काठमाडौं । सशस्त्र प्रहरीले राजस्व भन्सार छलीको आशंकामा नियन्त्रणमा लिएको बीवाईडीका ७७९ वटा विद्युतीय सवारी साधनका सम्बन्धमा विस्तृत छानबिन गर्न समिति गठन भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधि सम्मिलित संयुक्त छानबिन समिति गठन गरिएको हो ।
प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकार सुशासन र राजस्व रक्षाका मामिलामा सचेत रहेकाले तत्कालै समिति गठन गरी कानुनी प्रक्रिया अघि बढाइएको हो । समितिले सवारी साधन नियन्त्रणमा लिइएकै स्थलगत रूपमै पुगेर दु्रत गतिमा छानबिन सुरु गरिसकेको उनले जानकारी दिइन् ।
‘सवारी साधन धेरै भएकाले राजस्व र भन्सार सम्बद्ध सबै कानुनी कागजातको सूक्ष्म अध्ययन र प्रमाणीकरण गर्न केही समय लाग्न सक्छ, छानबिन नसकिँदासम्म यस विषयमा थप भन्न सकिन्न,’ दाहालले भनिन् ।
सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाका अनुसार राजस्व छली भएको सूचनाका आधारमा मुस्ताङको कोरला नाकाबाट भित्रिएका ७७५, नुवाकोटको पासाङल्हामु सडक खण्डबाट २ र धादिङको आदमघाटबाट २ गरी ७ सय ७९ वटा विद्युतीय सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
यी सवारी साधन बजेट भाषणभन्दा अघि नै करको दर हेरफेर हुने सूचना चुहिएपछि हतार हतार जाँचपास गरेर नेपाल छिराइएको आशंकामा छानबिन सुरु भएको हो । समितिले यस विषयमा सूक्ष्म अध्ययन गर्ने सरकारी अधिकारीहरूले बताएका छन् ।
प्रेस विज्ञ दाहालका अनुसार भन्सार जाँचपास भई बाहिरिइसकेका सवारीसाधन भए तापनि राज्यको राजस्व सुरक्षाका लागि प्राप्त विशेष सूचनाका आधारमा पुनः ‘क्रस–चेक’ गर्न ती गाडी नियन्त्रणमा लिइएको र अनुसन्धानका लागि समिति बनाइएको हो ।
समिति बनेलगत्तै सरकारले विद्युतीय गाडी बीवाईडीको भन्सार छली प्रकरण’bout छानबिन गर्न एउटा अनुगमन टोली मुस्ताङ पठाइसकेको छ ।
भन्सार विभागका उपसचिव, अर्थ मन्त्रालयका उपसचिवसहित र विभागका दुईजना अधिकृतको टोली मुस्ताङ भन्सार कार्यालय कोरोला पुगेर अध्ययन अनुसन्धान थालिसकेको बताइएको छ ।
बजेटअघि विद्युतीय गाडीको कर बढ्ने सूचनाका आधारमा बीवाईडीका लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंकले ठूलो संख्यामा गाडी कोरालासहित ३ वटा नाकाबाट नेपाल भित्र्याएको थियो । गत १२ र १३ जेठमा ६४९ वटा गाडी भन्सार जाँचपास गरेको कम्पनीले अर्को नाका रसुवागढीबाट समेत ४७२ वटा गाडी भित्र्याएको थियो । सरकारी निकायबाटै सूचना लिक गराएर अर्बौंको भन्सार छली गर्दै कम्पनीले गाडी भित्र्याएको आरोप छ ।
भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले समितिलाई फिल्डमा खटाइसकिएको र समितिको प्रतिवेदनका आधारमा अरू निर्णय हुने जानकारी दिए । सशस्त्र प्रहरीको टोलीले बुधबार रातिदेखि बिहीबार बिहान मुस्ताङ, पर्वत र कास्कीका विभिन्न ठाउँबाट कोरोला नाका हुँदै भित्रिएका ती सवारी साधन नियन्त्रणमा लिएको थियो । ती सवारी साधन राति नै गन्तव्यतर्फ जाने क्रममा बाटोबाटै नियन्त्रणमा लिइएका थिए ।
नियन्त्रणमा लिएका विद्युतीय सवारीसाधन सुरक्षा नियन्त्रणमै छन् । पक्राउ गरिएका गाडीलाई नाकादेखि पोखरासम्मका विभिन्न स्थानमा सशस्त्र प्रहरीको कडा निगरानीमा राखिएको छ । ९६ वटा विद्युतीय गाडी कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २५, सुइखेतमा सशस्त्र प्रहरीको प्रत्यक्ष निगरानीमा राखिएका छन् भने बाँकी गाडी पनि सुरक्षित स्थानमा राखिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता थापाले जानकारी दिए ।
सम्बन्धित समाचार
पब्लिक कम्पनी बनाउने प्रक्रियामा एनसेलको बदमासी
दूरसञ्चार प्राधिकरणमा आफ्ना मान्छे ल्याउन एनसेलको चलखेल
शुक्रबार आगामी आवको बजेट आउँदै
आज १८ खर्ब ९० अर्बहाराहारी बजेट ल्याइँदै
सरकारले ल्यायो २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट (पूर्णपाठसहित)
बजेटवारे दलका प्रतिक्रियाः ‘ऋण लिएर घिउ खाएजस्तो’
अन्तःशुल्क टिकटको गलत प्रयोगः ‘राजश्व कार्यालय’ चुप
छाया सेन्टरको बदमासीमा अनुत्तरित ५ प्रश्न






