अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’

काठमाडौं । चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शन अघि नै अन्तर्राष्ट्रिय बजारमा आकर्षणको केन्द्र बनेको छ ।

नेपाली चलचित्रको विदेशी बजार विस्तार भइरहेका बेला ‘पेन्सन पट्टा’ ले पनि लगातार अन्तर्राष्ट्रिय माग प्राप्त गर्दै आफ्नो बजार प्रवर्द्धनलाई जोड दिएको छ । उक्त चलचित्रको निर्देशन तथा कथा लेखन माओत्से गुरुङले गरेका हुन् । उनका अनुसार चलचित्रको प्रदर्शन मिति सार्वजनिक हुनु अघि नै बेलायत र हङकङ प्रदर्शन अधिकार बिक्री भइसकेका छन् ।

बेलायतको लागि सपन इन्टरटेन्टमेन्ट लिमिटेड र हङकङमा मेन ड्रागन लिमिटेडले रिलिज अधिकार खरिद गरेको उनले जानकारी दिए । त्यसको निरन्तरता स्वरूप अहिले चलचित्रको अस्ट्रेलिया र न्यूजिल्यान्ड प्रदर्शन अधिकारसमेत बिक्री भएको उनले बताए ।

दि ब्याक ईभेन्ट्सले अस्ट्रेलिया र न्यूजिल्याण्डको लागि प्रदर्शन अधिकार खरिद गरेको हो । यससँगै ‘पेन्सन पट्टा’ ले प्रदर्शनअघि नै विभिन्न अन्तर्राष्ट्रिय बजारमा सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको निर्माण टिमले जनाएको छ । माओत्से गुरुङ फिल्मसकाे ब्यानरमा निर्माण भएको यो चलचित्रले नेपाली समाज, परिवार, सम्बन्ध र मानवीय संवेदनालाई केन्द्रमा राखेको छ ।

यसअघि माओत्से गुरुङले निर्माण गरेका ‘पुरानो डुङगा’ र ‘दयारानी’ ले स्वदेशसँगै विदेशमा पनि राम्रो चर्चा बटुलेका थिए । त्यसैले ‘पेन्सन पट्टा’ प्रति विदेशी वितरक तथा नेपाली डायस्पोराको चासो उल्लेखनीय रूपमा बढेको निर्देशक गुरुङको विश्वास छ ।

चलचित्रको कथा खुदी खोलाको किनारमा रहेको सुकुमवासी बस्तीमा बस्ने आमा–छोरा छलु र राजनको जीवन सङ्घर्षमा केन्द्रित छ । चलचित्रमा दयाहाङ राई, सुनिल थापा, गौमाया गुरुङ, वुद्धि तामाङ, विल्सन विक्रम राई, पुष्कर गुरुङ, सोल गुरुङ, सुरज तमु, राज थापा काउँचा, मनोज गुरुङ, अनुशा राई, लुनिभा तुलाधर लगायतका कलाकारहरूको अभिनय छ ।

तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपा महाधिवेशन : ७ हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै