग गर्न नसकिने फोहोरको सुरक्षित व्यवस्थापन गरिनेछ ।
हाल धनगढीमा संकलित फोहोरमध्ये केही भाग पुनः प्रयोग र कम्पोष्ट मल तथा प्राकृतिक ग्यास उत्पादनका लागि प्रयोग हुँदै आएको छ भने बाँकी फोहोर अब उक्त केन्द्रमार्फत व्यवस्थापन गरिनेछ ।
धनगढी उपमहानगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इञ्जिनियर दिजराज भट्टले दैनिक १३ दशमलव ६६ टन फोहरमैला खपत हुने गरी आयोजना निर्माण भइसकेको बताए । उनले यस परियोजनाले धनगढीको सरसफाइ, वातावरण संरक्षण तथा दिगो शहरी व्यवस्थापनमा महत्वपूर्ण योगदान पु¥याउने बताए ।
सम्बन्धित समाचार
शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो
धनगढीमा ‘बुक फ्रि फ्राइडे’ प्रभावकारी : विद्यार्थी पढाई सँगै सीप सिक्दै
धनगढी उपमहानगरद्वारा २५ उत्कृष्ट विद्यालयलाई ब्यान्ड बाजासहित सम्मान
फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या
मलामी गएका शुक्लाफाँटाका एक व्यक्ति महाकालीमा बेपत्ता
बिदाका दिन पनि अत्यावश्यक सार्वजनिक सेवा प्रवाह हुने
विषादीरहित तरकारी उत्पादनमा किसान
एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…






