काठमाडौं महानगरपालिकाले कामसँगै राहत वितरणको कार्यक्रम अघि सारेको छ । जनताले राहतभन्दा पनि कामको माग गरिरहेका बेला महानगरपालिकाको यो कदम आफैंमा रचनात्मक त छँदै छ । साथै, श्रमिकका लागि श्रमरोजगारको व्यवस्थापन पनि हुने भएको छ । राहतले एक दिन वा केही दिन मात्र हातमुख जोड्ने समस्या समाधानमा सहयोग पु¥याउँथ्यो । तर, अस्थायी भए पनि श्रमरोजगारले मानिसलाई अर्थोपार्जनका लागि नयाँ सोच र ढोका खुलेको अनुभूत गराएको छ । महानगरमा हुने दैनिक सरसफाइका काम, फुटपाथ व्यवस्थापन, सडक किनाराको सरसफाइ, सम्पदा निर्माण र संरक्षण, बागबगैंचा निर्माण र सुरक्षा, ढल निकासको सरसफाइ र तिनको व्यवस्थाकीय काम, निर्माण सामग्रीको ओसारपसार तथा सहर सौन्दर्यका लागि कामहरू सिर्जना गरेर महानगरपालिकाले ज्याला तथा राहत उपलब्ध गराउने कार्यक्रम बनाएको छ । यसले श्रमिकहरूमाझ बोझ बनेर थपिइरहेको अनिश्चितकालीन मनोवैज्ञानिक दबाब हल्का भई मानसिक रूपमा पनि स्वस्थ र आशावादी हुने अवस्था सिर्जना गरेको छ । व्यावहारिक रूपमा अनिश्चितताको संकेतसहित लम्बिइरहेको लकडाउन पनि भिन्न र व्यावहारिक रूपमा खुल्दै जाने आशाको क्षितिज उघार्न थालेको छ ।
महानगरपालिकामा मात्र नभएर यसले देशैभर अब सामाजिक व्यवस्था सरल र सहज हुने मनोविज्ञान निर्माणमा पनि सहयोग पु¥याएको छ । यसरी राहत दिँदा दुरुपयोग हुनेक्रम पनि धेरै हदसम्म नियन्त्रण हुन सक्छ ।
कोरोना महामारीको संक्रमण बढ्दै जाँदा मानिसमा सिर्जना हुन गएको अत्यास लाग्दो सोच महानगरपालिकाको यी कार्यक्रमले क्रमशः कम गर्दै लैजाने वातावरण बन्दै जाने देखिन्छ । यसले निरन्तरतामा अघि बढिरहेको सहरी साथै ग्रामीण जनजीवनमा महामारीका कारण उत्पन्न गत्यावरोधलाई हल्का, अस्थायी तथा आशावादी धक्का दिएको छ । मानिसहरू नियमित क्रियाकलापमा फर्कन चाहिरहेका छन् । घरव्यवहार, सामाजिक तिरोभरो तथा दैनिक भैपरी आउने समस्या समाधानका लागि पनि मानिस छटपटाइरहेका छन् । देश ठप्प छ । रोजगारीका उपाय खुलेका छैनन् । तर, राज्यप्रतिको मानिसको दैनिक, मासिक र वार्षिक जवाफदेहितामा भने माफी वा कटौती भएको छैन । केही महिना ढिलाइ हुन सक्ला तर जनताले राज्य, बैंक, सहकारी, साहु, महाजनलाई दिनुपर्ने आर्थिक कर वा ब्याज तिर्नु नै छ । झन्पछि झन् थपिएर आउने यो बोझबाट जनता बढी भयभित देखिन्छन् । त्यसैले, जनतालाई अस्थायी भए पनि सहज आर्थोपार्जनका क्रियाकलापतिर उन्मुख गराउनु अति जरुरी नै छ ।
यसका लागि सरकारले बेरोजगार, श्रमिक, गरिब तथा निम्न आय भएका वर्ग र समुदायलाई लक्षित गरी अस्थायी रोजगारका क्रियाकलाप सिर्जना गर्नु जरुरी छ । काठमाडौं महानगरपालिकाको सोचलाई थप परिमार्जन, समृद्ध र जनमुखी बनाउँदै देशव्यापी अभियानका रूपमा यस्ता कार्यक्रम लगेमा यो महामारीका बखत सिर्जित आर्थिक समस्या समाधानको आधारभूत उपाय हुन सक्नेछ । देश पछिल्लो चरणमा परनिर्भर हुँदै गएपछि जीविकोपार्जनमुखी उत्पादन प्रणालीमा पनि निकै फेरबदल आएको छ । देशभित्रका उत्पादनका साधन जस्तै ः जमिन, गोरु, हलो, कुटो, कोदालो, श्रमिक आदि निकम्मा रहने र आयातित उपभोग्य वस्तुमा निर्भर रहने बानी बसाएको छ । सरकारले अघि सारेको भूमि बैंकसँगै अन्य रचनात्मक कार्य पनि यसैबखत जनताका बीचमा लैजानुपर्छ । स्थानीय, प्रादेशिक तथा संघीय सरकारले आआफ्ना रचनात्मकतामा तत्काल अस्थायी र दीर्घकालीन रूपमा स्थायी रोजगारी सिर्जना गर्न एकअर्कामा हातेमालो गर्दै अघि बढ्नुपर्छ । महामारी दैनिक क्रियाकलापलाई अबरुद्ध गर्दै जटिल समस्या बनेर आएकाले तीनै तहमा रहेका सरकारले यसलाई कार्यनीतिक रूपमै परास्त गर्न दैनिक आर्थिक क्रियाकलाप’bout सोच्न जरुरी भएको छ ।