काठमाडौं । प्रधानमन्त्रीलाई संसद्मा उभ्याएर उनका कुरा सुन्ने विपक्षी दलहरुको माग अबको एक हप्ताभित्रमा पुरा हुने भएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा विपक्षी दलहरूका सांसदहरूले सधैँ झैँ विरोध गरेपछि सभामुख डोलप्रसाद अर्याल (डीपी अर्याल) एवं सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री तथा मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले संसद्मा प्रधानमन्त्री आउने जानकारी गराएका थिए ।
विपक्षी दलहरूले संसद्को बजेट अधिवेशन सुरु भएको दिन (२८ वैशाख)देखि निरन्तर रूपमा संसद्मा प्रधानमन्त्रीलाई उभ्याएर उनको बोली सुन्न चाहेका छन् ।
विपक्षी दलका सांसदले निरन्तर प्रश्न उठाएपछि सभामुख अर्यालले प्रधानमन्त्री शाह छिट्टै सदनमा आउने तयारीमा रहेको जानकारी बैठकमा गराएका थिए । सभाको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीको खोजी गर्दै विरोध गरेपछि सभामुख अर्यालले आफूले गरेको अनौपचारिक संवादका क्रममा प्रधानमन्त्री शाह सदनमा आउने तयारीमा रहेकाले अवरोध नगर्न आग्रह गरे ।
उनले सरकारका तर्फबाट औपचारिक पत्र प्राप्त भएपछि प्रधानमन्त्री शाह आउने मिति समेत तय गर्ने बताए । सभामुख अर्यालले कानुन निर्माणका प्रक्रियामा धेरै काम बाँकी रहेकाले सदनमा अवरोध नगर्न विपक्षी दलका सांसदलाई आग्रह गरे ।
बैठकमा सत्तारुढ दल रास्वपाका मुख्य सचेतक बुर्लाकोटीले एक साताभित्र प्रधानमन्त्री शाह सदनमा आउने जानकारीसहित अवरोध नगर्न अनुरोध गरे । संसद्मा जारी गतिरोधबीच पहिलो बैठक स्थगित भएपछि दलहरूसँग संवाद भएको र त्यस क्रममा आफूले प्रधानमन्त्रीको सचिवालयसँग समेत प्रत्यक्ष कुराकानी गरेको बुर्लाकोटीले संसद्लाई अवगत गराए ।
प्रधानमन्त्री संसद्मा आउने सुनिश्चितता भइसकेकाले विपक्षी दलहरूलाई संसद्को अवरोध हटाई बैठक सहज रूपमा सञ्चालन गर्न सघाउनसमेत उनले आग्रह गरे । ‘ब्रेकको समयमा हामीले केही छलफल गर्यौ । विशेष गरी संसद्मा रहेका सबै दलका प्रमुख सचेतक, सचेतक बसेर छलफल गर्यौ । यो बीचमा मैले प्रधानमन्त्रीज्यूको सचिवालयमा पनि कुराकानी गरेँ । संसद्मा वादविवादभन्दा पनि सैद्धान्तिक छलफलबाटै निकास निकाल्ने पर्ने र परिणाम दिनुपर्ने हो भन्ने हामी अवगत नै छ । सम्माननीय प्रधानमन्त्रीज्यू संसद्मा आउनुहुन्छ । सम्भव त एक हप्ताभित्रै संसद्मा आउने कुरा म सदनलाई जानकारी गराउन चाहन्छु,’ बुर्लाकोटीले भने ।
यसअघि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विपक्षी दलहरूबिच सदनको कारबाही सुचारु गराउने सहमति भएको थियो । त्यसपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलका उपनेता पद्यमा अर्यालले सभामुखले कार्य व्यवस्था परामर्श समितिमा भएको समझदारीअनुसार बैठकमा सत्तापक्षको प्रस्तुति नआएको उल्लेख गर्दै सदन सरकारको प्रशंसा गर्ने थलो मात्रै बन्न नसक्ने जिकिर गरिन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद प्रमेश हमालले प्रधानमन्त्री संसद्मा उपस्थित हुने सम्बन्धमा सत्ता पक्षका मुख्य सचेतकले राखेको विषयमा सभामुखबाट रुलिङको माग गरेका थिए ।
नेकपाका प्रमुख सचेतक युवराज दुलालले संसद्को अवरोध कायमै राख्ने बताए । सत्ताधारी रास्वपाले प्रधानमन्त्री शाहले संसद्मा सम्बोधन गर्ने मिति तोक्ने सहमति भंग गरेको भन्दै दुलालले अवरोध कायमै राख्ने बताएका हुन् । बैठकमा रास्वपाका मुख्य सचेतक बुर्लाकोटीले यही हप्ता प्रधानमन्त्री शाहले संसद्मा सम्बोधन गर्ने बताए पनि उनले मिति भने तोकेका थिएनन् ।
‘प्रमुख सचेतकहरूबीच भएको सहमति रास्वपाले तोड्यो । भित्र भएको सहमति बाहिर आउँदा भत्कियो । रास्वपा उच्च नेतृत्वबाटै संसद्मा प्रधानमन्त्रीको सम्बोधनको मिति’bout नबोल्न कविन्द्र बुर्लाकोटीलाई निर्देशन भएछ । संसद् अवरोध जारी रहन्छ,’ दुलालले भने ।
यसै गरी श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रधानमन्त्री शाह कलाकार भएका कारण संसद्मा आउन भाउ खोजेको पो हो कि भन्दै कटाक्ष गरे । उनले बरु पैसा तिरौँ तर प्रधानमन्त्रीलाई संसद्मा बोलाऔँ भन्दै कटाक्ष गरे । ‘बालेन कलाकार भएको हुनाले पैसा खोजेर संसद्मा नआएको पो हो कि ? बरु कति पैसा पर्छ तिर्छौँ । तर बालेनलाई बोलाऔँ न संसद्मा,’ राईले भने ।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाह उपस्थित भएर जवाफ दिनुपर्छ भन्दै विपक्षी दलहरूले बैठक अवरोध गर्दै आएका छन् । प्रधानमन्त्री संसद्मा उपस्थित नभए उनले तोकेका मन्त्रीले जवाफ दिन सक्ने भए पनि विपक्षी दलका सांसदहरूले निरन्तर प्रतिनिधिसभा नियमावलीको उल्लंघन गर्दै आएको समेत सत्तारुढ दलका नेताहरू जनाएका छन् ।
नियमावलीको नियम ५६ उल्लंघन
सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली कार्यान्वयन नगरेको भन्दै विपक्षी दलहरूले आलोचना गरेका छन् । प्रतिनिधिसभा नियमावलीमा भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमसम्बन्धीको व्यवस्था कार्यान्वयन गर्न सभामुख अर्याल नै नचाहेको आरोप विपक्षी दलका सांसदको रहेको छ ।
विपक्षी दलका सांसदहरूले नियमावलीमा भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यान्वयन’boutमा प्रश्न उठाउँदा समेत सभामुख अर्यालले त्यसलाई छल्दै अगाडी बढेका छन् । प्रतिपक्षी दलका सांसदहरूले उठाएको प्रश्नमा ध्यानाकर्षण भएको भन्दै सभामुख अर्याल विरोधका बीच पनि सभालाई अगाडी बढाएका छन् । यस’boutमा गत बिहीबारको बैठकमा समेत सांसदहरूले प्रश्न उठाएका थिए ।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा हरेक महिनाको पहिलो साता कुनै एक दिन प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने व्यवस्था छ । त्यो दिन प्रश्नोत्तर हुन नसके सभामुखले अर्को मिति तोक्न सक्ने उल्लेख गरिएको छ । नियमावली अनुसार प्रश्नोत्तरको समय सभामुखले निर्धारण गर्नुपर्ने हो । तर १२ जेठमा प्रतिनिधिसभाको बैठक चल्दै गर्दा सभामुख अर्यालले प्रधानमन्त्री शाहसँग प्रश्नोत्तरका लागि समय निर्धारण गर्न सकेका छैनन् ।
गत २८ वैशाखमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गर्दागर्दै संसद् बैठक छाडेर हिँडेका प्रधानमन्त्री शाहको विपक्षी दलले खोजिगर्दै निरन्तर विरोध गर्दै आएका छन् । प्रतिपक्षीहरूको लगातार विरोध र बहिष्कारका बाबजुद संसद्मा उपस्थित नभएका प्रधानमन्त्री शाहलाई यो नियम अनुसार संसद्मा प्रश्नहरू सामना गर्न उपस्थित गराउनुपर्ने भन्दै प्रतिपक्षी सांसदहरूले नाराबाजी समेत गर्दै आएका छन् ।
नियम अनुसार सभामुखले प्रधानमन्त्रीसँग प्रश्नोत्तरको समय निर्धारण गरेपछि सांसदहरूले प्रश्न दर्ता गराउन पाउँछन् । यसरी दर्ता गरिएका प्रश्न कार्य व्यवस्था शाखाले प्रधानमन्त्रीलाई पठाउँछ । त्यसपछि प्रधानमन्त्रीले तयारी गरेर जबाफ दिन पाउँछन् ।
नेकपाका प्रमुख सचेतक दुलालले संविधान र नियमावली अनदेखा नगर्न सभामुखलाई आग्रह गरेका छन् । ‘सभामुखले पहिलो साता समय निर्धारण गर्न नसके कुन दिन गर्ने भन्ने उल्लेख गर्नुपर्छ,’ दुलालले भने, ‘संविधान र नियमहरू मिचिँदै गर्दा कसरी अनदेखा गर्न सकिन्छ ? सरकारलाई जे जे सजिलो हुन्छ, त्यो नियमावली लागू गर्ने, जे जे नियमले छेक्छ त्यो लागू नगर्ने हो ?’
जब मर्यादापालकले सांसदलाई निकाले…
कांग्रेस सांसद गीताकुमारी सेन्दाङलाई प्रतिनिधिसभाको बैठक चलिरहेको बेलामा फोटो भिडियो खिचेको भन्दै मर्यादापालकले बाहिर निकालेको थियो । सो विषयमा कांग्रेसले विरोध गरेको छ । यो विषयमा कांग्रेसका सचेतक निष्कल राईले सह्य नहुने भन्दै चेतावनी समेत दिएका छन् ।
कांग्रेसको चेतावनीपछि यस विषयमा सभामुख अर्यालले ध्यानाकर्षण भएको बताए । उनले सांसद सेन्दाङलाई बैठक कक्षबाट बाहिर निकालिएको नभएर फोटो भिडियो कैद भए नभएको जाँच गर्न निकालिएको प्रस्टीकरण दिए ।
‘सभामुखतर्फ स्पष्टसँग देखिने गरी आफ्नो मोबाइलबाट भिडियो र फोटो खिच्ने प्रयास गर्नुभयो । यो यहाँहरूले बुझ्नुभएको नियमावलीको विपरीत थियो । सभा सञ्चालनको मर्यादाभन्दा विपरीत थियो । आफ्नो ड्यासबाट फोटो भिडियो खिचिएको छ या छैन, त्यो जाँच गर्नका लागि मैले निर्देशन दिएको हो । उहाँलाई बाहिर निकालिएको छैन । विषयलाई तोडमोड नगर्न ध्यानाकर्षण गराउँछु,’ सभामुख अर्यालले भने ।
सांसदलाई बैठक कक्षबाट बाहिर निकाल्नुपरेमा सभामुखको आदेश हुनुपर्छ । तर, सांसद सेन्दाङलाई भने मर्यादापालकले सभामुखको आदेशबिनै बाहिर निकाले । उनलाई बाहिर निकाल्नुको कारण भने बैठकमा फोटो तथा भिडियो खिच्नुसँग सम्बन्धित छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्रीको खोजीः दिनभर सदनमा साँझ सडकमा
रास्वपा महाधिवेशनः २ महिना अघि नै निर्विकल्प रवि
विद्याकै नेतृत्वमा कम्युनिष्ट पार्टीलाई एकीकृत गर्ने गृहकार्य सुरु
लामिछानेविरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरलाई फिर्ता गर्ने आदेश
पोखरामा काँग्रेस सभापति थापाइतरको भेला
सारथिले छाडेपछि एमालेमा एक्लिदै छन् ओली
सातवटै प्रदेश सरकार फेरबदलको कसरत
नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री






