भोजपुर । भोजपुरको उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकालाई जोड्ने तामुटार पक्की पुल निर्माण सम्पन्न भएपछि स्थानीयलाई सहजता भएको छ ।
कोशी प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय भोजपुरको रु छ करोड ३३ लाख ५२ हजार ५२६ लागतमा यहाँ पक्की पुल निर्माण सम्पन्न भएको हो । पक्की पुल नहुँदा खोला बढ्दा आवतजावत पूर्ण रूपमा ठप्प हुने गरेको थियो ।
विशेषगरी बिरामीलाई उपचारका लागि लैजान, गर्भवती महिलालाई अस्पताल पुर्याउन, विद्यार्थीलाई विद्यालय पठाउन तथा दैनिक उपभोग्य सामग्री ओसारपसार गर्न निकै कठिनाइ हुने गरेको अवस्था थियो ।
पक्की पुल निर्माण भएपछि दुई वटा स्थानीय तहका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको स्थानीयवासी तेजबहादुर घलेले बताए । पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले यहाँ ५० मिटर लम्बाइको पक्की पुल निर्माण सम्पन्न भएको जानकारी दिए ।
विसं २०८२ चैत महिनाबाट पुल निर्माण सम्पन्न भएर सञ्चालमा आएको उनको भनाइ छ । यो पुलले षडानन्द नगरपालिका–१ र साल्पासिलिछो गाउँपालिका–३ लाई जोडेको उनले जानकारी दिए ।
“तामुटार पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ”, प्रमुख रेड्डीले भने, “यो पुल दुई वटा पालिकाका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको छ ।” उनले पुल निर्माणसँगै दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकलाई स्वास्थ्य सेवा, शैक्षिक संस्था, बजार क्षेत्र तथा प्रशासनिक सेवामा पहुँच सहज भएको बताए ।
सम्बन्धित समाचार
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
दिक्तेलको रुपाकोट मझुवागढीमा मूर्तिकला कार्यशाला
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी






