काठमाडौं । पछिल्लो गणनाअनुसार नेपालमा बाघको संख्या ४२९ पुगेको छ । विश्व बाघ दिवसका अवसरमा आज बुधबार कृषि, वन तथा पर्यावरण मन्त्रालयले यो जानकारी दिएको हो ।
२०८२ को गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १४५, बर्दिया राष्ट्रिय निकुञ्ज ११२, पर्सा राष्ट्रिय निकुञ्जमा ७१, बाँके राष्ट्रिय निकुञ्जमा ५१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ५० बाघ छन् ।
पछिल्ला दिनमा संरक्षण क्षेत्र र बासस्थानमा भएको सुधार, सिकार प्रजातिको वृद्धिलगायतका आधारमा बाघको संख्या थपिएको बताइएको छ ।
नेपालमा प्रायः चार वर्षमा बाघ गणना गरिन्छ । सन् २०२२ को बाघ गणनाअनुसार नेपालमा बाघको संख्या ३५५ थियो ।
सन् २०२२ को गणनाअनुसार सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२८, त्यसपछि बर्दिया राष्ट्रिय निकुञ्जमा १२५, पर्सा राष्ट्रिय निकुञ्जमा ४१, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ र बाँके राष्ट्रिय निकुञ्जमा २५ बाघ थिए । मन्त्रालयले २००९ देखि हरेक चार वर्षमा बाघ गणना गर्दै आएको छ । नेपालमा बाघको संख्या सन् २०१० मा १२१, सन् २०१४ मा १९८ र २०१८ मा २३५ रहेको थियो ।
प्रत्येक वर्ष जुलाई महिनाको २९ मा बाघ दिवस मनाइन्छ । सन् २०१० मा रूसको सेन्ट पिटर्सबर्गमा भएको बाघ शिखर सम्मेलनको घोषणासँगै यो दिवस मनाउन थालिएको हो । तत्कालीन समयमा बाघको संख्या तीव्र रूपमा घट्दै गएको अवस्थालाई रोक्न र तिनको प्राकृतिक बासस्थानको संरक्षण गर्ने उद्देश्यले दिवस मनाउन लागिएको हो ।
बाघ स्वस्थ पारिस्थिकीय प्रणालीको सूचक र प्राकृतिक खाद्य शृंखलाको उच्च तहमा रहेको महत्वपूर्ण प्रजाति हो ।
सम्बन्धित समाचार
अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा
नयाँ राजनीतिक अध्यायका नायक ?
खोटाङको जेलमा खाना खाएर सुतेका कैदीको मृत्यु
सवारीचालक अनुमतिपत्रको राजस्व अब अनलाइनबाटै तिर्न सकिने
ऐतिहासिक गहना फिर्ता गराउन कूटनीतिक पहल
कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन
नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो
जलविरेमा दुईवटा बस र एउटा ट्रक ठोक्किदा सडकमा आवागमन बन्द






