काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले हरेक नागरिकले आफ्नो पेशा र व्यवसायमा गर्व गर्न सक्ने वातावरण निर्माण हुनु नै वास्तविक लोकतन्त्र भएको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र र प्रहरी आवास भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
महानिरीक्षक कार्कीले लोकतन्त्र केवल शब्दको उच्चारणमा मात्र सीमित नभई व्यवहारमा चरितार्थ हुनुपर्नेमा जोड दिए । लोकतन्त्र भनेको पटक–पटक सोही शब्द दोहोर्याउनु मात्र नभएको बरु नागरिकहरूले आफ्ना कर्म र पेशामा गौरव महसुस गर्न पाएको उनको भनाइ छ । पसले, इलेक्ट्रिसियन, भान्से, लुगा सिलाउने व्यक्ति, प्रहरी वा मजदुर–सबैले आ–आफ्नो काममा आत्मसम्मान पाउनुपर्ने र समाजले उनीहरूको योगदानको कदर गर्नुपर्ने बताए।
पेशा वा व्यवसायको आधारमा कोही सानो वा ठूलो नहुने उल्लेख गर्दै उनले लोकतन्त्रमा सबै प्रकारका कर्मलाई धर्म ठानेर सम्मान गरिनुपर्ने बताए । समाजमा व्याप्त विभेदकारी प्रवृत्तिको आलोचना गरे। मानिसको ओहदा हेरेर फरक–फरक व्यवहार गर्ने, कसैलाई सम्मान दिने र कसैलाई तिरस्कार गर्ने प्रवृत्ति कतै पनि स्वीकार्य हुन नसक्ने जिकिर गरे ।
उनले भने, ‘लोकतन्त्र हुनुको अर्थ लोकतन्त्र हो, लोकतन्त्र हो भनेर सय पटक लोकतन्त्र भनेकै कारण लोकतन्त्र भएको हुँदैन । लोकतन्त्र भएको अवस्था त त्यो हो, जहाँ नागरिकहरू आफ्ना कर्म, पेशा र व्यवसायमा गर्व गर्न सकुन् । हरेक छोराछोरीले आफ्नो कर्ममा गर्व गर्नुपर्छ । पसलेले पसल गरेकोमा गर्व गर्न पाउनुपर्छ । इलेक्ट्रिसियनले इलेक्ट्रिसियन भएकोमा गर्व गर्नुपर्छ । भान्सेले आफूले पकाएको खानाले मानिसको जीवन धानेको, जोगाएको र खुशी दिएकोमा गर्व गर्नुपर्छ । लुगा सिलाउनेले लुगा सिलाउने हुँ भनेर गर्व गर्नुपर्छ । प्रहरीले प्रहरी हुँ भनेर गर्व गर्नुपर्छ । मजदुरले मजदुर हुँ भनेर गर्व गर्नुपर्छ । जहाँ कुनैपनि पेशा वा व्यवसायका आधारमा कोही सानो वा ठूलो मानिँदैन, त्यहीँ लोकतन्त्र हुन्छ । लोकतन्त्रमा सबै कर्मलाई धर्म ठानी, कर्मलाई पूजा गर्ने सबै व्यक्तिलाई सम्मान गरिन्छ । हामीले विभिन्न ठाउँमा देख्ने–कसैलाई छुट्टै ठाउँमा बसाल्ने, कसैलाई भुईँमा बसाल्ने, कसैलाई कुर्सीमा बसाल्ने, कसैलाई सोफामा बसाल्ने, कसैलाई पानी खुवाउने, कसैलाई पानीसमेत नखुवाउने वा लखेट्ने–यस्ता प्रवृत्ति न घरमा ग्राह्य छन्, न समाजमा, न प्रहरी कार्यालयमा, न कुनै सरकारी कार्यालयमा ।’
महानिरीक्षक कार्कीले प्रहरी कार्यालयहरूमा सेवा लिन आउने नागरिकलाई समान व्यवहार गरिनुपर्ने र कुनैपनि आधारमा विभेद हुन नहुने कुरामा जोड दिए। उनले नवनिर्मित भवनहरूले सेवाग्राहीको सहजता र प्रहरी कर्मचारीहरूको कार्यसम्पादनमा थप ऊर्जा प्रदान गर्ने विश्वास समेत व्यक्त गरे ।
सम्बन्धित समाचार
आतंक बन्द गर्न कमन जेन–जी नेपालको सरकारलाई अल्टिमेटम
रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन
एनएमसीमा बीएस्सी नर्सिङको १४ औँ ब्याच बिदाइ
रौतहटमा एक युवाद्वारा पेट्रोल छर्केर आत्मदाह प्रयास
प्रेमिकासँग विवाह गराइदिन माग गर्दै टेलिकम टावर चढेका युवकको सकुशल उद्धार
पत्रकार कृष्ण थपलिया लालबन्दी नगर वाङ्मय परिषदद्वारा पुरस्कृत
सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
गुट–उपगुट होइन एकजुटको आवश्यकता: काँग्रेस नेता






