काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गरी सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी र रोकथाममा कडाइका साथ लाग्न निर्देशन दिएका छन् ।
आइतबार ती जिल्लामा रहेका सशस्त्र प्रहरी बल नेपालका बाहिनी, गण, गुल्म र बोर्डर आउट पोस्ट तथा सुरक्षा पोस्टमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरूलाई सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सो निर्देशन दिएका हुन् ।
उनले सीमा अपराध नियन्त्रण तथा राजश्व चुहावट नियन्त्रण कार्यमा प्रभावकारी रूपमा परिचालित भई नतिजामुखी काम गर्न निर्देशन दिँदै सीमा इलाकामा हुने अवैध क्रियाकलाप रोकथाम र नियन्त्रणका लागि समयमा नै योजना बनाई तैनाथ हुनुपर्नेमा जोड दिए । कार्यक्षेत्रमा परिचालित हुने सशस्त्र प्रहरी कर्मचारीहरूले सकारात्मक सोच र फरक कार्यशैली अपनाई पूर्ण जिम्मेवारी र बफादारिताका साथ काम गर्न निर्देशन दिँदै महानिरीक्षक पौडेलले असल मनसायका साथ गरिएको कामकारबाहीमा भएको कमीकमजोरीको जिम्मा संगठनले लिने बताए ।
उनले परम्परागत सोच र मानसिकता भन्दा माथि उठेर नतिजा दिने किसिमले काम गर्नुपर्ने बताउँदै सीमामा बसोबास गर्ने स्थानीय वासिन्दाहरुसँग सुमधुर सम्बन्ध राख्दै सीमा वारपार गर्ने आम नागरिकको सहजताका लागि समेत काम गर्नुपर्ने बताए । सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सीमा क्षेत्रमा सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमसमेत प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने बताउँदै विशेष गरी सिमानाकामा हुने अवैध चोरी निकासी तथा लागूऔषध ओसारपसार नियन्त्रण र राजश्व चुहावटलगायतका कार्यलाई उच्च प्राथमिकतामा राखी कार्य गर्नुका साथै सीमामा हुने अवाञ्छित क्रियाकलापहरू तथा सम्भावित घटना दुर्घटनालाई समेत मध्यनजर गर्दै परिचालित हुनुपर्नेमा जोड दिए ।
सीमामा हुने अवैध क्रियाकलाप नियन्त्रणमा निर्मम ढंगले लाग्न र कुनै पनि आर्थिक प्रलोभनमा नपर्न उनले सीमा क्षेत्रमा कार्यरत सबै दर्जाका कर्मचारीलाई निर्देशन दिए । उनले वर्षातको समयलाई मध्यनजर गर्दै बाढी, पहिरो र डुवान जस्ता विपद्जन्य घटनामा तत्काल परिचालन हुनसक्ने गरी विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिहरूलाई आवश्यक उद्धारका सामाग्रीसहित तयारी हालतमा रहनसमेत निर्देशन दिए ।
सम्बन्धित समाचार
श्रृङ्गेश्वर धाममा एक महिना पुष्करिणी स्नान महोत्सव हुँदै
१ वर्षमा १६६ कानुन निर्माण र संशोधन गर्ने महत्वाकांक्षी लक्ष्य
खान अयोग्य मिठाई विक्री गर्ने वीरगन्जका ३ पसल दण्डित
सुपर ओभरमा युएईसँग नेपाल पराजित, यु-१९ एसिया कपमा स्थान सुरक्षित
मकवानपुर प्रशासनद्वारा ‘ट्राभल एडभाइजरी’ जारी
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
महिला सेवाग्राहीलाई दुर्व्यवहार गर्ने पठाओ चालक पक्राउ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन






