स्वचालित प्रणाली अनुरुप भाडा समायोजन गर्न माग

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको स्वागत गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले स्वचालित प्रणालीअनुसार सार्वजनिक यातायातको भाडा तत्काल समायोजन गर्न सरकारसँग आग्रह गरेको छ।

महासंघका अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले मंगलबार जारी गरेको विज्ञप्तिमा इन्धनको मूल्यमा हुने उतारचढावसँगै सार्वजनिक सवारी साधनको भाडा पनि पारदर्शी, वैज्ञानिक र वस्तुगत आधारमा समायोजन हुनुपर्ने उल्लेख गरेका छन्।

विज्ञप्तिमा इन्धनको मूल्य बढ्दा भाडा वृद्धि गर्ने निर्णय हुने तर मूल्य घट्दा समयमै भाडा समायोजन नहुने प्रवृत्तिले यात्रु र व्यवसायी दुवै पक्षमा अन्योल सिर्जना गर्ने गरेको जनाइएको छ।

महासंघले सार्वजनिक यातायातको भाडा निर्धारण गर्दा इन्धनको मूल्य मात्र नभई सवारी साधनको सञ्चालन खर्च, मर्मतसम्भार, बीमा, श्रमिकको पारिश्रमिक, स्पेयर पार्ट्सको मूल्य, बैंकिङ लागत तथा समग्र आर्थिक सूचकलाई समेत वैज्ञानिक रूपमा मूल्यांकन गर्नुपर्नेमा जोड दिएको छ।

यातायात क्षेत्रलाई दिगो, व्यवस्थित र विश्वसनीय बनाउन सरकार, नियामक निकाय, व्यवसायी तथा उपभोक्ताबीच आपसी विश्वास कायम हुनुपर्ने महासंघको धारणा छ।

महासंघले स्पष्ट मापदण्डका आधारमा समयानुकूल भाडा समायोजन गर्ने प्रणाली कार्यान्वयन गर्न सम्बन्धित निकायसँग आग्रह गर्दै त्यसले यात्रुको हित, व्यवसायीको दिगोपना तथा समग्र सार्वजनिक यातायात प्रणालीको सन्तुलित विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

तपाइको प्रतिक्रिया
(Visited 51 times, 1 visits today)

epaper

ताजा समाचार

स्याङ्जामा जिप दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु, चालकसहित १० जना घाइते