सुन्दरहरैंचा (मोरङ) । मोरङको हसिना सिमसार यतिबेला शिरिषका फूलले ढकमक्क ढाकिएको छ। बैजनी र गुलाबी रङले सजिएको सिमसार क्षेत्रको मनमोहक दृश्यले आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण उल्लेखनीय रूपमा बढाएको छ। प्रकृतिप्रेमी, घुमफिरका सौखिन तथा फोटोग्राफीमा रुचि राख्नेहरूका लागि हसिना सिमसार अहिले प्रमुख गन्तव्य बनेको छ।
पर्यटकको बढ्दो आकर्षणसँगै फेरिँदै सिमसारको रूप
सिमसार क्षेत्रमा शिरिषका फूल फुलेसँगै यहाँको प्राकृतिक सौन्दर्य झन् आकर्षक बनेको छ। हसिना सिमसार व्यवस्थापन समितिका अध्यक्ष घनश्याम न्यौपानेका अनुसार शिरिष फुल्ने मौसममा यहाँ आउने पर्यटकको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ।
उहाँका अनुसार शिरिषका फूलले सिमसार क्षेत्रलाई अझ रमणीय बनाएको छ। यही सौन्दर्यलाई क्यामेरा र मोबाइलमा कैद गर्न तथा शीतल वातावरणमा रमाउन दैनिक सयौँको सङ्ख्यामा पर्यटकहरू यहाँ पुग्ने गरेका छन्। विशेषगरी बिदाका दिनहरूमा सुनसरी, झापा, धनकुटालगायतका जिल्लाबाट मात्र होइन, सीमावर्ती भारतीय क्षेत्रबाट समेत पर्यटकहरू आउने गरेका छन्।
करिब ५० हेक्टर क्षेत्रफलमा फैलिएको हसिना सिमसार जैविक विविधताले भरिपूर्ण प्राकृतिक सम्पदा हो। यहाँको मुख्य विशेषता भनेको बाह्रैमहिना निरन्तर बगिरहने जरुवा पानीको स्रोत हो। खडेरीको समयमा समेत पानीको मुहान नसुक्ने भएकाले सिमसार क्षेत्रको हरियाली र शीतलता वर्षभर कायम रहने गरेको छ।
हसिना सिमसार केवल वनभोज र दृश्यावलोकनका लागि मात्र सीमित छैन। यहाँ धार्मिक पर्यटन, जैविक विविधताको संरक्षण, अध्ययन–अनुसन्धान तथा पर्या–पर्यटनका विविध सम्भावनाहरू रहेका छन्। सिमसार परिसरमा विभिन्न देवीदेवताका मन्दिरहरू रहेका छन् भने दुर्लभ वनस्पति, जीवजन्तु तथा विभिन्न प्रजातिका चराचुरुङ्गीहरूको सुरक्षित बासस्थान पनि यही क्षेत्र हो।
वनस्पतिशास्त्र, प्राणीशास्त्र तथा वातावरण विज्ञानका विद्यार्थी र अनुसन्धानकर्ताहरूका लागि यो क्षेत्र अध्ययनको महत्त्वपूर्ण केन्द्र बन्दै गएको छ। साथै वनभोजका लागि व्यवस्थित स्थान, बोटिङ सुविधा तथा आकर्षक फोटो स्पटहरूले पर्यटकलाई थप आकर्षित गरिरहेका छन्।
स्थानीयवासी तथा सरोकारवालाहरूले हसिना सिमसारको थप विकास, संरक्षण र प्रवर्द्धनमा जोड दिएका छन्। आवश्यक पूर्वाधार निर्माण र प्रभावकारी प्रचार–प्रसार गर्न सके हसिना सिमसार कोशी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने विश्वास गरिएको छ। शिरिषका फूलले दिएको अनुपम सौन्दर्य र प्राकृतिक जरुवा पानीको स्रोतलाई संरक्षण गर्दै अघि बढ्न सके आगामी दिनमा यहाँ आउने पर्यटकको सङ्ख्या अझै वृद्धि हुने अपेक्षा गरिएको छ।
सम्बन्धित समाचार
कोशीमा गाँजा ओसारपसारको नयाँ शैली : एम्बुलेन्स नै बन्यो लागूऔषध बोक्ने साधन
कंगोमा इबोलाबाट दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य संगठनद्वारा आपतकाल घोषणा
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु
देशकै पहिलो ‘योग नगर’ घोषणा हुँदै चाँगुनारायण
सडक किनारका ५१ व्यावसायिक सटरमा डोजर
विद्यालयको नाममा रहेको जमिनमा बस्ती विस्तार
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन





