काठमाडौं । विगत दुई महिना देखि रिक्त रहेको नेपाल प्रज्ञा–प्रतिष्ठानले अब पदाधिकारी पाउने भएको छ । केही समय अघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलको संयोजकत्वमा गठित नेपाल प्रज्ञा प्रतिष्ठान पदाधिकारी छनोट समितिले कुलपति सहित पदाधिकारीको सिफारिस गरेको छ । समितिले कुलपतिमा साहित्यकार कुमार नगरकोटीको नाम सिफारिस गरेको छ । मन्त्री पौडेलको संयोजकत्वमा गठित सदस्यद्धय नारायण ढकाल र अर्चना थापाको समितिले उनको नाम सिफारिस गरेको हो ।
यस्तै यही प्रतिष्ठानमा उपकुलपतिको लागि अभिनाश श्रेष्ठको नाम सिफारिस गरिएको छ भने सदस्य सचिवमा साहित्यकार रामलाल जोशीको नाम सिफारिस गरिएको छ ।
त्यस्तै नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्यका लागि दीपक सापकोटा, तीर्थ गुरुङ, राजन मुकारुङ, नवीन अभिलाषी, प्रतिसरा सायमी, प्रगति राई र कृष्ण सर्वहारीको नाम पनि सिफारिस गरिएको छ ।
समितिले संस्कृति मन्त्री पौडेल मार्फत नेपाल प्रज्ञा प्रतिष्ठानको नयाँ पदाधिकारीको लागि यी नामहरू सिफारिस गरेर सरकारलाई पठाएको छ । यी नामहरूलाई अब बस्ने मन्त्री परिषद्को बैठकले अनुमोदन गर्ने बताइएको छ ।
यसैबिच नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञ पदाधिकारी चयनको लागि विभिन्न नामहरू संकलन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ परिषद्को नियुक्तपछि यी दुई प्रतिष्ठानको लागि सम्बन्धित पदको सिफारिस संस्कृति मन्त्री पौडेललाई बुझाइने छ ।






