रविलाई नयाँ दिल्लीको ‘न्यायो आथित्यता’

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधवार नयाँ दिल्लीमा भेटवार्ता भएको छ । नयाँ दिल्ली स्थित हैदरबाद हाउसमा सामूहिक र ‘वान टु वान’ भेटवार्ता भएको छ ।

भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा पाँचदिने भारत भ्रमणमा रहेका रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री मोदीसँग करिब एक घण्टा लामो भेटवार्ता गरेका छन् ।

भेटवार्तामा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ र नयाँ उचाइमा पु¥याउने विषयमा विचार आदानप्रदान भएको छ । यस्तै विकास कूटनीति, साझा सभ्यतागत सम्बन्ध, डिजिटल करिडोर, र सहज सम्पर्क विस्तार (कनेक्टिभिटी) मार्फत दुई देशबिचको सहकार्यलाई अघि बढाउने विषयमा समेत छलफल भएको छ ।

रास्वपा र भाजपा बीचको सम्बन्ध एवं आपसी हितका विभिन्न विषयमा कुराकानी भएको छ । दुई नेताकाबीचमा भएको भेटवार्तामा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश मन्त्री डा. एस जयशंकर, र विदेश सचिव विक्रम मिस्री सहभागी थिए ।

यसै गरी नेपाली पक्षबाट रास्वपा सभापति लामिछानेका साथै उनकी धर्मपत्नी नीकिता पौडेल, रास्वपा सहमहामन्त्री एवं सांसद विपीन आचार्य, रास्वपा विदेश विभाग प्रमुख एवं सांसद दीपक बोहरा, नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका उच्च अधिकारीहरूको विशेष सहभागिता थियो ।

भेटपछि सामाजिक सञ्जालमा खुसी व्यक्त गर्दै भारतीय प्रधानमन्त्री मोदीले साझा समृद्धि र उज्ज्वल भविष्यका लागि सँगै काम गर्ने रास्वपा सभापति लामिछानेको चाहनालाई पूर्ण समर्थन गर्ने जनाएका छन् ।

भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल प्राथमिक साझेदार रहेको उल्लेख गर्दै मोदीले नेपालको नयाँ सरकारसँग बहु आयामिक सम्बन्धलाई अझ उचाइमा पु¥याउन उत्सुक रहेको जनाएका छन् ।

लामिछानेसँगको भेटवार्तापछि प्रसन्नता व्यक्त गर्दै मोदीले सामाजिक सञ्जाल एक्समा छिमेकी पहिलो नीति अन्तरगत नेपाल भारतको प्राथमिकताप्राप्त साझा राष्ट्र भएको बताएका छन् ।

‘नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेसँग भेट्न पाउँदा अत्यन्त खुसी लागेको छ । साझा र समृद्ध भविष्यका लागि मिलेर नजिकबाट काम गर्ने उहाँको इच्छालाई म हार्दिक स्वागत गर्दछु र पूर्ण रूपमा समर्थन गर्दछु । हाम्रो ‘नेबरहुड फस्र्ट’ (छिमेकी पहिलो) नीतिअन्तर्गत नेपाल एक प्राथमिकताप्राप्त साझेदार राष्ट्र हो । नयाँ सरकारसँग सहकार्य गर्दै दुई देशबिचको विशेष तथा बहु आयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पु¥याउने अपेक्षा र प्रतिबद्धता राखेका छौँ,’ मोदीले भनेका छन् ।

रास्वपा सभापति लामिछाने नेपाल र भारतबीच विगतका अप्ठ्याराहरूलाई नाघेर नयाँ विकास कूटनीतिको युगलाई अगाडि बढाउने विषयमा गहन छलफल भएको बताएका छन् । भारतीय प्रधानमन्त्री मोदीसँगको भेटपछि सामाजिक सञ्जाल एक्समा लामिछानेले भारतीय प्रधानमन्त्री मोदीसँग झन्डै एक घण्टा लामो फलदायी संवाद भएको उल्लेख गरेका छन् ।

भेटका क्रममा नेपाल र भारतबीच विगतका अप्ठ्याराहरूलाई नाघेर नयाँ विकास कूटनीतिको युगलाई अगाडि बढाउने र साझा हितका क्षेत्रमा सहकार्य गर्ने विषयमा गहन छलफल भएको लामिछानेले जनाएका छन् ।

‘हामीले साझा सभ्यतागत सम्बन्ध, डिजिटल कोरिडोर र सहज कनेक्टिभिटीमा केन्द्रित भएर मात्र प्रगति र आपसी विश्वासले परिभाषित गर्ने साझेदारीको वास्तविक निर्माण गर्न सक्छौँ । राष्ट्रिय स्वतन्त्र पार्टी र भारतका जनताका लागि हाम्रो साझा समृद्धिका लाग यी सम्भावनाहरूलाई यथार्थमा रूपान्तरण गर्न तत्पर छ,’ लामिछानेले लेखेका छन् ।

पाँच दिने भारत भ्रमणमा रहेका रास्वपा सभापति लामिछानेले यसअघि गृहमन्त्री एवं भाजपा पूर्व अध्यक्ष अमित शाह, विदेश मन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, भाजपा अध्यक्ष नितिन नवीन लगायतकासंग छुटाछुटै भेटवार्ता गरिसकेका छन् ।

भारतको राष्ट्रिय राजनीतिमा भाजपाको राष्ट्रिय महासचिव देखि राष्ट्रिय अध्यक्ष र पछिल्लो सात वर्ष देखि गृहमन्त्री हुँदा समेत अमित शाहले अहिले सम्म कुनै पनि विदेशी नेता, कुनै विदेशी दलका अध्यक्षलाई भेटेका थिएनन् ।

उनी आजसम्म कहिल्यै पनि पार्टी अध्यक्ष वा गृहमन्त्रीको रूपमा विदेश यात्रा पनि गरेका छैनन् । सबैभन्दा आश्चर्य त के हो भने उनले अहिले सम्म आफ्नो नामबाट पासपोर्ट समेत बनाएका छैनन् । तर यो पहिलो पटक हो जब अमित शाहले नेपालका सत्तारुढ दल रास्वपा सभापति लामिछानेसंग भेट गरेका हुन् ।

शाहले नेपाल र नेपाली जनता प्रति उनको मनमा रहेको आत्मीयताको कारण नै यो सम्भव भएको टिप्पणी भइरहेको छ । सभापति लामिछानेको भारत भ्रमणलाई भाजपा र भारत सरकारले दिएको उच्च सम्मानको चर्चा समेत भइरहेको छ ।

रास्वपा सभापति लामिछाने अयोध्या पुगेर राम मन्दिरमा दर्शन गर्ने कार्यक्रम समेत रहेको छ । पाँच दिने भ्रमण सकेर लामिछाने २२ जेठमा नेपाल फर्किनेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 19 times, 1 visits today)

epaper

ताजा समाचार

परराष्ट्रमन्त्री खनाल शनिबार भारत भ्रमणमा जाँदै