काठमाडौं । यस वर्षको तीज पर्व नजिकिँदै छ । जसका कारण अहिले तीजका गीतहरूको भिडियो छायांकनको क्रम बढेको छ । तर म्युजिक भिडियोका निर्देशक तथा कलाकारहरूले चाहेको ठाउँमा म्युजिक भिडियोको छायांकन गर्न पाएका छैनन् । आफूले चाहेको खुला ठाउँमा समेत म्युजिक भिडियोको छायांकन गर्न नपाएपछि आफूहरूले म्युजिक भिडियो छायांकनको लागि पार्टी प्यालेस रोज्नु परेको धेरैको गुनासो छ ।
‘खुला चौरमा छायांकन गर्दा स्थानीय क्लब र समुहले १०÷१२ हजार रुपैया माग्छन् । त्यसमा केही रकम थप्यो भने पार्टी प्यालेसमै मज्जाले छायांकन गर्न पाईन्छ,’म्युजिक भिडियो निर्देशक एवम् कोरियोग्राफर कृष्ण रसालले राजधानीसँग भने ।
कृष्णले यसै साता काभ्रेको धुलिखेल नजिक एउटा म्युजिक भिडियो छायांकन गर्दा निकै समस्या झेल्नु प¥यो । कृष्णका अनुसार स्थानीय एक क्लबको टोलीले म्युजिक भिडियो छायांकनको लागि सम्बन्धित निकायबाट सिफारिस पत्र माग्यो । तर आफूहरूलाई छायांकनको लागि सिफारिस गर्ने सरकारी निकाय नभएको बताएपछि उनीसँग स्थानीय युवाहरूले महँगो पैसा माग गरे । अन्त्यमा आफूले केही रकम दिएपछि सो खुला चौरमा छायांकन गर्ने अनुमति पाएको कृष्णले बताए । म्युजिक भिडियो निर्देशक कृष्णका अनुसार केही समय यताबाट म्युजिक भिडियो छायांकनको लागि जहाँ पनि शुल्क माग्ने क्रम बढेको छ । स्थानीय क्लब, वडा वासी देखि टोलका युवाहरूले समेत छायांकनको लागि अनुमति तथा सिफारिस पत्र माग्ने र पत्र नपाएपछि मनपरी पैसा असुल्ने गरेको उनले बताए ।
कृष्ण रसाल जस्तै अर्का म्युजिक भिडियो निर्देशक उमेश गुरुङको पनि यही गुनासो छ । काठमाडौँ उपत्यका भित्र म्युजिक भिडियो छायांकन गर्न गाह्रो भएपछि उपत्यका बाहिर जाँदा समेत यही समस्या भोग्नु परेको उनी बताउँछन् । उमेशको भनाइमा कतिपय ठाउँमा सुरक्षाको कारण देखाउँदै प्रहरीले अनुमति पत्र माग्ने गर्दछ । प्रहरीलाई यो विषयमा सम्झाए पनि स्थानीय क्लब सञ्चालकहरूले आफ्नो क्षेत्रमा छायांकन गर्न नदिने बताउँदै जबरजस्ती पैसा असुल्ने गरेको उनले सुनाए । यस ’boutमा उमेशले भने,‘विभिन्न कार्यालय, पार्क तथा सडकमा समेत छायांकन गर्छु भन्दा पहिला छायांकनको लागि आधिकारिक निकायको सिफारिस पत्र नै माग्छन् । चलचित्रलाई पो विकाश बोर्डले यस्तो पत्र दिन्छन्, हामी म्युजिक भिडियो निर्देशकलाई छायांकनको सिफारिस पत्र कसले दिने ?’

लामो समयदेखि म्युजिक भिडियो निर्देशन गर्दै आएका सुब्रत राज आचार्य पनि यो समस्याबाट आजित छन् । यस अघि म्युजिक भिडियो निर्देशक समाजका महासचिव रहेका सुब्रतले म्युजिक भिडियो छायांकनको लागि चलचित्र विकास बोर्ड देखि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसम्मका पदाधिकारीहरूलाई भेटेर सहजीकरण गरिदिन अनुरोध गरेका थिए । तर कुनै पनि निकायबाट यो समस्या समाधानको लागि पहल नभएको उनको कथन छ ।
काठमाडौँ उपत्यकाका हनुमान ढोका दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपति क्षेत्रसहित धेरै ठाउँमा म्युजिक भिडियो छायांकन वर्जित छ । तर यी ठाउँमा चलचित्रको दृश्य तथा चलचित्र गीतको छायांकन गर्न चलचित्रकर्मीहरूले भने अनुमति पाउँछन् ।
यी पुरातात्त्विक क्षेत्र मात्र हैन, राष्ट्रिय निकुञ्ज क्षेत्र, निकुञ्ज भावर क्षेत्र (बफर जोन)सहित धेरै स्थानीय निकायमा समेत म्युजिक भिडियोको छायांकन गर्न बन्देज गरिएको म्युजिक भिडियो निर्देशक समाजका महासचिव दयाराम घिमिरेको गुनासो छ ।
पुरातात्त्विक क्षेत्रदेखि राष्ट्रिय निकुञ्ज क्षेत्र, निकुञ्ज भावर क्षेत्र (बफर जोन)मा छायांकनको लागि चलचित्र विकास बोर्डको पत्र चाहिन्छ । तर चलचित्र विकास बोर्डले अहिलेसम्म म्युजिक भिडियो छायांकनको लागि पत्र दिएको छैन । यता चलचित्र विकास बोर्डमा दर्ता भएका चलचित्रलाई मात्र छायांकनको लागि अनुमति दिने गरेको बोर्ड अध्यक्ष दिनेश डिसीको कथन छ ।
अहिलेको ऐनले म्युजिक भिडियोलाई नसमेटेका कारण पनि बोर्डले म्युजिक भिडियो छायांकनको लागि सिफारिस पत्र नदिएको हो । म्युजिक भिडियो निर्देशक समाजका महासचिव दयारामका अनुसार म्युजिक भिडियोलाई पनि चलचित्र विकास बोर्डमा समेट्नको लागि समाजले दुई पटक बैठक बसेर पहल गर्दा पनि सफल भएन ।
म्युजिक भिडियोले सम्बन्धित क्षेत्रको प्रचार प्रसारमा मद्दत पु¥याउने गरेको छ । म्युजिक भिडियो छायांकन गरेपछि कतिपय क्षेत्रको सम्बन्धित म्युजिक भिडियोका कारण व्यापार प्रचार भएको छ । त्यो क्षेत्रको पर्यटन प्रवर्धनमा समेत सहयोग पुग्ने गरेको छ । तर यो कुरालाई राज्यले राम्ररी नबुझेको म्युजिक भिडियो निर्देशक समाजको गुनासो छ । यसै विषयमा समाजका महासचिव घिमिरेले राजधानीसँग भने,‘चलचित्र विकास बोर्डबाट हाम्रो समस्याको सुनुवाइ नभएपछि अब सञ्चार मन्त्रीलाई भेटेर चाँडै नै आफ्नो समस्याहरू लिखित रूपमा राख्ने छौँ । नेपालमा गीत संगीतको पनि ठुलो बजार भएका कारण हाम्रो समस्यालाई राज्यले सुनेर त्यसलाई सम्बोधन गर्ने विश्वास म्युजिक भिडियो निर्देशक समाजको छ ।’
सम्बन्धित समाचार
चलचित्र नै नखिची यो कस्तो रिलिज प्रतिस्पर्धा
अधिकारीको ‘डोपामिन’मा मानवीय संवेदना
६ महिनादेखि अड्कियो मुख्यमन्त्री थलापति विजयको अन्तिम चलचित्र
‘यो कथा होइन’ मा १०० वर्ष अघिको कथा
दयाहाङ र मिरुनाले सुरु गरे ‘रातो घेरा–द रेड सर्कल’
यम बराल गम्भीर बिरामी, उपचार गर्न दिल्ली लगिने
‘तिरिमिरी झ्याइँ’ सुरु, धिरेन शाक्यसँगै दले दाइ पनि नायक
बाल प्रतिभाको लागि ‘म पनि एक्टर’ प्रतियोगिता






