बझाङ । सुदूरपश्चिमको बझाङस्थित थलारा गाउँपालिकाले सामुदायिक विद्यालयको शिक्षालाई डिजिटल युगसँग जोड्दै प्रविधिमैत्री शिक्षातर्फ महत्वपूर्ण कदम चालेको छ । पालिकाअन्तर्गतका सबै सामुदायिक विद्यालयमा ल्यापटप, प्रिन्टर र स्मार्ट बोर्ड उपलब्ध गराएपछि तिनको प्रभावकारी प्रयोग सुनिश्चित गर्न शिक्षकहरूका लागि ‘प्रविधि हस्तान्तरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम–२०८३’ सम्पन्न गरिएको हो ।
शिक्षण–सिकाइ प्रक्रियालाई आधुनिक, प्रभावकारी, सिर्जनात्मक र विद्यार्थीमैत्री बनाउने उद्देश्यले आयोजित कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को प्रयोग, डिजिटल शिक्षण सामग्री निर्माण, अनलाइन सिकाइ प्रणाली, कृत्रिम बुद्धिमत्ता (एआई) को शैक्षिक उपयोग, स्मार्ट बोर्ड सञ्चालन तथा कक्षाकोठामा प्रविधिको एकीकृत प्रयोग’bout व्यवहारिक सहजीकरण गरिएको थियो ।
थलारा गाउँपालिका शिक्षा शाखाका अनुसार आर्थिक वर्ष २०८२÷०८३ मा पालिकाभित्रका सबै सामुदायिक विद्यालयमा आवश्यक डिजिटल उपकरण उपलब्ध गराइसकिएको छ । ती उपकरणको अधिकतम उपयोग गर्दै विद्यालयको सिकाई वातावरणलाई प्रविधिमैत्री बनाउने लक्ष्यअनुरूप शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रमको समापन गर्दै गाउँपालिका अध्यक्ष प्रकाशबहादुर रोकायाले शिक्षा क्षेत्रमा गरिएको यो लगानीले थलाराको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले प्रविधि विद्यालयमा पुगेको मात्र पर्याप्त नहुने उल्लेख गर्दै त्यसको प्रभावकारी प्रयोगबाट विद्यार्थीको सिकाई उपलब्धि बढाउन शिक्षकहरूले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने बताए ।
‘अब हाम्रा विद्यालयहरू परम्परागत शिक्षण प्रणालीमा सीमित रहने छैनन् । स्मार्ट बोर्ड, ल्यापटप र डिजिटल प्रविधिको प्रयोगमार्फत गुणस्तरीय र प्रभावकारी शिक्षणलाई प्राथमिकता दिनुपर्छ,’ अध्यक्ष रोकायाले भने । उनले प्रविधि प्रयोगका क्रममा देखिने समस्या समयमै गाउँपालिकालाई जानकारी गराउन आग्रह गर्दै आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता पनि व्यक्त गरे ।
शिक्षा संयोजक हर्कबहादुर रोकायाको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद जोशी, प्रशासन अधिकृत केशवराज जोशी, सूचना अधिकृत प्रकाश भण्डारी, लेखा अधिकृत दीपकराज पाण्डेयलगायत पालिकाअन्तर्गतका विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको सहभागिता रहेको थियो ।

सहभागी शिक्षकहरूले आधुनिक शिक्षण प्रणालीसँग आफूहरूलाई अभ्यस्त बनाउन यस्ता कार्यक्रम अत्यन्त प्रभावकारी भएको प्रतिक्रिया दिएका छन् । उनीहरूले विद्यालयमा प्रविधिमैत्री सिकाई वातावरण निर्माण गर्दै विद्यार्थीको सिकाई उपलब्धि अभिवृद्धिमा यस्ता तालिमले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
थलारा गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, शिक्षकको व्यावसायिक क्षमता विकास तथा विद्यार्थीलाई गुणस्तरीय, आधुनिक र प्रविधिमैत्री शिक्षा उपलब्ध गराउने दीर्घकालीन लक्ष्यसहित यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ । शिक्षा क्षेत्रमा प्रविधिको विस्तारसँगै थलारा गाउँपालिका डिजिटल शिक्षाको नमुना स्थानीय तह बन्ने दिशामा अघि बढेको संकेत यस कार्यक्रमले दिएको छ ।
सम्बन्धित समाचार
सरकार र चिकित्सकबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित
किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?
स्मार्ट टेलिकममा ‘स्मार्ट छलछाम’ : स्मार्ट सेल लिलाम प्रक्रियामा एनसेलका कर्मचारीले नै उठाए प्रश्न
मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह
चरित्रहत्या गरेर मलाई प्रश्न सोध्नबाट रोक्न सकिँदैन: ज्ञानेन्द्र शाही
डडेल्धुरा अस्पतालमा अनियमितताको आरोप
धनगढी उपमहानगरद्वारा दशरथ चन्द विश्वविद्यालय परिसर सरसफाइ
स्ट्रेट अफ होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत : प्रतिवेदन






