गोदावरी नदीको बाढीमा बगेर दुई महिलाको मृत्यु

धनगढी । कैलालीको गोदावरी नगरपालिका–३ स्थित गोदावरी नदीमा आएको आकस्मिक बाढीमा बगेर दुई महिलाको मृत्यु भएको छ ।

शुक्रबार बिहान आएको बाढीले गोदावरी नगरपालिका–४ निवासी ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउँदलाई बगाएको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार धमलाको शव गोदावरी नदीको आर्यघाट नजिक तथा साउँदको शव वनदेवी मन्दिर क्षेत्र नजिक फेला परेको हो ।

प्रहरीका अनुसार शुक्रबार बिहान करिब पौने ७ बजे गोदावरीस्थित शिव मन्दिरका पुजारी शक्रानन्द गिरीले नदीमा एक्कासि आएको बाढीले दुई महिलालाई बगाएको जानकारी दिएका थिए । सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट गोदावरी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

प्रारम्भिक अनुसन्धानअनुसार दुवै महिला शुक्रबार बिहान करिब ६ बजे जंगलमा च्याउ टिप्न घरबाट निस्किएका थिए । सोही क्रममा खोलामा आएको बाढीले उनीहरूलाई बगाएको प्रहरीले जनाएको छ ।

मनसुन सक्रिय रहेकाले खोलानाला तथा नदी किनारमा नजान र राति तथा बिहानको समयमा जंगल नछिरन प्रहरीले सर्वसाधारणमा आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

गोदावरी नदीको बाढीमा बगेर दुई महिलाको मृत्यु