सामुदायिक संवेदनशीलता व्यवस्थापनमा सुरक्षा निकायको गम्भीर लापरवाही

गोली प्रहारबाट एक जनाको मृत्यु, देवानगञ्जमा कफ्र्यु, सेना परिचालन

इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको साम्प्रदायिक झडप र त्यसक्रममा सशस्त्र प्रहरीले चलाएको गोलीबाट एक युवाको मृत्यु भएपछि सोमबार दिनभर घटनाक्रम राजनीतिक, प्रशासनिक र सुरक्षा तहमा केन्द्रित रह्यो ।

सरकारले एकैदिन प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र कोशी प्रदेश प्रहरी नेतृत्व परिवर्तन गर्दै घटनाको उच्चस्तरीय छानबिन सुरु गरेको छ ।

घटनापछि गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई गृह मन्त्रालय फिर्ता बोलाएको छ । उनको स्थानमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई पठाइएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय फिर्ता बोलाइएको छ । उनको स्थानमा प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेशको जिम्मेवारी दिइएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सरुवा गरिएको छ भने त्यहाँ कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरीको जिम्मेवारी दिइएको छ । सशस्त्र प्रहरी बल नेपाल, कप्तानगञ्जमा कार्यरत डीएसपी नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ । उनको स्थानमा प्रधान कार्यालय काठमाडौंमा कार्यरत डीएसपी मदननाथलाई खटाइएको छ । यसअघि गृह मन्त्रालयले घटनाको छानबिन गर्न सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिसकेको छ । समितिले समग्र घटनाक्रम’bout अनुसन्धान गर्नेछ ।

विवाद कसरी सुरु भयो ?

स्थानीयका अनुसार केही दिनअघि मुस्लिम समुदायलाई मोहर्रमका अवसरमा मेला सञ्चालन गर्न वडा अध्यक्ष अनिल भगतले मौखिक स्वीकृति दिएका थिए । १२ असारदेखि सञ्चालन भएको मेला सम्पन्न भएपछि पनि त्यहाँ राखिएका झण्डा हटाइएको थिएन ।

हिन्दु समुदायका स्थानीयले मेला सकिएलगत्तै गाउँपालिका अध्यक्ष र वडा अध्यक्षसमक्ष झण्डा हटाइदिन पटक–पटक आग्रह गरेका थिए । तर, सम्बन्धित पक्षलाई जानकारी गराउँदा पनि झण्डा नहटाइएको स्थानीयको दाबी छ ।

यही विषयमा गाउँमा असन्तुष्टि बढिरहेका बेला हिन्दु समुदायका युवाले साउने सोमबारको अवसर पारेर आइतबार साँझदेखि धार्मिक कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रमअन्तर्गत आइतबार डिजे बजाउँदै बोलबम यात्राको तयारी भइरहेको थियो ।

स्थानीयका अनुसार डिजेसहितको टोली दक्षिणबाट उत्तर नयाँहाटतर्फ जाँदै गर्दा केही मुस्लिम युवाले ठूलो आवाज बन्द गर्न आग्रह गरेका थिए । त्यसक्रममा भनाभन सुरु भई डिजे बोकेको गाडीमा तोडफोड तथा सिसा फुटाइएपछि विवाद झडपमा परिणत भएको थियो ।

घटनाको प्रारम्भिक पृष्ठभूमिमा धार्मिक मेलापछि पनि झण्डा नहटाइएको विषयले समुदायबीच असन्तुष्टि बढाएको र त्यसमाथि डिजे बजाउने विषयले तत्कालीन तनावलाई विस्फोट गराएको स्थानीयको दाबी छ । स्थिति नियन्त्रणका लागि पुगेको नेपाल प्रहरीको प्रारम्भिक टोलीले अवस्था सम्हाल्न नसकेपछि सशस्त्र प्रहरी परिचालन गरिएको थियो । त्यसक्रममा अश्रुग्यास, हवाई फायर र अन्ततः गोली चलाइएको थियो ।

एक जनाको मृत्यु, दर्जन बढी घाइते

घटनामा गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भयो । घटनामा गोली लागेर ९ जना सर्वसाधारण घाइते भएका छन् भने सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचाररत भइरहेको छ । उनीहरूमध्ये केहीको पेट, तिघ्रा, हात र शरीरका अन्य भागमा गोली लागेको जनाइएको छ ।
प्रहरीका अनुसार झडपमा सर्वसाधारणसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी पनि घाइते भएका छन् ।

कर्फ्युुबीच प्रदर्शन

घटनापछि प्रशासनले देवानगञ्ज, घुस्की, भुटाहा र आसपासका क्षेत्रमा अनिश्चितकालीन कर्फ्युुबीच जारी ग¥यो । तर सोमबार बिहानदेखि नै सयौँ प्रदर्शनकारी सडकमा उत्रिएर टायर बाल्ने, पसलमा तोडफोड तथा केही स्थानमा आगजनी गरेपछि सुरक्षा चुनौती झन् बढ्यो । त्यसपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बाक्लो संख्यामा परिचालन गरिएको थियो ।

देवानगञ्ज गाउँपालिका–२ मा प्रदर्शनकारीले घर, हार्डवेयर पसल र ट्याक्टरमा आगजनीसमेत गरेका छन् । त्यस्तै, अन्य दुई घर र तीनवटा मोटरसाइकलमा आगजनी भएको छ । यस्तै, देवानगञ्ज–३ मा परालको टालीमा आगजनी भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा १० सेल अश्रुग्यास प्रहार गरी भीड नियन्त्रणमा लिएको थियो ।
उता इनरुवा–४ मा बजार बन्द गराउँदै हिँडेको समूहले बजाज शोरुममा तोडफोड गरेको थियो भने अदालत रोडमा एक म्याजिक गाडीको अगाडिको सिसासमेत फुटाइएको प्रहरीले जनाएको छ ।

सर्वपक्षीय बैठक आह्वान

घटनापछि जिल्ला प्रशासन कार्यालय इनरुवामा बसेको सर्वपक्षीय बैठकले निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने, अफवाह फैलिन नदिन सबै पक्ष संयमित हुनुपर्ने तथा सामाजिक सद्भाव कायम राख्न संयुक्त पहल गर्ने निर्णय गरेको छ ।

बैठकले गृह मन्त्रालयले गठन गरेको छानबिन समितिलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ । देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताले घटनाको निष्पक्ष छानबिन गरी गोली कसले र किन चलायो भन्ने विषय स्पष्ट हुनुपर्ने बताएका छन् । उनका अनुसार घटनास्थलमा दुई समुदायबीच यसअघि यस्तो हिंसात्मक अवस्था कहिल्यै देखिएको थिएन । उनले भने, ‘यस क्षेत्रमा फरक समुदाय भए पनि अहिलेसम्म यहाँ यस्तो घटना भएको थाहा छैन । समुदाय मिलेरै बसेका थिए । तर, हिजो राति एक्कासि यस्तो भयो ।’ घटनाको वास्तविक अनुसन्धान हुनुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने स्थानीयको माग रहेको उनको भनाइ छ ।

सुनसरीका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरे भन्छन्, ‘घटनापछि शान्ति सुरक्षा अमनचयन गर्न सबै राजनीतिक दल र समुदायले आफ्नो–आफ्नो भूमिका निर्वाह गर्ने भन्ने निर्णय भएको छ । निषेधाज्ञा र कफ्र्यू आदेश भएपनि केही स्थानमा सोमबारसमेत भौतिक क्षति भएको छ ।’
सेना परिचालन

झडपले उग्र रुप लिएपछि अवस्था नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै नेपाली सेनासमेत परिचालन गरिएको छ । कफ्र्यू जारी रहे पनि प्रदर्शन, आगजनी र तोडफोड भएपछि सुरक्षा व्यवस्था थप कडा पारिएको प्रशासनले जनाएको छ । घटनास्थलमा बख्तरबन्द गाडी र हतियारसहित सेनाले घरबाहिर ननिस्कन माइकिङ गरेको थियो ।

मानवअधिकार आयोगको बेग्लै अनुसन्धान

घटना’bout राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ । आयोगको टोलीले घटनास्थल, अस्पताल र सुरक्षा निकायसँग जानकारी संकलन गरिरहेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही, मृतक परिवारलाई राहत, घाइतेको निःशुल्क उपचार तथा संवादमार्फत सामाजिक सद्भाव कायम गर्न आग्रह गरेको छ ।

सामान्य विवादबाट सुरु भएको घटनाले हिंसात्मक रूप लिएपछि स्थानीय प्रशासनको पूर्वतयारी र धार्मिक संवेदनशील विषयको व्यवस्थापन’bout पनि प्रश्न उठेको छ । घटना’bout निष्पक्ष छानबिनसँगै दुवै समुदायबीच विश्वास पुनःस्थापना गर्नु राज्यको मुख्य जिम्मेवारी बनेको जानकारहरूको तर्क छ । सुनसरीका नागरिक अगुवा गोपाल कोइरालाले जात, क्षेत्र, धर्म र राजनीतिक आस्थाका आधारमा समाज क्रमशः खण्डित हुँदै गएकोप्रति चिन्तित हुनुपर्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)

epaper

ताजा समाचार

लैङ्गिक हिंसासम्बन्धी उजुरीमा अन्तरमन्त्रालय समन्वय